बाढी पहिरोको समयमा यी सरुवा रोगहरूको जोखिम बढी
पानी जन्य रोगहरुको जोखिम बाढीको समयमा उच्च हुने गर्दछ । यो समयमा चाहेर पनि पुर्बतयारी वा बच्ने उपायहरु अपनाउन बाढी पीडितहरुलाई सजिलो हुने छैन । तसर्थ सहयोगी संस्थाहरुले नै खानेपानी उपलब्ध गराउँदा नै विशेष ध्यान पुर्याउनुपर्दछ । यधपी, बाढी पीडितहरुले पनि सकेसम्म बच्ने उपायहरु अपनाउनु पर्दछ। यो समयमा यी सरुवा रोगहरुको बढी जोखिम हुने गर्दछ।
- झाडापखाला
- हैजा
- जन्डिस
- टाइफाईड
- लेप्टोस्पाईरोसिस
- स्वाइन फ्लु (एच वान ए वान फ्लु)
- छालाका रोगहरु
- फुडपोइजनिंग
झाडापखालाः तारन्तार पातलो दिसा ३ पटक भन्दा बढि २४ घण्टामा देखापरे झाडापखाला लागेको बुझ्नु पर्दछ । यो सामान्य देखि कडा हुनसक्दछ । जीवन जलले मात्र नभए तुरुन्त स्वस्थ्यकर्मीको सहयोग लिनुपर्छ ।
हैजाः नेपालमा यो समयमा हैजा पनि देखिने भएकोले सतर्क रहनु जरुरी हुन्छ । हैजा देखिए व्यापक रुपमा फैलने र तुरुन्तै उपचार नपाए बिरामीको मृत्यु समेत हुन सक्दछ । सरकारले झाडापखाला वा हैजा देखे द्रुत गतिमा निदान गरि फैलनबाट रोक्नु पर्दछ ।
जन्डिसः यो हेपाटाइटिस ए र इ भाइरसको कारणले हुने गर्दछ। संक्रमित पानीबाट सहजै सर्ने भएकोले पानीको सफाईमा नै विशेष ध्यान पुराउनु पर्दछ। ज्वरो आउने, थकाई लाग्ने, वाक वाक लाग्ने, बान्ता हुने, पेट दुख्ने, कालो पिसाब हुने, खैरो दिसा हुने र आखाको सेतो भाग पहेलो हुने आधी सुरुका लक्षणहरु हुन्। कुन हेपाटाइटिसको कारणले जन्डिस भएको हो भनेर छुटाउन सके बिरामीको जटिलताको बारेमा थाहा पाउन सकिने छ। हेपाटाइटिस इ खासगरी गर्भवती महिलाहरुको लागि जटिल हुने गर्दछ र यसको मृत्युदर पनि उच्च झन्डै ३० प्रतिशत जति रहेको पाहिन्छ।
टाइफाईडः नेपालमा हरेक वर्ष गर्मि र वर्षातमा यो रोग देखिने गर्दछ । पानीबाट सजिलै सर्ने भएकोले सतर्कता अपनाउनु पर्दछ । उच्च ज्वरो आउनु, कम्जोर हुनु, पेट दुख्नु, खान मन नलाग्नु, कब्जियत हुनु आदि यसका लक्षणहरु हुन् । यो तीन चार हप्ता सम्म रहन सक्दछ । आन्द्रामा प्वाल पर्नु यसको मुख्य जटिलता हो ।
लेप्टोस्पाईरोसिसः यो खास गरी मुसाको पिसाबबाट सर्ने गर्दछ । यो ब्याक्टेरिया नाक, मुख, आँखा वा छालामा घाउ भए, वा संक्रमित पानी पिए यो रोग सर्न सक्दछ । उच्च ज्वरो आउनु, जिउ दुख्नु, बान्ता हुनु, आखा रातो हुनु, जन्डिस देखिनु, पेट दुख्नु आधी हुने गर्दछ भने रोग जटिल भए कलेजो र मृगौला मा असर गर्ने गर्दछ जसलाई ह्विल्स डिजिज भन्ने गरिन्छ ।
स्वाइन फ्लु (एच वान ए वान फ्लु): बाढी आउनु भन्दा अगाडीसम्म यो फ्लुको व्यापक असर देखिएको थियो । तसर्थ यो अहिले पनि रोकी सकेको छैन । बाढी पिडित र सहयोगीहरु एकत्रित हुँदा यो एक अर्कामा सर्ने र सार्ने सम्भावना व्यापक हुने हुन्छ । उच्च ज्वरो, खोकी, घाटी दुख्ने र श्वास फेर्न गारो परे तुरुन्त स्वास्थ्यकर्मीसँग परामर्श लिनु पर्दछ ।
छालाका रोगहरुः मर्ने सम्भावना नभए पनि छालाको रोगले दुख भने दिन सक्दछ । केहि देशहरुमा बाढी आउदा बढि मात्रामा छालामा फंगल र ब्याकटेरिअल संक्रमण बढि हुने गरेको अनुसन्धानहरुले देखिएका छन् । यी छालाका रोगहरु नेपालमा अहिले बाढीको समयमा बढि देखिने सम्भावना भएकोले छाला सम्बन्धि समस्या आउने बितिकै स्वास्थकर्मीलाई भेटि उपचार गर्नु पर्दछ। लुतो देखिए अरुलाई पनि सर्न सक्ने भएकोले विशेष ध्यान पुराउन जरुरी हुन्छ ।
फुडपोइजनिंगः खासगरी सामुहिक रुपमा खान खादा खान संक्रमित भए फुडपोइजनिंग हुन् सक्दछ। बाढीको समयमा धेरै मानिसहरु संगै खानु पर्ने बाध्यता हुने भएकोले फुडपोइजनिंग को समस्या आउन सक्दछ। खाना खाएको केहि घण्टामा नै वाकवाक लाग्ने, बान्ता हुने र पानी जस्तो पखाला लाग्ने, ज्वरो आउने यसका मुख्य लक्षणहरु हुन्। सामान्यत आफै ठिक हुने भएता पनि कसै कसैलाई कडा हुन् सक्दछ। यो खासगरी ब्याक्टेरिया, भाइरस आधिका कारणले हुने गर्दछ। बिशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घ रोगीहरुलाई जोखिम हुने गर्दछ।
यी रोगहरु सबै खासगरी दुषित पानी पिउन बाध्य हुने भएकोले लाग्ने गर्दछ। तसर्थ सफा खानेकुरा, शुद्ध र सुरक्षित पानी उपलब्ध प्रयोग गर्न सके पानी जन्य रोगहरुको हुनसक्ने महामारीबाट बच्न र बचाउन सकिने छ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>