स्वास्थ्य निर्देशिका टेरेनन् विराटनगरका सरकारी डाक्टरले
सरकारी अस्पतालको नाममा निजीको मनोमानी
विराटनगर, १५ भदौ । सरकारी अस्पतालका नाम चलेका विशेषज्ञ डाक्टरहरूको नाम झुण्डाएर विराटनगरका निजी क्लिनिकहरूले बिरामीलाई आकर्षित गरिरहेका छन् । विशेषगरी विराटनगरस्थित कोशी अञ्चल अस्पतालका विशेषज्ञ डाक्टरहरूको नाम प्रायः निजी क्लिनिकको होर्डिङ्ग बोर्डमा देखिन्छ । यसरी खुलेयाम सरकारी अस्पतालका विशेषज्ञ चिकित्सक निजीमा काम गरिरहंदा पनि नियमनकारी निकाय भने मौन देखिन्छ ।
स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख डा. भोलामान श्रेष्ठले भने सरकारी अस्पतालमा कार्यरत कुनै पनि चिकित्सकले निजीमा काम गर्न नपाउने बताए । नियमविपरित काम गर्ने चिकित्सकलाई कारवाही हुने उनी बताउँछन् । तर, विराटनगरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक यसरी खुलेयाम निजीमा काम गरिरहेका छन् । उनीहरूलाई अहिलेसम्म न मन्त्रालयले कारबाही गरेको छ न त मन्त्रालय मातहतका कुनै निकायले कुनै स्पष्टिकरण नै लिन सकेको छ । विराटनगरका अधिकांश निजी क्लिनिकहरूले मन्त्रालयको निर्देशिकालाई धज्जी उडाएर सरकारी हस्पिटलकै विशेषज्ञ चिकित्सकको नाम राखेर व्यापार गर्दै आएका छन् ।
सरकारी अस्पतालमा कार्यरत चिकित्सवको नाम राखेर उपचार गर्ने निजी क्लिनिकहरू विराटनगरको हस्पिटल चोक वरीपरी बढी छन् । विराटनगरको हस्पिटल चोकमा रहेको न्यू अपेक्षा उपचार क्लिनिक, बिशाखा क्लिनिक, शिफा पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि., शिफा पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि., शुभम् हेल्थ केयर सेन्टर, न्यू ओम साई ल्याब एण्ड क्लिनिकले सरकारी अस्पतालको नाम चलेको चिकित्सवहरूको नाम राखेर उपचार गराउँदै आएको छ ।
मोरङमा ११८ क्लिनिक
जिल्ला जनस्वास्थ्य कार्यालय अनुमति लिएर मोरङमा एक सय ८२ क्लिनिकहरू सञ्चालनमा रहेको जनस्वास्थ्य कार्यालयको अभिलेखमा उल्लेख छ । जसमध्ये अनुमति लिएर सञ्चालनमा आएको क्लिनिकहरू विराटनगर महानगर क्षेत्रमा धेरै छन् । विराटनगर महानगरमा मात्रै १ सय ११ निजी क्लिनिक दर्ता भएको जनस्वास्थ्य कार्यालय मोरङका शाखा अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।
अब अनुगमन गर्छौ : जनस्वास्थ्य कार्यालय
अनुगमन गर्ने निकाय जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहताले निजी क्लिनिकहरूमा चाँडै अनुगमन गर्ने बताए । सरकारी अस्पतालका चिकित्सकको नाम बोर्ड राखेको पाइए हटाउन निर्देशन दिने उनको भनाइ छ । ‘बोर्ड राखेको पाइए एक पटक चेतवनी दिन्छौं,’ उनले भने, ‘नाम हटाउन नमाने स्थानीय प्रहरी प्रशासन बगाएर बन्द गर्छाैं ।’ जनस्वास्थ्य प्रमुख मेहताले निजी क्लिनिकलाई चेतावनी दिए पनि कार्यालयबाट करिब पाच सय मिटरको दुरीमा रहेको हस्पिटल चोकका कुनै पनि क्लिनिकले सरकारी चिकित्सकको नाम हालसम्म हटाएका छैनन् ।
मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजी हस्पिटल तथा क्लिनिकमा उपचार गराउन समेत मन्त्रालयको स्वीकृती लिनुपर्ने बताए । ‘क्लिनिकले होर्डिङ्ग बोर्डमा सरकारी हस्पिटलमा कार्यरत चिकित्सवको नाम राखेर उपचार गर्नु सरसार स्वास्थ्य निर्देशिकाको खिलाफ हो ।’ उनले भने, ‘त्यस्तो क्लिनिकलाई क्षेत्रिय जनस्वास्थ्यलाई अनुगमन गर्न निर्देशन दिनेछौं र प्रमाण फेला परेर कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउँछौं ।’