'साडीको' प्रयोग गरी हैजाबाट बचौं



Download our app to get more features

बाढीबाट प्रभावित क्षेत्रमा अहिले महामारी फैलन सक्ने अनुमान गरिदैछ र यो जायज पनि हो ।

तत्काल र केहि हप्तामा देखिन सक्ने सरुवा रोगहरूको बारेमा सोच्नु उपयुक्त पनि हुन्छ । यो वर्गीकरण ती रोगहरूको इन्कुभेसन समय (संक्रमण भएदेखि लक्षण देखिने समय) को आधारमा अनुमान लगाउन सकिन्छ । तत्काल देखिने रोगहरूमा झाडापखाला, टाइफाइड, जन्डिस, लेप्तोइसपाईरोसिस आदी पर्छन भने बाढी पहिरोको केहि समयपछि देखिने रोगहरूमा खासगरी कीटजन्य रोगहरू जस्तैं मलेरिया, डेंगु, स्क्रब टाइफस, कालज्वरो आदी पर्छन । यी रोगहरू यस मानेमा अनुमान गर्न सकिन्छ की यिनीहरू तराईका जिल्लामा यसै समयमा देखिने पनि गर्थे । यी सबै रोग मध्ये हैजालाई सबैभन्दा गम्भीर मानिन्छ । हैजा संक्रमण भएको केहि घण्टामै कडा झाडापखाला गराउँछ र  तुरुन्तै उपचार नपाए बिरामीको मृत्यु समेत हुनसक्छ ।

यदि हैजा फैलिए यसको महामारीलाई रोक्न झनै चुनौतिपूर्ण हुन्छ । हामीले भने जस्तो पानी उमालेर पिउने, फिल्टर गरेर सफा गर्ने सम्भावना अहिले बाढी प्रभावित क्षेत्रमा व्यवहारिक रुपले सम्भव देखिँदैन । अहिले हैजा देखिने सिजन पनि भएकोले बाढी पीडितहरूमा यसको सम्भावना उच्च छ । स्रोतसाधन पुग्न अझै केहि दिन वा हप्ता लाग्ने प्रष्ट छ । पुगिहाले पनि सबैसम्म पुग्न सक्छ भन्ने छैन । यस्तो समस्यासँग जुध्न छिमेकी देशमा बंगलादेश एउटा महत्वूर्ण काम भएको छ ।

प्रकोपको बेला कसरी सहज र सर्वसुलभ तरीकाले सफा खानेपानी पाउने र हैजाबाट बच्न सकिन्छ भनेर बंगलादेशमा एक अनुसन्धान भएको थियो । उक्त अनुशन्धानले एकदमै सजिलो, थप पैसा नलाग्ने र सामाजिक रुपमा पनि स्वीकार्य तथ्य सार्वजनिक गरेको छ । जुन हाम्रो समाजमा पनि उत्तिकै उपयोगी छ । महिलाले लगाउने साडीबाट पानी फिल्टर गरेर पिउदा हैजाबाट धेरै हदसम्म बच्न सक्ने अनुशन्धानको निश्कर्ष थियो । यो विभिन्न अन्तराष्ट्रिय मिडियामा पनि प्रसारण भइसकेको छ । ठीक यस्तंै गरी नेपालको बाढी प्रभावित क्षेत्रमा पनि हैजाको संक्रमणबाट बच्न सकिन्छ ।
 

कसरी गर्ने पानी शुद्धीकरण 
पानी शुद्धीकरणका लागि कटनको साडी सबै भन्दा उपयुक्त हुने अनुशन्धानले देखाएको छ । साडीलाई चार फोल्ड गरेर पानी छान्दा झन्डै ९९ प्रतिशत हैजाको ब्याक्टेरिया त्यहि साढीमा छानिएको थियो । दुई वा तीन फोल्ड गरे पनि यसको प्रभावकरितामा खासै फरक देखिएन । अझ कटनको पुरानो साडी झनै प्रभावकारी देखिएको थियो । यसरी फिल्टर गरेको पानी प्रयोगशालाबाट पनि परीक्षण गरी प्रमाणित गरिएको थियो । कटनको पुरानो साडी धेरै पटक धोएको हुनाले यसमा भएको प्वालहरू नरम, लुुज र अझ सानो भएकोले नयाँ भन्दा प्रभाबकारी देखिएको हो ।

नेपालमा पनि खासगरी तराईमा कटनको साढी लगाउने चलन छ । यसबाट अरु फोहोर चिजहरु पनि फिल्टर हुन्छ । साडीको प्रयोग गरी फिल्टर गरेको पानी प्रयोग गर्नेमा झाडा पखालाको कुनै लक्षण नै देखिएन । नेपालको बाढीपहिरो प्रभावित क्षेत्रमा पनि बंगलादेशमा जस्तैं गरी यो उपाय अपनाउन सके ठुलो धनजनको क्षतिबाट बच्न सकिन्छ । 

( डा. पुन   क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संयोजक हुन ) 

Last modified on 2017-08-31 17:39:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts