'स्तनपान' नवजात शिशुको अधिकार हो

शन्दर्भः बिश्व स्तनपान सप्ताह 



Download our app to get more features

 सन् १९९२ देखि नेपालसहित विश्वभर विश्व स्तनपान सप्ताह कार्यक्रम मनाइदै आइएको छ ।

नेपालका विभिन्न अस्पताल, स्वास्थ कार्यालय, जनस्वास्थ कार्यालयमा ‘सबै मिली स्तनपानलाई दिगो बनाऔँ’ भन्ने नाराका साथ १७ देखि २३ साउनसम्म विश्व स्तनपान सप्ताह सञ्चालन भएको छ । स्तनपानको महत्वबारे सचेत गराउन, शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउन जोड दिन र सुनौला हजार दिन अन्तर्गतका आमाहरूलाई स्तनपान नगराउनुका बेफाइदालगायत विषयमा जनचेतना दिन कार्यक्रम आयोजना गरेको स्वास्थ बिभाग तथा स्वास्थ शिक्षा सूचना तथा संचार केन्द्रले जनाएको छ ।

सन्तुलित आहारको कमीले बालबालिकामा हुने कुपोषण रोक्न सुनौला हजार दिन अन्तर्गत पर्ने आमाहरूलाई स्तनपान बारे ज्ञान दिन यस सप्ताहले महत्वपूर्ण भूमिका निभाउदै आएको छ । स्तनपान नवजात शिशुको लागि एकमात्र सर्वोत्तम आहार हो र स्तनपान नवजात शिशुको पहिलो खोप पनि हो । यसले शिशुलाई पोषण दिने मात्र नभई उसको शारीरिक, मानसिक वृद्धिमा पनि बिशेष भूमिका खेल्छ । विश्व स्वास्थ संगठनका अनुसार शिशु जन्मेपछिको पहिलो एक घण्टामै स्तनपान गराउनु सबै भन्दा उपर्युक्त समय मानिन्छ । किनकी यो समयमा शिशु जागरुक हुनुका साथै यति बेलै आउने बिगौती दुधमा अत्यधिक पौष्टिक तत्व हुन्छ । जन्मनासाथ स्तनपान गराउदा आमाको स्तनमा अझ धेरै दुध उत्पादन हुन्छ ।

शिशु जन्मेलगत्तै विभिन्न कारणले शिशुको तापक्रम घटेर हुने निमोनिया जस्ता रोगको सम्भावना पनि न्यून हुन्छ । आमाले तत्तकाल स्तनपान गराए आमा र शिशुको छालाको स्पर्शले शिशुको तापक्रममा सन्तुलन कायम गर्छ । आमाले सुत्केरी अवस्थाको पहिलो घण्टादेखि नै स्तनपान गराए आमाको पाठेघरबाट हुने रक्तश्राब पनि कम हुने अध्ययनहरूले देखाएको छ ।

नेपालमा स्तनपानको अवस्था 
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले हालै सम्पन्न गरेको सर्वेक्षण अनुसार ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान गराउदैनन् । सन् २०१६ को सरकारी तथ्यांक अनुसार ६६ प्रतिशत महिलाले मात्र सन्तानलाई पूर्ण रुपमा स्तनपान गराउछन् । शिशु जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने महिलाको संख्या भने ५५ प्रतिशत छ । बच्चा जन्मेदेखि एक महिनाभित्र स्तनपान गराउने महिला ७९ दशमलब ६ प्रतिशत, २ देखि ३ महिनासम्म स्तनपान गराउने ७२ दशमलब २ प्रतिशत, ४ देखि ५ महिनासम्म स्तनपान गराउने ४० दशमलब ९ प्रतिशत, ६ देखि ८ महिनासम्म स्तनपान गराउने ६ प्रतिशत रहेका छन् ।
यस्ता छन् स्तनपानका उपयुक्त तरीका :
विश्व स्वास्थ्य संगठनको स्तनपान गराउने केही तरीका बारे सुझाब दिएको छ । 

  • शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनु पर्छ ।
  •  शिशु जन्मेदेखि ६ महिनाको नहूँदासम्म आमाको दूधमात्र खुवाउनुपर्छ । 
  • शिशु ६ महिनाको हुँदादेखि दुई वर्षसम्म अन्य खानाको साथमा आमाको दूध पनि अनिवार्य खुवाउनु पर्छ । 

बिभिन्न सामाजिक परम्परा, संस्कारले गर्दा पनि नेपालका कतिपय समाजमा शिशु जन्मने बितिकै आमाको बिगौती दुध नखुवाउने चलन छ । आमाको बिगौती दुधमा बच्चालाई आवश्यक पर्ने प्राकृतिक प्रतिरक्षाका तत्वहरू हुने भए पनि जनचेतनाको कमीले कतिपय आमाले बिगौती दुध चुसाउदैनन् । 
सन् २०१० मा अमेरिकी अन्तरराष्ट्रिय विकास संस्था (ग्क्ब्क्ष्म् )ले गरेको एक अध्ययन अनुसार नेपालमा औसत ३० महिनासम्म आमाहरूले स्तनपान गराउँछन् । छोरीलाई भन्दा छोरालाई बढी समय स्तनपान गराउनले गरेको उक्त अध्ययनले देखाएको छ । 
स्तनपान गराउँदा आमालाई के फाईदा
स्तनपान नै आमा र बच्चाको सुमधुर सम्बन्ध स्थापित गराउने प्राकृतिक माध्यम हो । जसबाट बच्चा र आमा दुवैले माया, स्नेह साटासाट गर्छन । साथै स्तनपानले आमाको स्वास्थमा निम्न फाइदा हुने अध्ययनहरूले देखाएको छ ।

  • गराउँदा पाठेघर सामान्य अवस्थामा फर्कन मद्दत  गर्छ ।
  • स्तनपानले आमाको महिनावारी सन्तुलन गराउँछ ।
  • स्तनपानले प्रसूति अवस्थामा भएको रक्तश्रावलाई कम गर्छ ।
  • स्तनपानले डिम्बाशयमा हुने क्यान्सरको सम्भावना कम गर्छ ।
  • स्तनपान गराउँदा शिशुले आमाको स्नेह र न्यानोपनको महसुश गर्छ, जसले गर्दा बच्चा र आमाको सम्बन्ध प्रगाढ बनाउँछ ।
  •  स्तनपानले आमालाई प्राकृतिक परिवार नियोजनको काम गर्छ ।
  • शिशु जन्मेको ६ महिनासम्म नियमित स्तनपान गराउने हो भने आमाको लागि प्राकृतिक परिवार नियोजनको काम गर्छ 

स्तनपानबाट बच्चालाई हुने फाईदा 

  • स्तनपान नवजात शिशुको अधिकार हो । यसले शिशुलाई अमृतको काम गर्छ । भनिन्छ बच्चाको पहिलो खोप नै बिगौती दुध हो । जसबाट बच्चाले प्राकृतिक प्रतिरक्षाआर्जन गर्छ । स्तनपानले निम्न कुरामा सहयोग गर्छ । 
  • स्तनपानले बच्चालाई विभिन्न रोगबाट बचाउँछ ।
  • स्तनपान गराउँदा बच्चालाई जलबियोजन हुने सम्भावना न्यून हुन्छ र झाडापखालाबाट पनि बचाउँछ ।
  • स्तनपानबाटै शिशुले ५ महिनासम्म चाहिने सबै प्रकारको पौष्टिक तत्व प्राप्त गर्छ ।
  • स्तनपान शिशुको शारीरिक र मानसिक बिकासको लागि एक महत्वपूर्ण तत्व हो  ।
  • बच्चाको दाँतको विकासका साथै अन्य शरीरिक विकासको लागि स्तनपान महत्वपुर्ण छ ।
  • बिगौति दुधले शिशुको रोग प्रतिरोधात्मक शक्ति बढ्छ ।

यसरी बढाउन सकिन्छ स्तनपानको दर
यसैले नवजात शिशुलाई स्तनपान गराउने संख्यामा उलेख्य बृदी गर्नु पर्ने अहिले को लागि  महत्वपुर्ण छ । अशिक्षा, चेतनाको कमी, सामाजिक चलनका कारण पनि विश्व स्वास्थ्य संगठनले तय गरेका स्तनपान सम्बन्धि सूचकांकहरूमा नेपालले सोचे जस्तो प्रगति गर्न सकेको छैन । साथै आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण, नियन्त्रण ऐन २०४९ ) ले तय गरेका नीति नियमहरूको प्रभावकारी कार्यान्वयन नभएको कारण पनि स्तनपानको दरमा उलेख्य प्रगति नभएको अनुमान गर्न सकिन्छ । साथै कार्य क्षेत्रमा स्तनपान कक्ष, सुत्केरी बिदामा वृद्धी र स्तनपानमा घरपरिवारको प्रेरणादायी भूमिकाले पनि स्तनपान गराउने आमाको संख्या वृद्धि गर्न सकिन्छ ।

लक्ष्मण भट्ट – तथ्यांक ब्यवस्थापन तथा समन्वय अधिकृत एमडीएम (फ्रान्स) 
 

Last modified on 2017-08-08 15:00:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts