न रोग ठीक भो, न पढ्न नै पाए : तुल्सा 

उपचारबाट थाकेको दुखेसो



Download our app to get more features

काठमाडौं, २९ भदौ । ‘नौ वर्षकै उमेरदेखि रगत वान्ता हुन्थ्यो । दुई वर्षसम्म त रगत वन्ता गरेर घरमै बसें ।’ बारा निजगढ घर भई काठमाडौंको वीर अस्पतालमा उपचारत् २३ वर्षीया तुल्सा विश्वकर्माले भनिन् । सानै उमेरमा रोगको शिकार बनेपछि तुल्सा विद्यालय पनि जान पाइनन् । तर, उनले विद्यालय नै नटेकेको भने होइन् । जब उनलाई रोगले सताउन थाल्यो त्यसपछि विद्यालयबाट बाहिरिइन र अस्पताल धाउन थालिन । उनले पाँच कक्षासम्म पढ्न पाइन । त्यसपछि उनको दिनचर्या रोग निको पार्ने उपाय खोज्दै बित्न थाल्यो । रोग कै कारण पढ्ने सपना चकानाचुर भएको उनले बताइन । उनले सुनाइन ‘आफुसँगैका साथी हातमा कपीकलम बोकेर स्कूल जाँदा मेरो हातमा औषधि हुन्थ्यो ।’ १४ वर्षदेखि रगत वान्ता हुन थालेको उनले सुनाइन् ।

उपचारमा निजगढदेखि काठमाडौंसम्म
सुरुमा उनालाई उपचार गर्न परिवारले वीरगन्ज अस्पतालमा लगेँ । त्यहाँबाट दिएको आषौधिले कुनै काम गरेन । उनी अस्पतालमा एक साता भर्ना भएर डाक्टरको निगरानीमा रहे पनि स्वास्थ्यमा सुधार आएन । त्यसपछि उनी उपचारको लागि काठमाडौंको वीर अस्पतालमा आइपुगिन । यहाँ आएपछि बल्ल उनले आफ्नो समस्याबारे थाहा पाइन । उनको रगत बाक्लिदै गएर यस्तो समस्या भएको रहेछ । ‘करिब १४ वर्षको हुँदा काठमाडौं आएकी थिए र त्यसबेला डाक्टरले शल्यक्रिया गर्नुपर्छ भने । घरको आर्थिक अवस्था कमजोर भएकोले शल्यक्रिया नगरि फर्कियौ ।’ उनले भनिन् । थप उपचारको कुनै विकल्प थिएन त्यसैले रगत पातलो बनाउने औषधि डाक्टरको सल्लाह अनुसार लिएर घर फर्केको उनले सुनाइन् । उनले त्यसबेला शल्यक्रिया भनेको के को भनेर समेत नसोधेको बताइन । ‘औषधि खाइ रहेँ । धेरै औषधिको सेवनले होला अहिले पत्थरी भएछ । यसको शल्यक्रिया डेढ महिना पहिले भयो ।’ उनले सुनाइन् । हरेक पटक अस्पताल आउँदा कम्तिमा एक साता बस्नुपर्ने उनी  बताउँछिन् । ‘कहिले एक महिना, कहिले ६ महिनामा अस्पताल आउनुपर्छ । यसरी नै मेरा १४ वर्ष बितेँ ।’ उनले निरास हुदैं भनिन् ‘मेरो दिनचर्या नै यस्तै छ ।’ 

उपचारमै ८ लाख खर्च, तर निको भएन
उनको परिवारको आम्दानीको स्रोत समान्य खेती किसानी नै हो । उनीसहित परिवारमा पाँच जना छन् । तुल्साले भनिन् ‘पहिला दाईदिदी पनि साना थिए । उपचार निकै गाह्रो थियो । तर, अहिले उपचारमा उहाँले सहयोग गरिरहनुभएको छ ।’ उनले हालसम्म औषधि उपचारमा अस्पताल धाउँदा लगभग ८ लाख खर्च भइसकेको बताइन । गहभरी आसु पार्दै उनले भनिन् ‘जति खर्च भए पनि के भो र अब पढ्ने आसै मरिसक्यो ।’ आसु पुछ्दै उनले भनिन ‘अब त स्कूल र पढाईप्रति कुनै मोह छैन् ।’

उपचारबाट थाकेको दुखेसो
जति उपचार गर्दा पनि निको नभएपछि उनलाई कि रोग ठिक होस् कि संसार नै छाडियोस् जस्तो लाग्न थालेको बताइन । उनले भनिन् ‘मेरो जीवन धेरै छैन जस्तो लाग्छ ।’ वीरको ग्याष्ट्रोलोजी वार्डमा भेटिएकी तुल्साले भनिन ‘अस्पतालमा आएका बिरामीलाई हेरेर चित बुझाउँछु । अब त घर भन्दा मलाई त अस्पताल बानी परिसक्यो । बिरामीसँग कुरा गर्दै दिन कटाउने गरेकी छु ।’अस्पतालका अनुसार उनको अवस्थामा पहिले भन्दा धेरै सुधार आएको छ । खानपानदेखि हिड्ने, बस्ने र पारिवारीक सदस्यले पनि उनलाई विशेष ध्यान दिनुपर्ने अस्पतालको भनाई छ । 
 

Last modified on 2017-09-14 15:37:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts