गुपचुपमै काठमाण्डौ नेशनललाई सम्बन्धनः यस्तो छ, त्रिवि, आइओएम र केसीको प्रष्टोक्ति
काठमाण्डौ, ४ भदौ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले राजधानीको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको खुल्न आएपछि मेडिकल क्षेत्रमा यसले तरंग मच्चाइदिएको छ ।
प्रा. डा. गोविन्द केसीको माग र उनीसँग भएका सम्झौता विपरित ११ औं अनशनकै बीचमा कलेजलाई सम्बन्धन दिइएको हो । २० दिनअघि त्रिवि कार्यकारी परिषद्ले सर्वोच्च अदालतले पटक पटक ताकेता गरेपछि सम्बन्धन दिन बाध्य भएको त्रिविकी शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले बताइन् । उनले अदालतको पटकपटकको ताकेतालाई बेवास्ता गर्दा अन्त्यमा मानहानीको मुद्दा पर्ने भएपछि सम्बन्धन दिने निर्णय गरेको दाबी गरिन् ।
केसीसँग भएका सम्झौता विपरित काठमाण्डौ नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय किन गरियो ? त्रिवि रेक्टर डा. सुधा त्रिपाठी यसो भन्छिन्ः
सर्वोच्च अदालतले सम्बन्धन दिनू भनि ६ पटक ताकेता गर्यो । विवादित विषय हो भनि हामीले चुप लागेर बसेका थियांै । तर, सर्वोच्च अदालतले अवहेलना गरेको भन्दै मानहानी मुद्दा हाल्ने भन्दै अन्तिम चेतावनी हो भनेर कडा चिठी पठायो । त्यसपछि प्रकृयामा रहेको भन्दै पत्र पठाई मुद्दा हाल्ने बाट रोक्यौं । सर्वोच्चको ताकेता भएपछि हामीले किन रोक्ने भनेर कार्यकारी परिषद्ले सम्बन्धन दिने निर्णय गरेको हौं । विवाद भइराखेको कुरा हो भनेर सकेसम्म टारेका हांै । हामीले दिन चाहेको भए पहिलो ताकेता मै दिने थियौं । ६ महिनासम्म कुनै पर्ने थिएन ।
बाहिर किन यो विषय ढिला सार्वजनिक भयो यो मलाई थाहा भएन । थाहा पाउने सम्बन्धित व्यक्तिले थाहा पाएका थिए ।
आइओएमकै डीनलाई थाहा रहेनछ नि ?
आइओएमका डिनको कुरा छोडौं उनका कुरा के कति हामीलाई थाहा छ भनांैला, हाम्रो कुरा उनले भन्लान यो कुरा छोडौं । उनलाई कर्मचारीले पत्र पठाउनु पर्ने हो । हामीले निर्णय गर्यौं कर्मचालीले पठाए होलान पठाए या पठाएनन् कर्मचारीको फलो गरेर बस्न हामी भ्याउँदैनौं । हाम्रो काम निर्णय गर्ने हो, कार्याकारीबाट गर्यांै । आइओएमलाई पत्र कहिले पठाए हामीले बुझ्नु पर्छ ।
सर्वोचले आदेश दियो भने हामी अरुलाई पनि सम्बन्धन दिने हो । सर्वोच्चसँग लड्ने हाम्रो ताकत छैन । तर हामीले अरुलाई पनि सहजै ढगंले दिने भन्ने होइन । प्रकृया पुरा गरेर आउनुपर्छ ।
आइओएमलाई थाहा छैन
डिन, प्रा.डा. जगदिशप्रसाद अग्रवाल, आइओएम
त्रिविले गरेको निर्णय अहिलेसम्म आईओमलाई केही पनि थाहा छैन । त्रिवीले कुनै पनि जानकारी गराएको छैन । हामीलाई कुनै पत्र प्राप्त भएको छैन । के भएको थाहा पनि छैन । पत्रपत्रिका मार्फत मात्र थाहा पाएको छु । अबको प्रकृया के हुन्छ उहाँहरुले नै जवाफ दिनु पर्छ । हामीले पहिला नै सम्बन्धन दिन सक्दैनौं भनेका थियांै । नेपाल सरकारको निर्णय पनि अहिले सम्बन्धन नदिने भन्ने हो । विद्यापरिषद्को पनि नदिने भन्ने पुरानै निर्णय हो । अहिलेसम्म भएको निर्णय सम्बन्धन नदिने नै हो । यो म आउनु भन्दा पहिला कै निर्णय हो । म आएपछि केही निर्णय भएको छैन ।
निर्णय खारेज नभए अर्को सत्याग्रह
प्रा.डा. गोविन्द केसी
त्रिविको यो निर्णय गैरकानूनी रुपमा आएको छ । पहिलादेखि हामीले सरकारसँग गरेको सम्झौता सम्बन्धन नदिने भन्ने विषयको विपरीत आएको छ । सँगसँगै जयराम गिरी र माथेमा प्रतिवेदनमा उपत्यकामा सम्बन्धन नदिने भन्ने छ । यो गैरकानुनी रुपमा दिइएको छ । अदालतको पत्रको अपब्याख्या गरिएको हो । अदालतने सम्बन्धन दिनू भनेको होइन् । अदालतले नियम अनुसार यसको छिटो निर्णय लिनुस् भनेको हो । त्रिविले उक्त पत्रलाई बङ्गाएर निर्णय गरेको छ । यो निर्णय तुरुन्तै खारेज हुनुपर्छ । खारेज नभए अर्को सत्याग्रह सुरु गर्छु ।
1 Comments
-
डा.गोबिन्द केसीको ११चोटिअनसन बस्दा त मेडिकल काफिया अदालतलाई आफ्नो प्रलोभन पारेर हो या त्रि.बि.लाई बसमा पारेर हो फेरि सम्बधन दिइएको कुरा संचारमा आइरहेको छ।यो कस्तो दु:खद कुरा हो ।के याहा अहिन्साको आवाज नसुन्ने बन्दुकको आवाज मात्र सुनिने हो या हामी जस्ताले बुझनु पर्ने धेरै कुरा बांकी छ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>