व्यक्तित्व

औषधिका “साथी” प्रज्जवलजंग पाण्डे



Download our app to get more features

प्रज्जवलजंग पाण्डे ६–७ कक्षामा पढ्दै गरेका बेला बुबा (प्रदीपजंग पाण्डे) अध्यक्ष भएको लोमस फर्मास्युटिकल खुल्यो । यो सन् १९८५ को कुरा हो । औषधि उद्योग सुरु गरेको भन्नेसम्म उनलाई थाहा भयो । तर के औषधि, कसले खान्छन् भन्नेमा उनलाई केही थाहा थिएन । पछि पछि त्यो उद्योगमा बनेका औषधिहरू घरसम्मै आइपुग्न थाले । घर आइपुगेका औषधिसँग अब प्रज्जवल खेल्न थालिसकेका थिए । ‘अरू बच्चाले भाँडाकुटी खेलेको जस्तो मचाहीँ औषधिसँग खेल्थें । औषधि कसरी बन्छ भन्ने जिज्ञासा ममा बढ्न थाल्यो ।’ गफैगफमा निक्लिएको यो प्रसंगले प्रज्जवलजंगलाई एकाएक बिगतमा पु¥यायो ।

नारायणहिटी दरबारको उत्तरढोका नजिकै रहेको लोमस फर्मास्युटिकलका कार्यकारी निर्देशक हुन् प्रज्जवलजंग पाण्डे । उनले औषधि विज्ञान (फार्मेसी) र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । त्यसो त उनी कम्पनीको संस्थापक अध्यक्ष प्रदीपजंग पाण्डेका छोरा पनि हुन् । धेरैलाई लाग्नसक्छ, उनी बाबुको विरासतले कम्पनीको कार्यकारी निर्देशक भए होलान् । तर, त्यसो होइन । लोमस फर्मास्युटिकलको निर्देशक बन्दासम्म उनले धेरै संघर्ष र सिकाइका चरणहरू पार गरेका छन् । प्रज्जवलजंग पाण्डेले एसएलसीपछि भारतमा गएर विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह अध्ययन गरे । व्यापारी परिवारको भएकाले उनलाई त्यहाँ बसेर पढ्न असहज थिएन । विज्ञानमा रुची भएका उनलाई फार्मेसी पढ्ने हुटहुटी पहिलेदेखि थियो नै ।

प्लस टु सकाएर नेपाल फर्किएका पाण्डेले आÏनै बुबाको कम्पनी लोमस फर्मास्युटिकलमा ‘इन्टर्न’ गरे । त्यो इन्टर्नले उनमा फार्मेसी क्षेत्रप्रतिको मोह झनझन् बढ्यो । ‘फार्मेसी नै पढ्ने मेरो ९० प्रतिशत चाहना हो । बुबाको १० प्रतिशत मात्र हो ।’ उनले सुनाए । लोमसमा इन्टर्न गर्दैगर्दा बंगलादेशको ढाकास्थित ढाका विश्वविद्यालयमा फार्मेसी पढ्नका लागि नेपाल सरकारको छात्रवृत्ति कोटामा उनले आवेदन दिए । त्यो सन् १९९४ को कुरा हो । तर लामो समयसम्म विश्वविद्यालयबाट कुनै ‘रेस्पोन्स’ आएन । उनलाई जसरी पनि फार्मेसी पढ्नु थियो । उनको तीव्र चाहनालाई देखेर परिवारले उनलाई फार्मेसी पढाउन पुनः भारत पठाउने निधो ग¥र्यो । छात्रवृत्ति नपाएको झोकमा दक्षिण भारत पुगेका उनले भारतमा भर्ना हुनुभन्दा अघिल्लो दिन ढाका विश्वविद्यालयको छात्रवृत्ति पाएको खबर पाए । उनले त्यो पल स्मरण गर्दै भने, ‘मेरो लागि त्यो दिन अवस्मरणीय छ । बिर्सनै नसक्ने । कस्तो गज्जब संयोग । निजी खर्चमा भए पनि पढ्छु भनेर भर्ना हुनै लाग्दा छात्रवृत्तिको खबरले थप हौसला दियो ।’ राज्यको तर्फबाट पाएको छात्रवृत्तिले आजसम्म पनि देशप्रति इमान्दार बनाएको उनले महशुस गरेका छन् ।

उनले ढाकामा ६ वर्ष बिताए । त्यो दौरान उनले फार्मेसीमा बीफार्म र एमफार्म गरे । एमफार्ममा उनले मेजर फर्मास्युटिकल टेक्नोलोजी पढे । त्यसले उनलाई औषधि उत्पादनका नविनतम प्रविधि र प्रयोगका बारेमा धेरै ज्ञान बढ्यो । युनिभर्सिटी पढ्दा उनी परीक्षा केन्द्रित मात्र भएनन् । अरू थुप्रै किताबहरू पढे । जसले उनमा ज्ञानको दायरा फराकिलो पारिदियो । औषधि विज्ञानप्रतिको लगाव दर्शाउँदै उनले भने, ‘म कहिल्यै उत्कृष्ठ विद्यार्थी भइन, मध्यमस्तरको अंक आउँथ्यो । फेल पनि भइँन ।’ मलाई आज पनि त्यहाँका प्राध्यापकहरूले चिन्छन्, स्याबासी दिन्छन् । मलाई योभन्दा बढ्दा खुशी कहाँ मिल्छ र ?’

औपचारिक शिक्षाको एउटा अध्याय सकाएर सन् २००० मा नेपाल आएसँगै प्रज्जवलजंग पाण्डेलेको जीवनले नयाँ मोड लियो । जुन एक हिसाबले स्वभाविक पनि थियो । यही मोडबाट उनले सिकेको ज्ञान र सीप व्यवहारमा प्रयोग गर्नु थियो । अर्को रमाइलो कुरा त के छ भने, बंगलादेशबाट फर्केको भोलिपल्टबाटै उनले काम सुरू गरे । उनले लोमस फर्मास्युटिकलमै ट्रेनी फर्मासिष्टको नियुक्ति पाए । त्यो बेला गोंगबुमा रहेको लोमसको उद्योगमा उनले काम थाले । उनलाई मासिक ७ हजार ९ सय रूपैयाँ तलब दिइएको थियो । त्यो नै उनको जीवनको पहिलो कमाई थियो । ‘मैले मेरो आÏनो खर्च त्यहीँबाट पुर्याउँथे । मैले कुनै फेमेली एडभान्टेज लिइन । मसँग डिग्री थियो । बीसौं वर्ष पुराना अनुभवीसँग बसेर काम गर्न पाइएको थियो ।’ उनले थपे ।

सन् २००१ देखि त उनी फर्मासिस्ट मात्र रहेनन् । फार्मेसीको लेक्चरर पनि बने । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा उनी फार्मेसीको ‘भिजिटिङ Ïयाकल्टी’ पनि बने । उनले पढेको र अनुभव गरेका कुरा आÏनो उद्योगमा मात्र लगाएका छैनन् । सयौं विद्यार्थीलाई त्यो ज्ञान बाँडेर फार्मेसी क्षेत्रलाई थप व्यवसायिक र समृद्ध बनाउन ईँटा पनि थपेका छन् ।

यता आÏनो उद्योगको नियमित काम त छँदै थियो । पाँचवर्ष फर्मासिस्टका रूपमा काम गरेपछि व्यवस्थापनमा कमजोर भएको उनले महशुस गरे । ‘व्यवस्थापन बारे पढ्ने इच्छा जाग्यो । यो पनि समयकै माग थियो ।’ उनले भने । त्यसपछि पाण्डेले पोखरा विश्वविद्यालय अन्तर्गतको एस इन्स्टिच्यूट अफ म्यानेजमेण्टबाट एमबीए गरे । ती दिनहरू उनकै भाषामा स्वर्णीम दिन थिए । उनी कुशल फर्मासिस्ट बनिसकेका थिए । कुशल अध्यापक पनि बन्दै थिए । कुशल व्यवस्थापक बन्ने क्रम पनि एमबीएसँगै सुरू भैसकेको थियो । उनी बिहानै आइओएम बढाउन पुग्थे । दिनभर कार्यालयमा व्यस्त । साँझ फेरी एमबीएको कक्षा । उनी साह्रै बेफुर्सदी थिए ।

एकातिर फार्मेसीको ज्ञान अर्कोतिर व्यवस्थापन । त्यो ‘मिक्स्चर’ले उनको ओज थप बढ्दै गयो । त्यसपछि उनले कर्पोरेट एक्ज्युकेटिभका रूपमा फार्मेसी र व्यवस्थापनलाई सँगसँगै अगाडि बढाए । उनलाई समयक्रमले कुशल व्यवस्थापक पनि बनाएको छ । उनले एमबीएमा पनि बजारीकरणलाई प्रमुखता दिएर अध्ययन गरेका थिए ।

सन् २००० ताका लोमस फर्मास्युटिकल जम्मा १० करोड हाराहारीको कम्पनी थियो । प्रज्जवल नेतृत्वको टिम बजारविस्तार र व्यवस्थापनमा लागेसँगै आज लोमस फर्मास्युटिकलको पुँजी एक अर्बभन्दा बढीको भैसकेको छ । यो बीचमा लोमसलाई धेरैले गाउँगाउँ औषधि पुर्याउने कम्पनीको रूपमा बुझ्छन् । उनले यसलाई थप पुष्टि गर्दै भने ‘मलाई बुबाले कुनै दिन भन्नुभएको थियो । यो कम्पनी नेपालकै कम्पनी हो । यसकारण सर्वप्रथम हामीले नेपाल र नेपालीको विश्वास जित्नुपर्छ । हाम्रो कम्पनीको औषधि देशका सबै कुनाकुनाका फार्मेसीमा पाइन्छ ।’

सन् २०१६ सम्म बजार प्रवद्र्धन र विस्तारमा केन्द्रित भएका पाण्डेले आÏनो कम्पनीको औषधिलाई देशमा मात्र नभै अन्तरष्ट्रिय बजारमा पनि पु¥याए । लोमसका औषधि अहिले अफ्रिका र रसियासहित १०–१२ वटा देशमा निर्यात हुन थालिसकेको छ । लोमसले करिब ६ प्रतिशत अन्तराष्ट्रिय बजार ओगटीसकेको छ ।

प्रज्जवलले करिअर थाल्दाताका लोमसका करिब ३०–४० वटामात्र उत्पादन थिए । आज त्यो बढेर ३०० वटा नाघिसकेको छ । यसैवर्ष ५० वटा उत्पादन थप्ने कम्पनीको लक्ष्य रहेको पाण्डेले बताए । त्यसमा पनि विशेषप्रकारका औषधि उत्पादनमा कम्पनी लागेको छ । मुटुरोग, क्यान्सरलगायतका रोगको विशेषखालका औषधि निकाल्ने तयारीमा भइरहेको उनको भनाइ छ । उनले आपूmलाई सफलोन्मुख भएको बताए । ‘यो पनि सफलता नै हो । अझै धेरै काम गर्न बाँकी छ । म फर्मासिष्ट र व्यवस्थापक दुबै बन्न सकेको छु । जसले गर्दा मैले कम्पनीको उत्पादनलाई गुणस्तरीय बनाएर जनताको विश्वासमा आँच आउन दिएको छैन ।’ कम्पनीको यही विश्वसनीयताका कारण उत्पादन, नाफा र गुडवील कमाइरहेको उनको दावी छ ।

कुराकानीको अन्तिम चरणमा उनले गैरकानुनी रूपमा बजारमा पाइने औषधिलाई व्यवस्थित गर्न जोड दिए । उनले भने, ‘आज पनि नेपाली बजारमा २५ प्रतिशत भन्दा बढी दर्ता नभएका औषधि छन् । धेरै मानिसमा औषधि खाने तरिका थाहा छैनन् । फर्मासिष्टहरू विदेश पलायन हुन बाध्य छन् । देशमा उनीहरूलाई सहि भूमिकामा प्रयोग गरिएका छैन । सरकारले पनि यसमा ध्यान पु¥याओस् । ’

औषधि उद्योगीहरूको छाता संगठन नेपाल औषधि उत्पादक संघको कोषाध्यक्ष समेत रहेका पाण्डेले बिस्तारै निजी उद्योगको घेराबाट बाहिर उठेर समग्र औषधि उत्पादन, वितरण र प्रयोगमा गुणस्तर ल्याउन काम थाल्ने बताए ।

 

Last modified on 2017-09-06 07:03:34

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts