बाढीपहिरो प्रभावित क्षेत्रमा यसरी गर्नुस् पानी शुद्धीकरण
यतिबेला तराईका अधिकांश जिल्ला बाढी र पहाडी जिल्ला पहिरोको चपेटामा छन् । प्राकृतिक बिपत्तीबाट जनधनको ठूलो क्षति त भइ नै सक्यो साथै बाढीपहिरोबाट मुस्किलले जोगिएकाहरू पनि स्वास्थ्य समस्याबाट जोखिममा पर्ने गरेका छन् । बाढीपहिरोलगायत प्राकृतिक बिपत्तीपछि देखिने विभिन्न प्रकारका रोगबाट पीडितहरू समस्या पर्ने गरेका छन् । यस्ता समस्या विशेषगरी असुद्ध पानीको प्रयोग हुने गरेका छन् । यस्तो परिस्थितिमा प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी पाउन पनि मुस्किल हुन्छ । साथै त्रसित र पीडाको बेलामा उनीहरूमा सावधानी अपनाउने होस पनि हुँदैन । तर, दुषित पानी नै अधिकांश रोगको मुहान भएका कारण जुनसुकै अवस्थामा पनि सचेत रहनु पर्ने चिकित्सहरूले सुझाब छ । चिकित्सकहरूले यस्तो बेलामा पानी सुद्धिकरण गर्ने केही सरल उपाय सुझाएका छन् ।
- पानीलाई उमाल्ने : उमालेर मात्रै पानी पिउने विधी सबैभन्दा उत्तम हो ।
- फिल्टर गर्ने : पानीलाई फिल्टरको माध्यमले शुद्धीकरण गरेर पिउन सकिन्छ ।
- केमिकलको प्रयोग : क्लोरिनलगायत केमिकलको प्रयोगबाट पनि पानी शुद्धीकरण गर्न सकिन्छ । बजारमा पीयूष, वाटरगार्ड लगायतका केमिकल पानी शुद्धीकरणको निम्ति पाइन्छ ।
- सोडिस विधी : पानीलाई घाममा राखेर गरिने पानी शुद्धीकरणलाई सोडिस विधी भनिन्छ । यसका निम्ति पानीलाई सफा बोत्तलमा चर्काे घाम लागेको दिन ६ घन्टा र बादल लागेको दिन २ दिनसम्म राखेर पानी शुद्धीकरण गर्न सकिन्छ ।
ख्याल गर्नुपर्ने अन्य कुराहरू
- हात धुने : दिशा–पिसाब गरिसकेपछि, खाना पकाउनु र खानु अघि साबुनपानीले मिचीमिची हात धुने ।
- सफा खाना खाने : खानालाई छोपेर राख्ने र झिंगाबाट बचाउने । काँचै खान मिल्ने काक्रो, मुला, सलाद आदिलाई सफा पानीले पखालेर मात्र खाने ।
- घरवरीपरीको वातावरण सफा राख्ने : घरवारीपरीको वातावरण सफा राख्ने । चर्पी र घरको निश्चित दुरी कायम गर्ने । पानी जम्ने खाल्डाखुल्डी पुर्ने ।
- सर्पदंशबाट बच्ने : बाढी र भेल आएको ठाउँमा विषालु सर्पहरू फैलने सम्भावना हुन्छ । त्यसैले सर्पको टोकाइबाट बच्न विषेश सावधानी अपनाउने ।
प्राकृतिक प्रकोपमा देखिने स्वास्थ्य समस्याहरू
बाढीपहिरोलगायत प्राकृतिक प्रकोप प्रभावित क्षेत्र र वर्षायाममा पानीजन्य संक्रमण देखिने र फैलने सम्भावना बढी हुन्छ । पानीजन्य संक्रमणबाट देखिने समस्या यस्ता छन ।
- झाडापखाला
- हैजा
- आँउ
- टाइफाइड
- हेपाटाइटिस ए, इ आदि ।
कसरी फैलन्छ सक्रमण
दुषित पानी वा खानाको माध्यमले संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा सर्न सक्छ । संक्रमित मानिसको दिसाबाट उक्त रोगका किटाणु पानी वा अन्य खाद्य वस्तुमा मिसिन्छ । स्वस्थ मान्छेले पानी वा खाद्यन्न प्रयोग गरेमा संक्रमित हुनसक्छ । यस्ता किटाणुहरू पानी तथा खानामा लामो समयसम्म जीवितै बस्ने हुँदा संक्रमण एक व्यक्तिबाट अन्यमा फैलिने संभावना धेरै हुन्छ ।
लक्षणहरू
लक्षणहरू रोग अनुसार भिन्न भिन्न हुन सक्छन । यद्यपि, निम्न समस्या देखिए संक्रमणको आसंका गर्न सकिन्छ ।
- झाडापखाला लाग्ने
- वान्ता हुने
- पेट दुख्ने
- ज्वरो आउने
- खाना मन नलाग्ने
- आँखा गड्ने
- तिर्खा लाग्ने र मुख सुख्खा हुने
- तौल घट्ने
परिवार वा छिमेकमा कसैलाई झाडापखाला, वान्ता हुने समस्या देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा पु¥याउनु पर्छ । बिरामीबाट संक्रमण अरुमा सर्न नदिन विशेष सावधानी अपनाउनु जरुरी हुन्छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>