बाढी प्रभावित क्षेत्रमा औषधि अभाव
‘क्षेत्रीय निर्देशनालयबाट औषधि मगाइसकेका छौ’
काठमाडौं, २ भदौ । स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा औषधि अभाव नरहेको दावी गरे पनि तराईका केही जिल्लामा औषधि अभाव देखिन थालेको छ । स्वास्थ्य संस्थाहरूमा औषधि त छ तर अधिकांश औषधि बाढीमा डुबेकाले काम नलाग्ने भएपछि अभाव श्रृजना हुन लागेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका अनुसार बाढीले ७० प्रतिशत औषधि भिजेको छ । कार्यालयको मुख्य स्टोरमा पानी पस्दा त्यहाँको ७० प्रतिशत औषधि भिजेको छ । कार्यालय प्रमुख डा. नागेन्द्रप्रसाद यादवका अनुसार बाँकी ३० प्रतिशत औषधिबाट काम चलाइरहेको छ । ‘तत्कालका लागि बाँकी रहेको औषधिबाट काम चलाएका छौ, तर जीवन जललगायतका औषधि भिजेका कारण कुनै पनि प्रकोप देखिए समस्या पर्न सक्छ ।’ उनले भने । औषधि भिजेका कारण क्षेत्रीय निर्देशनालयबाट औषधि मगाइसकेको डा. यादवले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. चुमनलाल दासले भने सबै स्वास्थ्य संस्थामा जीवन जल, क्लोरिन चक्की, जिङ्क चक्की पुगिसकेको बताए । उनले भने ‘अहिलेको अवस्थामा एक महिनासम्म पुग्छ तर, कुनै पनि प्रकोप देखिएमा केही समस्या हुन सक्छ ।’
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाका अनुसार सर्लाही, चितवनलगायतका जिल्लामा पानी शुद्धीकरण गर्ने क्लोेरीनको अभाव रहेको छ । जिल्लामा रहेको स्टक स्वास्थ्य संस्थाहरूमा पठाएको हुँदा क्लोरीन अभाव भएको क्षेत्रीय निर्देशक डा. वासुदेव पाण्डेले बताए । उनका अनुसार अभाव भएका स्थानमा औषधिहरु पठाएको र केन्द्रबाट समेत थप माग गरिएको छ । उनले भने ‘बाढीबाट धेरै प्रभावित रौतहटका स्वास्थ्य संस्था शुक्रबारबाट सञ्चालनमा आएका छन् ।’ बाढीग्रस्त क्षेत्रका स्वास्थ्य संस्थाका केही कर्मचारी सम्र्पकमा नआएको हुँदा उपचारमा कठिनाई भएको डा. पाण्डेले बताए । उनले भने ‘अन्य स्वास्थ्य संस्थाका कर्मचारी परिचालन गरी आजबाट सञ्चालनमा ल्याएका छौं ।’
१० स्वास्थ्यकर्मीमाथि कारबाही
बाढीपछि सम्पर्कमा नआएका सर्लाहीका १० स्वास्थ्यकर्मीलाई कारबाहीको लागि सिफारिस गरेको क्षेत्रीय निर्देशक डा. बासुदेव पाण्डेले बताए ।
कारबाहीका लागि सिफारिस भएका स्वास्थ्यकर्मीहरूमा अञ्चलागण प्राथमिक स्वास्थ्य केन्द्रका डा. बीरेन्द्रकुमार यादव, डा. निश्चल शर्मा, अनमी सुस्मिता अधिकारी, बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रका डा. सञ्जीवकुमार यादव, डा. सरोज, हेल्थ असिस्टेन्ट सत्यनारायण यादव डुमरिया स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट नागेन्द्रकुमार साह, जनस्वास्थ्य निरीक्षक जयबहादुर महतो, अनमी रोशना खातुन, अहेव रामकृपाल राउत छन् । कारबाहीमा पर्ने सबै स्वास्थ्यकर्मी सर्लाहीका हुन ।
औषधि अभाव छैन : मन्त्रालय
बाढीपहिरो प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हल्ला चले पनि सत्य नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाँच वटै क्षेत्रीय स्वास्थ्य निर्देशनालय तथा केन्द्रमा औषधि मौजुदा रहेको मन्त्रालयको चिकित्सा सेवा महाशाखाका डा. भोलाराम श्रेष्ठले बताए ।
मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको संयोजकत्वमा विपत् व्यवस्थापन समिति छ र जिल्ला जनस्वास्थ्य कार्यालयले सोही समितिमार्फत स्वास्थ्यकर्मी परिचालन गरिरहेको डा. श्रेष्ठले बताए । उनले बाढी प्रभावित क्षेत्रका सबै स्वास्थ्य संस्था क्रियाशिल रहेको पनि जनाए । मन्त्रालयबाट गएको र्यापिड रेस्पोन्स टिमले समस्या परेको स्थानमा तत्काल पुगि सेवा प्रदान गरिरहेको उनको भनाई छ ।
मन्त्रालयको जोड बिरामी हुनै नदिने
महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठका अनुसार मन्त्रालयले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई बिरामी पर्नै नदिने गरी काम गरिरहेको छ । यसका लागि प्रभावित क्षेत्रमा मन्त्रालयको नेतृत्वमा खाना, पिउने पानी र बासस्थान बारे जनचेतनामूलक कार्यक्रमलाई जोड दिएको डा. श्रेष्ठले बताए । डा. श्रेष्ठले भने ‘पानीजन्य संक्रमणबाट बच्न क्लोरीनको प्रयोग गरेर पानी शुद्धीकरण गर्ने गरेका छौ ।’ खानेपानी तथा सरसफाई मन्त्रालयले सम्बन्धीत निकायहरूसँग समन्वय गरेर क्लोरीनसहित राहत समाग्री पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘महामारीको सम्भावना छैन’
बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म महामारीको संभावना नरहेको मन्त्रालयले जनाएको छ । साउन भदौ महिनामा ती क्षेत्रमा अघिल्ला वर्ष पनि झाडापखालाका केही बिरामी देखिएकाले यसलाई महामारीकोे सम्भावनाको रुपमा लिन नहुने डा. भोलाराम श्रेष्ठले बताए । स्वास्थ्य मन्त्रालयले अन्य मन्त्रालयसँग सहकार्य गरी महामारी आउन सक्ने सम्भावनालाई रोक्न काम गरिरहेको जनाएको छ ।
महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मी सक्षम
सम्भावित महामारी नियन्त्रणका लागि बाढी प्रभावित क्षेत्रका सबै स्वास्थ्य संस्थामा औषधिसहित चिकित्सक, स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य संस्थाहरूमा जीवन जल, स्लाईनपानीलगायत सबै प्रकारका औषधि प्रशस्तै रहेको डा. भोलाराम श्रेष्ठले बताए ।
राहतसँगै जनचेतना
मन्त्रालयले राहत वितरणसँगै प्रभावित क्षेत्रमा पानीजन्य रोग नियन्त्रणका लागि जनचेतानामुलक कार्यक्रम गरिरहेको छ । साथै स्थानिय सञ्चार माध्यमबाट स्थानिय भाषामा सजग रहन सूचना समेत प्रभाह गर्दै आएको छ ।
सात दिन निःशुल्क उपचार
बाढीबाट प्रभावित क्षेत्रका सरकारी स्वास्थ्य संस्थालाई सात दिन निःशुल्क उपाचार सेवा दिन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले तीन दिन निःशुल्क उपचार गर्ने निर्णय गरे पनि सबै क्षेत्रमा सात दिन निःशुल्क सेवा दिन पत्रचार गरेको डा. भोलाराम श्रेष्ठले बताए । उनले भने ‘विपत्को बेला कोही पनि उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उदेश्यले निःशुल्क सेवा दिने निर्णय गरेको हो ।’
प्रभावित क्षेत्रमा स्वास्थ्यका पाँच टिम सक्रिय
स्वास्थ्य मन्त्रालयबाट बाढी प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको पाँच टिम खटिएका छन् । उनीहरूले मोरङ्ग, लाहान, जनकपुर, बाँके र रौतहटमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । उनीहरूले विशेषगरी सुत्केरी, बालबालिका, वृद्धवृद्धा, र असक्तहरूलाई सेवा दिइरहेका छन् ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>