बच्चा कति घण्टा सुत्नुपर्छ ?
निदाइराखेको बच्चालाई उठाउनु हुँदैन
कतिपय अविभावक आफ्नो बच्चा सुतेको सुतै गर्छ भनेर चिन्तित हुने गर्छन् । कतिपयलाई लाग्छ कि बच्चाको निन्द्रा पुगेकै छैन ।
अविभावकमा हुने सबैभन्दा ठूलो अन्योल नै बालबालिकाले कति सुत्ने त ? निन्द्रा सम्बन्धी समस्या धेरै बालबालिकामा हुन्छ । बालबालिका पिच्छे निदाउन लाग्ने समय, कती घण्टा सुते पछी निन्द्रा पुग्छ र निदाएका बेला कती सजिलै बिउँझिन्छन् भन्ने हुन्छ । समस्या जस्तो लाग्ने कति कुरा त सामान्य नै हुन्छन् । त्यसैले बच्चाहरूको निन्द्रा पुगेको हो कि होइन र कुनै समस्या छ कि छैन भनेर चिन्न सो अनुरुप स्याहार गर्न गाह्रो हुनसक्छ ।
नवजात शिशुहरूको सामान्यतया निदाउने र बिउँझने नियमित चक्र हुँदैन । उनीहरू पटकपटक गरेर दैनिक १६ देखि २० घण्टासम्म सुत्छन् । बेला बेलामा दुध खान बिउँझनु नवजात शिशुको लागि सामान्य र स्वस्थ बानी हो । घडी हेरेर दुई दुई घन्टामा दुध खुवाउनको लागि निदाइराखेको बच्चालाई उठाउनु हुँदैन । स्वस्थ शिशुलाई स्तनपान गराउने भनेको उसको माग अनुसार हो, न कि निश्चित अन्तरालमा । जन्मदा निकै कम तौल भएको वा बिरामी भएको नवजात शिशुलाई भने रातमा समेत गरेर चौबिस घन्टामा आठदेखि दस पटक दुध खुवाउनुपर्छ ।
जब उमेर बढ्दै जान्छ, बच्चाहरू दिउँसोमा कम सुत्न थाल्छन र रातीको सुताई लम्बिन थाल्छ । तीन महिनासम्ममा आफ्नो बच्चाको सुत्ने रुटिन तपाईंलाई लगभग थाहा भै सक्छ । कुनै बच्चा धेरै समय सुत्छन् भने कुनै थोरै समय । ३–४ महिनाको हुँदा शिशुहरू बिहान, दिउँसो र बेलुका गरि दिनमा तिन पटक छोटो समय निदाउने गर्छन । ६ देखि १२ महिनाको हुँदा शिशुको दिउँसोको सुताई २० मिनेटदेखि तीन घण्टा सम्मको हुन्छ र तीन पटकको सट्टा दुई पटक मात्र निदाउँछ । उसको जम्मा सुत्ने समय १४ घण्टा जति हुन्छ । तर, केही घण्टा तल माथि हुनु सामान्य हो । एक देखि तीन वर्षसम्मका बच्चालाई १० देखि १३ घण्टा सुत्नु पर्छ र दिउँसो एक पटक मात्र सुत्ने हुन्छन । बिस्तारै कुनै दिन सुत्ने र कुनै दिन नसुत्ने हुन थाल्छन ।
दिउँसो ढिलासम्म निदाएन भने त्यो दिनको लागि छोडी दिनु राम्रो, किन भने ढिला सुत्दा रातको निन्द्रामा असर गर्छ । ४ देखि ६ वर्षको उमेरमा १० देखि १२ घण्टा नै सुत्छन् तर दिउँसो निदाउन भने छाड्न सक्छ । स्वस्थकर निन्द्रा भनेको शिशु जन्मने बित्तिकै देखि सुरु हुने बानी हो । निन्द्रा बच्चाको स्वास्थ्यको लागि निकै महत्वपूर्ण कुरा हो । शिशु धेरै थाकेको छ भने राम्ररी निदाउन सक्दैन । यदि निन्द्रा पुगेन भने बच्चालाई दिनभर गाह्रो हुन्छ र रातमा पनि लामो समय सुत्दैन । बरु पटक पटक बिउँझन सक्छ ।
जब शिशुहरूले निदाउनको लागि केहि संकेत सिक्छन, सो अनुरुप सुत्ने बानी बसाउँछन् । कोक्रो वा झोलुंङेमा राखेपछि, र अझ बिस्तारै हल्लाएपछि उसले सुत्नु पर्ने कुरा बुझ्छ र निदाउँछ । सुरुसुरुमा सधै त्यस्तो नभए पनि बिस्तारै उसले निदाउने संकेत चिनेर निन्द्रा नियमित बनाउन थाल्छ । बच्चा निन्द्रालु हुन थालेको छ भने ननिदाउदै उसको सुत्ने ठाउँमा राखी दिनु पर्छ ।
कुनै कुनै बच्चालाई निदाउन गाह्रो पर्छ वा धेरै नै समय लाग्छ । सुत्नु अगाडी टिभी, भिडिओ गेम, मोबाइल आदिमा समय बिताउँदा यस्तो हुन सक्छ । यदि यस्तो कारणले हैन भने डाक्टरसँग सल्लाह गरेर कारण र समाधान खोज्नु पर्ने हुन्छ । रातको समयमा खुवाउँदा वा चिसो कपडा फेरिदिदा सकेसम्म उत्तेजना कम गर्न प्रयास गर्नु पर्छ । बच्चा सुत्ने कोठाको बत्ती पनि मधुरो हुनुपर्छ ।
कुनै बेला बच्चा अकस्मात बिउझिएर रुन सक्छ । त्यस्तो बेला आत्तिनु पर्दैन । एक छिन उसलाई आफै चुप लाग्न समय दिनुहोस् । अनि नजिकै रहेर सुताउने प्रयास गर्नुहोस् । निन्द्रा नपुग्नु निन्द्रा सम्बन्धी सबैभन्दा धेरै देखिने समस्या हो । अविभावकको नजरअन्दाजका कारण यस्तो समस्या आउन सक्छ । यदि बच्चा झिजो मानिरहेको छ, अस्वाभाविक रुपमा रिसाउँछ वा रातमा निदाउन सकिरहेको छैन भने उसको दिउँसो नसुत्ने वा समयमा ननिदाउने समस्याले हुन सक्छ ।
बच्चा कति समय निदाउँछ र निन्द्राको दैनिकी कस्तो हुन्छ भन्ने कुरा बच्चैपिच्छे र उमेर अनुसार फरक हुन सक्छ । आफ्नो बच्चाको निदाउँने बानी कस्तो छ र त्यसमा अकस्मात कुनै परिवर्तन आएको छ कि छैन भनेर चाहिँ ख्याल गर्नु पर्छ ।