विश्व मुटु दिवस

के हो प्राइमरी तथा सेकेन्डरी रक्तचाप ?



Download our app to get more features

 

धेरै जसो बिरामीहरुको जिज्ञासा हुन्छ, मेरो रक्तचाप के कारणले बढेको रहेछ तर चिकित्सकहरुलाई पनि यो प्रश्नको उत्तर दिन सजिलो छैन । प्रायः व्यक्तिहरुको उच्च रक्तचापको कारण नै पत्ता लाग्दैन । यो पंक्ति पढ्दा पाठक वर्गहरुलाई पनि अचम्म लाग्ला तर यो शाश्वत सत्य हो ।

करिब पन्चानब्बे प्रतिशत रक्तचापको बिरामीहरुमा कारण थाहा पाउन सकिदैन । यसलाई प्राइमरी रक्तचाप भनिन्छ । बाँकी पाँच प्रतिशतको के कारणले बढेको हो भनेर थाहा हुन्छ । यसलाई सेकेन्डरी रक्तचाप भनिन्छ ।

सुरुको अवस्थामा जब कुनै व्यक्तिको रक्तचाप बढी हुन्छ त्यति बेला नै सम्बन्धित परीक्षण गर्नुपर्छ । यस्ता परीक्षणहरुले रक्तचाप बढ्नुको कारणहरु पत्ता लगाउन सकिन्छ । यदि त्यस्तो कारण पत्ता लगाउन सकिएन भने त्यो प्राइमरी उच्च रक्तचाप हो । प्रायः वयस्क व्यक्तिहरुमा यही अवस्था हुन्छ । त्यस्तै कम उमेरमा रक्तचाप बढेको छ भने कारण पत्ता लाग्ने सम्भावना बढी हुन्छ । धेरै परीक्षणहरु गर्नुपर्ने पनि हुन सक्छ ।

प्राइमरी रक्तचापको बारेमा व्यापक अनुसन्धानहरु भएका छन् । कुनै प्रस्ट कारण नभएपनि रक्तचाप बढाउन विभिन्न आनुवांशिक तथा वातावरणीय पक्षहरु सम्बन्धित हुन सक्ने ठानिएको छ । प्रायः २४ देखि ५० वर्षसम्मको उमेरमा यस्तो रक्तचाप सुरु हुन्छ । यस्ता व्यक्तिहरुमा शरीरको स्नायुप्रणाली बढी सक्रिय हुने तथा एड्रेनलिन लगायतका हर्मोनहरुको उत्पादन बढी हुने गर्दछ । त्यस्तै मिर्गौला मार्फत रेनिन तथा एल्डोस्टेरोन (Renin and Aldosterone) जस्ता हार्मोनहरुको मात्रा पनि बढी हुन्छ । यस्ता हार्मोनहरुले शरीरमा सोडिएमको मात्रा बढाउने, रगतको आयतन बढाउने, रक्तनलीहरु अलि साँघुरिने बनाउने आदि असरहरु गर्दछन् । 

रगतको आयतन बढ्ने तर खुम्चिएको अलि साँघुरो रक्तनलीमा अटाउनुपर्दा रक्तनलीको भित्तामा बढी दबाब पैदा हुन्छ । यसै प्रक्रियाले रक्तचाप बढी हुन्छ । जन्मिदैदेखि स्नायुप्रणाली तथा मिर्गौलासँग सम्बन्धित रसायन एवं हर्मोनहरु बढी उत्पादन हुने जोखिम लिएर जन्मेको हुन्छ उसको रक्तचाप बढी हुन्छ । जसले यस्तो जोखिम लिएर जन्मेको हुँदैन उसको रक्तचाप बढ्दैन ।

त्यस्तै कसैलाई बढी जोखिम छ भन्ने कुरा सुरुमै थाहा नहुन सक्छ । यस्तो सम्भावना लिएर जन्मेका व्यक्तिहरुले नुन बढी खाने, रक्सी तथा चुरोटको बढी सेवन गर्ने, मोटो शरीर भएको तथा शारीरिक व्यायाम कम गर्ने हो भने रक्तचाप झन् छिट्टै बढ्दछ ।

त्यस्तै जम्मा पाँच प्रतिशत बिरामीहरुमा सेकेण्डरी उच्च रक्तचापका विभिन्न कारणहरु हुन्छन् । मुख्य कारणहरु यसप्रकार छन् :

  • मिर्गौलाको समस्या  -Chronic kidney diseases & glomerulonephritis_
  • मिर्गौलाको धमनी साँघुरो हुने  -Renovascular diseases, renal artery stenosis_
  • थाइरोइडको समस्या
  • सुतेको बेला धेरै घुर्ने तथा शरीरमा अक्सिजन कम हुने अवस्था  -Obstructive sleep apnoea_
  • मुुटुबाट निस्किने मुख्य रगतको नली एओर्टा साँघुरो हुनु वा जालो हुनु -Coactation of aorta_  
  • दुखाइ कम गर्ने लगायतका विभिन्न औषधिको कारण
  • केही जन्मजातका अवस्थाहरु

सामान्य व्यक्तिले यस्ता सबै कारणहरुबारे जानकारी राख्नु आवश्यक त हुँदैन । तर, यस्ता कारणहरु भएको खण्डमा सोही कारणका लागि अप्रेशन गरेर वा औषधि खाएर उपचार गरेमा रक्तचापको लागि सँधैभरि औषधि नखाएपनि हुन सक्छ । जस्तै मिर्गौलाको धमनी साँघुरो छ भने स्टेन्ट र कृत्रिम नली राख्न सकिन्छ । एओर्टामा जालो छ भने अप्रेसन गरी खुर्केर ठीक बनाउन सकिन्छ ।

त्यस्तै थाइरोइड हर्मोन बढी वा कम भएमा सम्बन्धित औषधि सेवन गरी ठीक रहन सकिन्छ । प्रायःजसो हर्मोन बढी भएर रत्तचाप बढ्ने अवस्थामा बढी हर्मोन निकाल्ने ट्यूमरको खण्डलाई अप्रेसन गरी निकाल्न सकिन्छ । यस्ता उपचार गरिसकेको व्यक्तिको रक्तचाप आफै नियन्त्रणमा आउँछ र बाँचुञ्जेल रक्तचापकै लागि भनेर औषधि सेवन गरिरहनु नपर्न सक्छ ।

यही भएर कुनै पनि व्यक्तिले रक्तचापका लागि परीक्षण गर्ने क्रममा आफ्नो रक्तचाप प्राइमरी वा सेकेन्डरी कस्तो हो ? कहिलेसम्म औषधि सेवन गर्नुपर्ने हो ? साथै अन्य केही कारणहरु होला कि नहोला आदि जिज्ञासाहरु राखेर उपचार पद्धतिमा जानुपर्दछ ।

(डा. कमल शर्मा लम्सालद्वारा लिखित  पुस्तकः रक्तचाप समस्या र समाधानबाट साभार)  

Last modified on 2018-09-30 07:28:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts