फिजियोथेरापीप्रति बिरामीको आकर्षण
फिजियोथेरापीको विशेषता 'साइड इफेक्ट नहुनु'
काठमाडौ, २३ भदौ । आज फिजियोथेरापी दिवश । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवश मनाउने गरीन्छ । नेपालमा पनि सन् २००० देखि यो दिवस मनाउन शुरु गरिएको हो ।
विश्व फिजिकल थेरापी दिवसले यो नारा विश्व स्वास्थ्य संगठनको वृद्धावस्था तथा स्वास्थ्य सम्बन्धी विश्वकै रिपोर्टमा आधारित रहेर प्रयोग गरेको हो, जसमा वृद्धावस्थाका मानिसहरुलाई आफ्नो कार्यक्षमताको मर्मत सुधार उच्च आवश्यक छ, भनिएको छ ।सामान्यतः फिजियोथेरापी भनेको भौतिक चिकित्सा हो । हाडजोर्नी, नशा लगायतका रोग भएका मानिसलाई यो उपचार प्रभावकारी मानिन्छ ।
मांशपेशी च्यातिएको (लिगामेन्ट टियर), कमजोर मांशपेशी, स्वास प्रस्वास सम्बन्धी समस्या, घाँटी तथा जीउको दुखाई कम गर्न पनि फिजियोथेरापी उपयुक्त मानिन्छ । नयाँ नयाँ रोग देखा परेसँगै यसको उपचारमा पनि नयाँ प्रविधि र उपाय आविष्कार भएका छन् । कतिपय रोग लाग्नुको कारण स्पष्ट नहुँदा औषधि समेत बनेका छैनन् । यद्यपि, रोग निदानका लागि अबलम्वन गरिने विधी तथा तरीका भने हुँदै नभएका हनेइनन् । यस्ता समस्या समाधानका लागि फिजियो थेरापी उपयुक्त उपचार पद्धति हो ।
विशेष औजारको सहायताले शरीरिक कसरतबाट रोग निदान गर्ने उपचार पद्धति नै फिजियोथेरापी हो । धेरै रोग उपचारको लागि यो पद्धति निकै प्रभावकारी मानिन्छ । यो पद्धतिमा बिरामीको आकर्षण बढ्दै पनि गएको छ । लामो समयदेखि करंङ दुख्ने समस्याबाट पीडित बनिरहेका काठमाडौंका विनोद भट्टराई अन्नपूर्ण न्यूरो अस्पतालको थेरापी कक्षमा उपचाररत छन् ।
उनले थेरापी सुरु गर्नु अघि यसबारे बाहिर राम्रा नराम्रा धेरै कुरा सुनेको बताए । तर, थेरापी सुरु गरेपछि दुखाई निकै कम भएको उनको अनुभव छ । थेरापी गर्दा विशेषज्ञद्वारा आवश्यक मापदण्ड पूरा गरिएका कक्ष भने हुनुपर्ने उनको सुझाब छ । यदि निर्धारित मापदण्ड पुरा भएका थेरापी कक्षमा थेरापी गर्ने हो भने यसबाट सोचे जति फाइदा दिने उनको भनाई छ ।
सोही थेरापी कक्षमा लक्ष्मी निरौला पनि उपचाररत थिइन । उनको कुर्कुच्चामा हड्डी पलाएको थियो । यो समस्या निदानको लागि उनले थेरापी थालेको ११ महिना भयो । थेरापी सुरु गरेदेखि दुखाईमा निकै राहत मिलेको उनको भनाइ छ । थेरापीबाट उपचार गराउँदा समय अलि बढी लागे पनि यसले पछि दिने फाइदा भने धेरै भएको उनको तर्क छ ।
विकसीत देशहरूमा फिजियोथेरापी निकै पहिलेदेखि व्यापक बनिसकेको छ । तर, नेपालमा भने यो उपचार पद्धति भित्रिएको धेरै नभएको भएपनि पछिल्लो समय यसको प्राभवकारिता र आर्कषण बढ्दो छ । यो पद्धति धेरै महंगो पनि छैन साथै साइड इफेक्ट नगन्य हुने चिकित्सकको सुझाब छ ।
यसकारण फिजियो थेरापीमा आकर्षण
बिरामीले फिजियोथेरापी मन पराउने प्रमुख कारण भनेकै रोग निदानको लागि ठुलो शल्यक्रिया र साइड इफेक्ट नहुनु हो । ‘धेरै महंगो पनि छैन ।’ नरदेवी आयुर्वेद अस्पतालकी अकुपञ्चर विशेषज्ञ डा. काशी खतिवडाले भनिन् । थेरापीप्रति केही गुनासो पनि सुनिने गरेका छन् । तर, थेरापी पुरै समय नगर्ने र गरिहाले पनि विशेषज्ञको परामर्शमा ध्यान नदिंदा यसको प्रभावकारिता राम्रो नहुन सक्छ । यसतर्फ विशेषज्ञ र बिरामी दुबैले आवश्यक सचेतना अपनाए यसको प्रभावकारिता, लोकप्रियता अझ बढ्दै जानेछ ।