चार वर्षमा ३४ हजार गरीबले लगे सरकारबाट उपचार खर्च
सवा एक अर्ब भन्दा बढी खर्च
काठमाडौं, २८ भदौं । विपन्न नागरिक उपचार कोषबाट चार वर्षमा ३४ हजार आठ सय जनाले उपचार खर्च लगेका छन् ।
आर्थिक वर्ष ०७०/७१ मा आठ हजार दुई सय १३, आब ०७१/०७२ मा ६ हजार ९५, आब ०७२/०७३ मा आठ हजार ३३ र आब ०७३/७४ मा १२ हजार चार सय ६७ जनाले उपचार खर्च लगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ ।
सरकारले आठ प्रकारका गम्भीर रोगको उपचारमा खर्च दिदै आएको छ । यस मध्ये सबैभन्दा बढी क्यानसरका बिरामीले कोषबाट उपचार खर्च लगेका छन् । महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार चार वर्षमा १५ हजार पाँच सय ४८ जनाले क्यान्सरको उपचार गरेका छन् । आब ०७०/०७१ मा चार हजार ४९ जनाले उपचार खर्च लगेकोमा आब ०७१/०७२ मा २७ सय ४४ जनाले, आब ०७२/७३ मा २५ सय ७७ जनाले र अब ०७३/७४ मा ६ हजार एक सय ७८ जनाले उपचार खर्च लगेका छन् । सरकारले क्यान्सर उपचारको लागि एक व्यक्तिलाई एक पटकमा एक लाख दिने गरेको छ ।
सरकारले उपलब्ध गराउने उपचार खर्च लैजानेमा दोस्रो नम्बरमा मिर्गाैलाका बिरामी छन् । चार वर्षमा आठ हजार ६ सय दुई जनाले मिर्गाैला रोगीले उपचार खर्च लगेका छन् । आब ०७०/०७१ मा दुई हजार ६ सय २५ जनाले उपचार खर्च लगेका थिए । यसैगरी आब ०७१/७२ वर्षमा त्यो संख्या घटेर एक हजार तीन सय ५४ जनामा झरेका थियो । आब ०७२/७३ मा यो संख्या बढेर दुई हजार दुई सय ८७ जना पुग्यो । आब ०७३/७४ मा आइपुग्दा यो संख्या दुई हजार तीन सय ३६ पुगेको माहाशाखाले उपलब्ध गराएको तथ्यांकमा उपलब्ध छ ।
सरकारले मृर्गौलाका बिरामीलाई तीन तहमा बाँढेर खर्च उपलब्ध गराउँदै आएको छ । आब ०७१/७२ मा होमो डायलोसीस् गर्नेहरूका लागि दुई वर्षसम्म हप्ताको दुई दिन निःशुल्क थियो । आब ०७२÷७३ देखी यो सेवालाई आजीवन निःशुल्क गरेको छ । तर, हप्तामा दुई पटक भन्दा बढी गर्नु परे थप सेवाको रकम बिरामीले नै व्यहोर्नु पर्छ ।यसैगरी मृगौला प्रत्यारोपण गर्न चाहानेको लागि प्रत्यारोपण खर्च स्वरुप दुई लाख उपलब्ध गराउँदै आएको छ भने प्रत्यारोपणपछि सेवन गर्नु पर्ने औषधिको लागि एक पटकलाई एकमुष्ठ एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
मुटुरोगी बढ्दै
महाशाखाका अनुसार नेपालमा बर्षेनी मुटुका बिरामी बढ्दै गएका छन् । महाशाखाले उपलब्ध गराएको उपचार खर्च लैजानेको क्रम हेर्दा प्रत्येक वर्ष मुटुरोगीको संख्या बढ्दो छ । चार वर्षको अवधिमा नौ हजार चार सय ६० मुटुरोगीले सरकारबाट उपचार खर्च लगेका छन् । आब ०७०/०७१ मा १४ सय ७८ मुटुका विरामीले उपचार खर्च लगेकोमा आब ०७१/०७२ मा १९ सय, आब ०७२/७३ मा २५ सय ७७ जना र आब ०७३/७४ मा तीन हजार तीन सय दुई जनाले लगेका छन् । सरकारले मुटुको शल्यक्रिया गर्नु पर्ने बिरामीलाई एक लाख उपलब्ध गराउदै आएको छ । यसैगरी १५ वर्ष मुनि र ७० वर्ष माथिका बिरामीको लागि भने सरकारले औषधिसहित निःशुल्क उपचार दिदै आएको छ ।
सिकलसेलका बिरामीलाई पनि उपचार खर्च
सरकारले सिकलसेल एनिमियाका विरामीलाई पनि आर्थीक वर्ष ०७१/०७२ बाट उपचार खर्च दिन थालेको छ । पहिलो वर्ष नै यो रोग उपचारको लागि ३९ जनाले खर्च लगेका थिए । आब ०७२/७३ मा भने यो संख्या बढेर तीन सय ३१ जना पुगेको माहाशाखाले जनाएको छ । यस्तै आब ०७३/७४ मा चार सय ३३ सिकलसेल एनिमियाका बिरामीले उपचार खर्च लगेका छन् । उपचार खर्च लैजाने अन्य बिरामीमा ‘हेड इन्जुरी’ एक सय ५० जना, स्पाइनल इन्जुरीका एक सय ६५ जना, पार्किन्सन्सका २६ जना र अलजाइमर्स भएका २४ जनाले विपन्न नागरिक उपचार कोषबाट उपचार खर्च लिएका थिए । ती रोगको लागि पनि सरकारले एक पटकलाई एकमुष्ठ एक लाख दिँदै आएको छ ।
बढ्दै उपचार खर्च
महाशाखाका अनुसार आर्थिक वर्ष ०७३/७४ मा एक अर्ब ३३ करोड सात लाख ५२ हजार पाँच सय ५१ रुपैयाँ उपचार खर्च बापत प्रदान गरिएको छ । सबैभन्दा बढी उपचार खर्च मृर्गौला रोगमा करिब ६० करोड भएको तथ्यांकमा उल्लेख छ भने दोस्रोमा क्यान्सरमा करिब ३८ करोड खर्च भएको छ ।
यसैगरी मुटु रोगमा ३२ करोड खर्च भएको तथ्याङमा उल्लेख छ । व्यवस्थापन महाशाखाका सी.अहब प्रकाशचन्द्र घिमिरेका अनुसार चालु आर्थिक वर्ष ०७४/७५ का लागि विनियोजित रकम अपुग हुने भएको छ । उनले भने ‘करिब थप एक करोड बजेट आवश्यक पर्ने देखिन्छ । उपचार गर्ने अस्पतालको संख्या दिनानु थपिदै गएको छ । यसले बिरामीको पहँुच बढेकाले खर्चको आकार वृद्धि हुने देखिन्छ ।’