दशा नबनोस् दशैँ



Download our app to get more features

म सानो हुँदा विजया दशमीको अष्टमीको दिन पिङबाट लडेको अझै सम्झिन्छु । मासु खाएर घरमुनि चौतारोमा लिङ्गे पिङमा मच्चिँदै थिएँ । एक्कासि टाउकोमा चिलाउने डाबर आउन थाल्यो । शायद टाउकोमा कन्याउन लाग्दा डोरीबाट हात छुटेर लड्न पुगें । मलाई मासुको एलर्जी थियो । तैपनि दशैँको बेला मासु खानै पर्ने दबाबले खाइयो र दुर्घटना हुन पुग्यो । त्यो सालको दशैँ मेरो र परिवारको लागि खासै रमाइलो हुन सकेन । 

बालबालिकाका लागि दशैँ युवा र वृद्धवृद्धाका लागि भन्दा अझ रमाइलो हुन्छ । वर्षमा एकपटक आउने र लामो समय स्कुल बिदा हुने हुँदा स्वतन्त्ररुपले खेल्न पाउँदा उनीहरू यसलाई विशेष अवसर ठान्छन् । उनीहरूमा चङ्गा उडाउने, पिङ खेल्ने, घुम्न जाने र मनमा गुम्सिरहेका अनेक चाहना पूरा गर्न खोज्ने रहर जाग्छ । यसो हुँदा उनीहरूमा चोटपटकको जोखिम पनि बढी नै हुन्छ । घरका अभिभावकहरू अन्य कुरामा व्यस्त भएका र उस्तै उमेरका बच्चाहरू घरबाहिर खेलिरहेका बेला दुर्घटनाको सम्भावना बढी हुन्छ । त्यसैले घरमा र वरपर चोटपटक लाग्न नदिने उपायहरू अपनाउनुपर्छ, ताकि केटाकेटीको चोटले दशैँ दशा नबनोस् ।

बच्चालाई एक्लै नछोडौं 
बच्चाको उमेरअनुसार चोटपटकको प्रकृति र जोखिमजन्य कुराहरू हामीले मनन गर्नुपर्ने हुन्छ । दुई–तीन वर्षका बच्चाहरू धेरै नै चकचके हुने हुनाले बिजुलीको सकेटभित्र औंला पसाउने, मट्टीतेल, औषधिजस्ता विषालु कुराहरू खाइदिने, धारिलो हतियार चलाएर हात काट्ने, खुला बरन्डा वा छतबाट लड्ने, पानी जम्मा गर्न घरभित्रै राखेको बाल्टिन, बाटाजस्ता भाँडामा डुब्ने गरेको पाइन्छ । स्कुल जाने उमेरका बच्चाहरू साइकलबाट लड्ने, इनार, पोखरी, खोला वा ट्यांकीमा डुब्ने, कुटपिट गर्ने, पिङबाट लड्ने, चङ्गा उडाउँदै गर्दा छतबाट लड्ने घटनाहरू हुने गर्छन् । चाडबाडको रमाइलो र फुर्सदको मौका पारेर साथीको लहैलहैमा लागी केही किशोरकिशोरी जाँडरक्सी, चुरोट, लागू औषध, असुरक्षित यौनसम्पर्कजस्ता जोखिमयुक्त कुलतमा फस्न सक्छन् । यी यावत् जोखिमलाई बेलैमा विचार गरेर जोखिम न्यूनीकरणका उपायहरू अपनाउन सके चाडबाडको बेलामा विपत्ति आउन पाउँदैन । 

मासु अड्केला, ध्यान दिऔँ
दशैँको बेला घट्ने अर्को दुखद घटना मासु वा माछाको काँडा अड्किनु हो । यो जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । तर प्रायः बालबालिका, वृद्धवृद्धा र जाँडरक्सीले बेहोसी अवस्थामा पुगेकामा जोखिम बढी हुन्छ । उनीहरूलाई सकेसम्म काँडा नभएको वा हटाइएको, सानो टुक्रा बनाएको वा आवश्यकताअनुसार ग्राइन्डरमा पिसेको माछामासु दिनुपर्छ । कथंकदाचित अड्कियो भने समयमै चिनेर अड्केको कुरा निकाल्न जोड दिनुपर्छ । 
जब कुनै कुरा निलेर पेटमा पुग्छ, ब्याट्रीजस्ता विषालु र सुईजस्ता धारिलो कुराबाहेक अरू कुराले खासै असर गर्दैन । तर, खानानलीमा जेसुकै अड्कियो भने पनि यसले दुःख दिन सक्छ । निकै जोखिमपूर्ण कुरा भनेको खानेकुरा वा मुखमा राखेको अरु कुनै कुरा सर्काएर श्वासनलीमा पुग्नु हो । केहीबेरसम्म श्वासनली पूरै थुनियो भने मस्तिष्कलगायतका अंगहरूमा अक्सिजन पुग्न पाउँदैन र ज्यान जान्छ । यस्तो हुँदा सास फेर्न नसक्ने हुन्छ । साथै आवाज पनि आउँदैन, बरु औंलाले घाँटीमा देखाएर सहयोग मागिरहेको हुन्छ । तपाईंले कसैलाई सास फेर्न गाह्रो भैरहेको देख्नुभयो र घाँटीमा खाना वा केही कुरा अड्काएछ भन्ने अनुमान गर्न सक्नुभयो भने तुरुन्त प्राथमिक उपचार गर्न सक्नुहुन्छ । 

बाहिर खेल्न वा डुल्न निस्किँदा बच्चाहरूलाई विषालु कीराले टोक्न सक्छ । वर्षातलगत्तै दशैँ पर्ने हुँदा सर्प, बिच्छी, खजुरो, माकुरो, अरिङ्गाल आदिको जोखिम हुन्छ । लामखुट्टे, भुसुना, किर्ना आदिको टोकाइबाट प्राणघातक ज्वरोजन्य रोगहरू पनि सर्न सक्छ । दशैँको लागि भनेर हामी घरवरिपरिको झाडी फाँड्ने, खाल्टाखुल्टी पुर्ने, सरसफाइ गर्ने गरेर चिटिक्क पार्ने गर्छौं । यो राम्रो काम हो । यसले बचावट गर्न मद्दत पुगेको हुन्छ ।

प्राथमिक उपचार स्वास्थ्य उपचारको दक्षता नभए तापनि सबै व्यक्तिले गर्न सक्ने आधारभूत उपचार हो । यो आधारभूत उपचार घाइते वा बिरामीलाई अस्पताल पु¥याउनु वा दक्ष स्वास्थ्यकर्मी उपलब्ध हुनुअगाडिसम्म घटनास्थल वा बाटोमा गरिन्छ । तर, यसका लागि प्राथमिक उपचारको तालिम भने लिएको हुनुपर्छ । कतिपय देशमा सबैजसो जनतालाई प्राथमिक उपचारको तालिम लिन उत्प्रेरित गरिन्छ र सार्वजनिक स्थलहरूमा प्राथमिक उपचारका सामग्रीहरू राखिएको पनि हुन्छ । हामीले पनि यस्तो परिपाटीको विकास गर्न जरुरी छ । 

रोग लागेर उपचार गर्नुभन्दा शुरुमै रोकथाम गर्नु श्रेयष्कर हुन्छ । आफ्नो घरटोलमा बालबालिका मैत्री वातावरण सिर्जना गर्न चोटपटक तथा दुर्घटनाको जोखिम घटाउने संरचना तयार गर्नुपर्छ । अरु बेला दिनभरि स्कुलमा बिताउने बच्चाहरू दशैँको बिदामा घरमै रहने हुनाले उनीहरूको समय रोमाञ्चक तर सुरक्षित बनाउन हामी सचेत हुनै पर्छ । 

(बालरोग विशेषज्ञ डा. धरेल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपप्राध्यापक छन् ।)

Last modified on 2017-10-01 07:05:29

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts