हड्डी फुटे अब 'बायोग्लासले' जोड्छ
शरीरका हड्डी भन्दा नी बलियो 'बायोग्लास'
बीबीसी, १२ भदौ । मानिसलाई चुस्तदुरुस्त र स्वस्थ बनाउन मेडिकल साइन्सले विभिन्न प्रयोग गरिरहेको छ ।
यस मध्ये पछिल्लो प्रयोग हो, बायोग्लास इम्प्लाण्ट । अर्थात टुटे फुटे तथा भाँचिएका हड्डी जोड्नमा काँच अर्थात सिसाको प्रयोग । सुन्नमा अलि अप्ठयारो लागे पनि चिकित्सकहरुले भाँचिएका हड्डी जोड्न बायोग्लासको प्रयोग शुरु गरेको धेरै भइसक्यो । यो काँच तपाई हामीले घरमा प्रयोग गर्ने जस्तो साधारण काँच भने होइन । यो विशेष खालको काँच हो जसको प्रयोग हड्डीहरू जोड्न र हड््डी मोडेर निश्चित आकार दिनमा गरिन्छ ।
यसको प्रयोगले इन्फेक्सन नहुने विज्ञहरूको दाबी छ । करिब १५ वर्ष पहिला प्रा.डा. इयान थोमस्ले आँखाका बिरामीमा बायोग्लासको सानो टुक्रा राखेर पहिलो प्रयोग गरेका थिए । त्यतिबेलै बायोग्लासले आँखाका बिरामीहरूलाई पूर्ण काम गरेको बीबीसीले जनाएको छ । यसपछि प्रा.डा. थोमस्को दिमागमा यो कुरा खेल्न थाल्यो की बायोग्लासलाई किन शरीरका अन्य भागमा प्रयोग नगर्ने ? केही समयपछि प्रा.डा. थोमस्ले करिब एक सय बिरामी जो कुनै घटनाका कारण शरीरका कुनै न कुनै हड््डी फुटेर उपचारका लागि आएका थिए उनीहरूमा बायोग्लासको प्रयोग गरे । उनका अनुसार बायोग्लास इम्प्लाण्टले शरीरमा जन्मजात भएको हड्डीले भन्दा पनि राम्रो काम गर्न गर्छ । बयोग्लासको महत्वपूर्ण विशेषता भनेकै सजिलै घुल्न सक्नु हो ।
हड्डी तथा मांशपेशीबीच राम्रो तालमेल
हाम्रो शरीरमा कुनै कारणले चोटपटक लागेमा उक्त स्थानमा ब्याक्टेरिया उत्पन्न हुने सक्छ । तर, बायोग्लासमा रहेको आयन नामक तत्वले त्यसलाई त्यहि तत्काल मार्ने काम गर्छ । यतिमात्र नभएर शरीरमा कोशिकाहरूलाई मजबुत बनाउनुका साथै, रोगप्रतिरोधात्मक क्षमतालाई पनि बढाइदिने चिकित्सकहरूको भनाई छ । बायोग्लास ‘इम्प्लाण्ट’ले शरीरलाई सजिलैसँग अपनाउने भएका कारण हड्डी तथा मांशपेशीबीच राम्रो तालमेल बन्ने गर्छ । यतिमात्र नभई नयाँ हड्डी बन्नमा समेत यसले सहयोग गर्ने गर्छ ।
बायोग्लासको आविष्कार सन् १९६९ मा अमेरिकी वैज्ञानिक लैरी ह्यान्कले गरेका थिए । उनले अनुसन्धानको शुरुवात अमेरिकाबाट गरे पनि पछि लण्डनसम्म पुगेर अनुसन्धानको दायरा फराकिलो पारे । बायोग्लास, आजभोली हड्डीको लागि मात्र प्रयोग नभएर दाँत उपचारमा पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ । बायोग्लासलाई सुरुको दश वर्षसम्म पाउडरका रुपमा प्रयोग गरिए पनि सन् २०१० पछि भने टूथपेष्टमा समेत यसको प्रयोग गर्न थालिएको छ । हामीले बायोग्लास मिसिएको टूथपेष्ट प्रयोग गर्यौं भने बायोग्लास तुरुन्त घुल्नसक्ने भएकाले टुटेफुटेका दाँत जोड्नमा समेत मद्दत गर्छ । साथै दाँत सफा र बलियो हुने चिकित्सकहरू बताउँछन् ।