नेपालमा फेला परेका केही कीटजन्य नयाँ रोगहरू

वेस्टनाइल भाइरसदेखि चाँदपुरासम्म



Download our app to get more features

नेपालमा पछिल्लो समय विभिन्न कीटजन्य रोगका संक्रमण बढिरहेको छ । पछिल्लो केहीवर्षयता डेंगु र स्क्रब टाइफस चर्चामा रहे । तीबाहेक पनि विभिन्न कीटजन्य रोगको संक्रमणले नेपालमा महामारीकै रुप लिने गरेको छ । पछिल्ला वर्ष नेपालमा देखिएका केही कीटजन्य रोगका बारेमा यहाँ प्रस्तुत गरिएको छ ।

चाँदिपुरा भाइरस
मोरङ, सुनसरी, सप्तरी तथा मकवानपुरमा सन् २०१४ मा ६ जनामा चन्डिपुरा भाइरस प्रमाणित भएको थियो । यो स्यान्ड Ïलाई भुसुनाबाट सर्छ । नेपालको तराई क्षेत्रमा यो व्यापक मात्रामा पाइन्छ । कालाज्वर पनि यही भुसुनाले सार्छ । खासगरी प्रि–मनसुनमा यो रोग देखिन्छ । रुघाजस्तै लक्षणबाट सुरु भई इन्सेफ्लाइटिस (दिमागको सुजन) हुँदै बिरामीको मुत्युसम्म हुनसक्छ । यसबाट हुने मृत्युदर ५० प्रतिशत रहेको पाइन्छ ।

निपा भाइरस
चमेरो निपा भाइरसको स्रोत हो । तर, चमेरामा भने यसको लक्षण देखिँदैन । चमेरोको शरीरको तरल पदार्थसँग सम्पर्कमा आएमा यो भाइरस सजिलै सर्छ । चमेरोबाट सुँगुरमा यो भाइरस सर्छ । यो भाइरस संक्रमित सुँगुरले खोक्दा मानिसमा रोग सर्न सक्छ । सुरुमा सामान्य रुघाखोकी जस्तो लक्षण देखिए पनि पछि मस्तिष्कको सुजन भई बिरामीको मृत्यु हुन सक्छ । नेपालमा २०७१ सालमा मोरङका केही गाविसमा यसको आशंका गरिएको थियो । 

स्क्रर्ब टाइफस
केही बर्ष अघि पूर्वका केही जिल्लादेखि धादिङ र काठमाडौंमै यो रोग देखा परेको थियो । चिगार नामको किर्नाबाट मुसा तथा मानिसमा यसको संक्रमण हुन्छ । अचानक ज्वरो आउने, छालामा किर्नाले टोकेको दाग देखा पर्ने, रातो बिबिरा देखिने, आँखा रातो हुने यसका लक्षणहरू हुन् । यो झाडी भएको बस्तीमा बढी देखिन्छ । रोग जटिल भएमा स्वासप्रस्वासमा अवरोध आउने तथा निमोनियाका कारण बिरामीको मृत्यु हुन सक्छ । रोग पहिचान समयमै भएको यसको उपचार सम्भव छ ।

हान्टा भाइरस
यो संक्रमित मुसाको र्याल, पिसाब आदिबाट मानिसमा सर्छ । तर, संक्रमित मानिसबाट अर्को मानिसमा भने सर्दैन । सुरुमा रुघाखोकी लाग्ने भए  पनि पछि स्वासप्रस्वासमा अवरोध आउने, छाती कसिलो हुने, फोक्सोमा पानी जम्ने जस्ता जटिलता देखिन्छ । कालान्तरमा मिर्गौलाले काम गर्न नसकेर बिरामीको मृत्यु हुन सक्छ । यो भाइरसका कारण हुने मृत्युदर ३८ प्रतिशत छ । नेपालमा सन् १९९६ को अनुसन्धानले यो भाइरस रहेको देखाएको थियो ।

क्रिमियन कंगो हेमोरेजिक फिबर
यो एक प्रकारको किराबाट मानिसमा सर्छ । गाईवस्तु, भेडाबाख्रालगायत घरपालुवा जनावरमा यसको विकास हुन्छ । तसर्थ, यो जनावरको रगतबाट मानिसमा सर्न सक्छ । मानिसबाट मानिसमा तरल पदार्थका माध्यमबाट यो रोग सर्छ । राम्ररी निर्मलीकरण नगरेको औजार प्रयोग गर्दा वा कुनै कारणबस रोगीको सम्पर्कमा आउँदा स्वास्थ्यकर्मी पनि संक्रमित हुन सक्छन् । ज्वरो आउने, जिऊ दुख्ने, आँखा रातो हुने तथा उज्यालो राम्ररी हेर्न नसक्नु यो रोगका लक्षण हुन् । रोग बढ्दै जाँदा रक्तश्रावका लक्षण देखा पन, मिर्गौला, कलेजो र फोक्सोमा अवरोध भई बिरामीको मृत्यु हुन सक्छ । नेपालमा अहिलेसम्म यसको संक्रमण देखिएको छैन । तर, बधशाला व्यवस्थित नहुँदा कुनै पनि बेला यसको संक्रमण देखिने सम्भावना छ । हाल भारत तथा पाकिस्तामा यो रोगबाट मर्नेको संख्या उच्च छ ।

डेँगु भाइरस
डेंगु नेपालमा सन् २००४ मा पहिलो पटक देखिएको थियो । हाल डेंगु तराईका अधिकांश जिल्लामा देखा परिसकेको छ । साथै पहाडी इलाकामा पनि डेंगु फैलदै गैरहेको एक अध्ययनले देखाएको छ । नेपालमा डेंगु निदान गर्दा कुन सेरोटाइपको हो भनेर हेर्ने गरिदैन । अथवा त्यो अनुसन्धानमा मात्रा सिमित राखिन्छ । तर सेरोटाइप छुटाउन सके बिरामीको अवस्थालाई अनुमान गर्न चिकित्सकलाई सजिलो हुन्छ । डेंगु प्रत्येक ३ देखि ५ बर्षमा व्यापक रूपमा देखा पर्ने अनुसन्धानकर्ताहरू बताउँछन । नेपालमा सन् २०१० पछि खासै ठुलो प्रकोप नदेखेको अवस्थामा अबका दिनहरूमा डेंगुले महामारीको रूप नलेला भन्न सकिन्न ।

चिकनगुनिया भाइरस
एडीस र एल्बोपिक्ट्स नामक लामखुट्टेबाट सार्ने चिकनगुनिया भाइरस पहिलो पटक यस पंतिकारले नै नेपालमा सन् २०१३ मा पत्ता लगाएको थियो । गत बर्ष रौतहटमा एक महिला यसै भाइरसबाट संक्रमित भएकी थिइन । यस्तै टेकु अस्पतालमा गत बर्ष रगत जाँच गर्दा दर्जनौ व्यक्तिमा चिकनगुनिया पाइएको थियो । हाल चितवन, धादिङ, र काठमाडौँमा चिकनगुनिया भाइरस देखा परिसकेको छ । यसको जाँच सबैको पहुँचमा नहुने भएको र जाँच गर्ने किटको गुणस्तर पनि राम्रो नहुने भएकोले धेरै संक्रमितमा निदान गर्न नसकिएको हुन् सक्दछ । यो भाइरस सार्ने लामखुट्टे नेपालमा व्यापक भएकोले देखिए भन्दा धेरै बढीमा हुन सक्छ । हाल चिकनगुनिया भाइरस छिमेकी देश भारतमा महामारीको रूपमा फैलिएको देखिन्छ । नेपालले तसर्थ सजक रहन अति आवश्यक छ । 

वेस्टनाइल भाइरस
सन् २००९ र २०१० मा ज्वरोका कारणहरू खोज्दै जादा वेस्टनाइल भाइरस नेपालमा पहिलो पल्ट पत्ता लागेको थियो । यो बिशेष गरेर क्युलेक्स जातको लामखुट्टेले सार्ने गर्छ । जसले हात्तीपाईले रोग पनि सार्ने गर्छ । यो हालसम्म दुर्ई जनामा मात्रा देखा परेको छ । यो भाइरस बारे खासै खोजीनिती गरेको देखिदैन । यो रोग कडा भएमा बिरामीलाई पक्षघात हुने सम्भावन हुन्छ । यी तीन किटजन्य रोगमध्ये डेंगु निजीस्तर वा बिद्यार्थीको थेसिसबाट बढी मात्रामा जानकारी आहेको देखिन्छ । तर, यसको सरकारीस्तरबाट गहन बहस तथा अनुसन्धान गरेको पहिदैन । चिकनगुनिया बारे केही बहस सुरु भइरको छ भने वेस्ट नाइल भाइरसको बारेमा छलफल लगभग शुन्य छ । यसले नेपाल सरकारको यी रोगप्रतिको हेराई निराशाजनक रहेको प्रष्ट हुन्छ।

यो भाइरस लागेको ८० प्रतिशतमा लक्षण देखिँदैन । टाउको दुख्ने, जोर्नी दुख्ने, शरीरमा बिबिरा आउने, वान्ता तथा पखाला लाग्ने हुन्छ । रोग बढ्दै जाँदा स्नायु प्रणालीमा असर पर्ने र १० प्रतिशत बिरामीको मृत्यु हुने गर्छ । क्युलेक्स जातको लामखुट्टेले सार्ने यो रोगको खतरा नेपालमा व्यापक छ । जापानिज इन्सेफ्लाइटिस पनि यही लामखुट्टेले सार्छ ।

हाम्रो डक्टर मासिक पत्रिकाबाट

Last modified on 2017-09-07 07:29:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts