उपचारमा घरखेत सक्यो तर रामभक्त निको भएनन्



Download our app to get more features

१५ वर्षअघि रामभक्त राईको खुट्टाका औंला एक्कासी सुन्निन थाले । दिनभर काम गरेर खानु पर्ने व्यक्तिको एक्कासी औंला सुन्निने, जोर्नी दुख्ने हुन थालेपछि उनी आत्तिए । नेपाल यातायातका चालक रामभक्त राई उपचारका लागि केही अस्पतालमा धाए । तर, डाक्टर र अस्पतालले भनेकै समयमा पुग्ने र उपचारमा दिन बिताउन उनले सकेनन् । औंला सुन्निने र जोर्नी दुख्ने समस्यालाई उनले खासै ध्यान दिएनन् । 

काठमाडौं उपत्यकाका भित्र भागका यात्रुलाई उपत्यका घुमाउने रामभक्त रोगले थलिएपछि अहिले आफ्नो जीवनलाई कताबाट घुमाएर सही मार्गमा ल्याउने भन्ने अन्योलमा छन् । दुईका सन्तानका बाबु रामभक्त परिवारको जिम्मेवारी लिनुपर्ने बेला आफै थलिएका छन् । ‘छोराछोरी र श्रीमती काभ्रेस्थित जन्मथलोमा बस्थे । म काठमाडांैमा नेपाल यातायात चलाउँथें । सुखी र खुसी थिए ।’ उनले १५ वर्ष अघिको घटना सम्झिए ‘म काठमाडौमा कमाउथेँ । श्रीमती कल्पना गाउँमा खेतबारीको काम गर्थिन ।’ 

औंलाहरू सुन्निन थालेपछि उपचारको लागि जावलाखेलस्थित बाथ रोग सेन्टर पुगेको उनले बताए । ‘उपचारका लागि काभ्रेबाटै अस्पताल आउजाउ गर्थें । हरेक पटक काभ्रेबाट काठमाडौं आउँदा कम्तीमा १५ देखि २० हजार सक्किन्थ्यो ।’ रामभक्तकी श्रीमती कल्पना राईले भनिन् ।

‘जोगाएर राखेको सम्पत्तीमा एकहोरो चलाई रहदा कतिन्जेल पुग्थ्यो र ?’ खेतबारी बेच्दै उपचार गरेको कल्पनाले सुनाइन । ‘बाथ रोग हो भनेर अस्पताल धाइयो ।’ सम्पत्ती भनेको हातका मैला हो । मान्छे ठिक भए सम्पत्ती फेरी कमाइछ भनेर खेतबारी बेच्दै उपचार गराउँदै गए ।’ उनले भनिन् । 

खुट्टाको बुढी औलाबाट सुरु भएको बाथ रोग विस्तारै शरीरका अन्य भागमा पनि फैलदै गयो । पछिल्लो तीन बर्षदेखि उनीले नछुटाइ औषधि सेवन गरिरहेका छन् । नियमित औषधि सेवन गरे पनि उनको स्वास्थ्यमा सुधार भएको छैन् । बाथको औषधिले कुनै सुधार नभएपछि कल्पनाले श्रीमानलाई क्यान्सर अस्पताल भक्तपुर र गंगालाल हृदयरोग केन्द्र बाँसबारी पनि पु¥याइन । तर, अस्पतालले क्यान्सर र मुटुरोग नभएको रिपोर्ट दिए । 
कल्पनाले भनिन् ‘बाथ रोगको औषधिले केही नभएपछि अस्पतालमा रोग ठिक हुन्छ की हुँदैन भनेर सोधँे । अस्पतालले हँुदैन भनेपछि वीर अस्पताल लिएर आए ।’ 

वीर अस्पतालमा स्वास्थ्य जाँचको क्रममा उनको मेरुदण्डको हड्डी भाँचिएको र यसको शल्यक्रिया गर्नेुपर्ने डाक्टरले बताए । अहिले रामभक्तको कम्मरदेखि तल्लो भाग चल्दैन । उठाउन सुताउन अरुकै सहारा लिनुपर्ने अवस्था छ । डाक्टरले मेरुदण्डमा हड्डीको क्षयरोग भएको भन्दै  औषधि दिएका छन् । हड्डीको क्षयरोगको औषधि एक महिना खाएपछि मात्रै उनकोे शल्यक्रिया हुने उपचारमा संलग्न डाक्टरले बताए । उनी वीर अस्पतालमा बसेको २० दिन भइसकेको छ ।

रोग पहिचान पछिको तीन वर्षमा कल्पनाले श्रीमानको उपचारमा घरखेत सबै बेचिन । झापामा रहेको तीन कठ्ठा जमीन उनले दुई वर्ष पहिले १८ लाखमा बेचिन भने एक महिना अगाडि पनि काभ्रेमा रहेको घर दुई लाखमा धितो राखेकी छिन् । एक वर्षमा पैसा फिर्ता गर्ने भनेर दुई लाखमा घर धितो राखेको उनले बताइन । जग्गा बेचेको पैसाले तीन वर्षदेखिको औषधिउपचारमा लागेको ऋण तिरेको उनले बताइन ।

उपचार गर्न अस्पतालकै बास 
रामभक्तका छोरा पनि गाडी चालक हुन । छोरी १४ वर्षकी भइन । घरखेत सबै बेचेर उपचारका लागि काठमाडौं आएका राई दम्पती अहिले अस्पतालमै बस्छन् । अस्पतालमा उनीहरूको साथमा अब करिब दुई लाख भएको कल्पनाले सुनाइन । 

‘पैसा भइन्जेल रोगको पहिचान नै भएन । जब रोगको पहिचान भयो तब पैसा रहेन ।’ राभक्तकी श्रीमती कमलाले भनिन् । सुरुमा मेरुदण्डको समस्या भएको थाहा पाएको भए जग्गा बेचेकै पैसाले उनको उपचार हुने कमलाले बताइन । अहिले उपचार गर्नको लागि पैसा छैन । कम्मरदेखि तलको भाग नचल्ने रामभक्तले उपचारको लागि अस्पतालको शय्याबाटै सहयोगको अपील गरेका छन् । उनलाई आर्थिक सहयोग गर्ने इच्छुकले मोबाइल नम्बर ९८६०११३१५६ र ९८४१२७३१६१ मा सम्पर्क गर्न सक्नेछन । 

Last modified on 2017-11-10 16:35:54

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts