चितवन जिल्ला स्वास्थ्यको 'हब' बन्न सक्छ–अध्यक्ष प्रचण्ड
स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्रका लागि क्रान्तिकारी कदम
असोज ११, भरतपुर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्रका लागि क्रान्तिकारी कदम हुने बताएका छन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले अस्पतालको नेपालीहरुको आर्थिक हैसियतले ठूला रोगको उपचार आफै गर्नसक्ने अवस्था नभएको र राज्यले सबैलाई पैसा बाँडेर पनि तत्काल समाधान गर्ने स्थिती पनि नभएकोले यसको एक मात्रै बिकल्प नागरिकहरुलाई स्वास्थ्य बीमाको व्यवस्था गर्नु रहेको बताए ।
उनले भने– ‘मेरो नेतृत्वको सरकारले स्वास्थ्य बीमाका लागि ऐनको प्रस्ताव तयार पारेर संसदका पेश गरेको छ, विश्वास छ, मेरो नेतृत्वको सरकारले गरेका कामहरुलाई वर्तमान सरकारले गम्भीरतापूर्वक लिनेछ ।’
उनले थपे ‘मैले बिमस्टेक सम्मेलनका बेला भरतपुरको क्यान्सर अस्पताल र समग्र नेपालको आर्थिक विकासबारे चीनियाँ नेताहरुसँग कुराकानी गरें, थुप्रै आयोजनाहरु अगाडि बढ्दैछन्, हामीले बुद्धि पुर्यायौं भने भारत र चीनको बीचमा हुनु हाम्रा लागि अभिसाफ होइन, बरदान हुन सक्छ ।’
अध्यक्ष प्रचण्डले चितवन जिल्ला स्वास्थ्यको हब बन्न सक्छ भन्दै हाम्रो भौगोलिक अवस्थितिले पनि त्यो सम्भावना रहेको बताए । त्यसका लागि भरतपुर अस्पताल र क्यान्सर अस्पतालको स्तर वृद्धि गर्न आवश्यक छ, यसमा मेरो पुरै साथ र सहयोग रहनेछ उनले भने ।
कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल लगायतका वक्ताहरुले भरतपुर क्यान्सर अस्पताललाई दक्षिण एसियाकै अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।