‘हामीले १५ वर्षमा आमा भइसक्नुपर्छ’ 



Download our app to get more features

प्रभा (नाम परिवर्तन) १४ वर्षकी भइन् । उनकी हजुरआमालाई अब नातिनीको बिवाहको चिन्ताले दिनैपिच्छेले टाउको दुख्न सुरु भइसकेको छ । एक साँझ उनको घरमा पाहुन लाग्दै गर्दा हजुरआमाले हामीसँग यसरी गुनासो पोखिन् ‘आप जानते हो ना सर/मिस, उन लोगोको लैका सें हमरी प्रभाकी शादीकी बात चलरहि हंै, लड्का पुरा एसएलसी पास बा ।’ उनले अध्यारो अनुहार बनाउदै थपिन् ‘दहेज में एगो मोटरसाइकील औंर सवा पाँच लाख मगा हैं । हम इतना गरिब लोग बाटे कैसे देसकेम् इतना ढेउवा (पैसा) । आपको तो उनसे जानपहिचान बा कुछ बोलदियोना सर/मिस जी ।’

अगेनाको छेउमा बसेकी प्रभाले हजुरआमाको कुरा सुनिरहेकी थिइन् । उनले हजुरआमाको कुरामा न सही थपिन न त अस्वीकार । उनी हाम्रा लागि खाना पस्कदै थिइन् । उनीमा अलिकति पनि विद्रोहको भाव थिएन । ‘कति पढेकी छौ, की छैनौं ?’ मेरो प्रश्नले उनले मुख खोलिन् ‘पाँच कलासमा पढ्छु ।’ धन्न स्कूलको मुख देख्न त पाएकी रै छे मनमनै सम्झँे । ‘अझै पढ्नु नी ?’ उनले भनिन् ‘दिदि यहाँ त धेरै पढ्यो भने त बिहे गर्न ढेउवा (पैसा) धेरै लाग्छ, हाम्रो ठाउँमा यस्तै हो, अब मेरो बिहे हुनैपर्छ ।’ मानसिक रुपमा ऊ पनि बिवाहको लागि तयार भइसकेकी रहिछ । ‘घाँस काट्न, कपडा धुन, रोटी पकाउन, घर सफा गर्न सिकीसकेको छ, घरमा बिहेपछि त्यहि गर्ने हो, अनि छोरा पाइदिएपछि त पुगिहाल्यो नी ।’ हजुरआमाले नातिनीका गुणहरू सुनाइन । 

प्रभा मात्र होइन यहाँका गाउँका अधिकांश बालिकाको १२/१३ वर्षदेखि बिहेको कुरा चल्छ । दाइजोको लागि कसीकसाउ हुन्छ । अनि १४/१५ वर्षमा विवाह भै बच्चाका आमा पनि बनिसक्छन् । यो हाम्रो देशको तराईको गाउँको परिवेश हो । जहाँ सयौं बालिकाको किशोर अवस्थाअघि नै बिवाह हुन्छ । आफै नानी बनेर खेल्ने कुद्ने उमेरमा नानीका आमा बन्नु पर्ने बाध्यता छ । 

निम्न र मध्यमवर्गीय अधिकांश परिवारको बाध्यता हो बालबिवाह । यहीका सम्पन्न परिवारका छोरीहरूले अबसर पाएकै छन् । तर गाउँका गरिब, अशिक्षित र बाध्यताले जकडिएको परिवार के गरोस् । तराई क्षेत्रमा छोरी पढाउन र दाइजो प्रथाविरुद्ध धेरै ठाउँबाट प्रयासहरू नभएका होइनन् । तर, किशोर अवस्थामै बिवाह गर्नु २० वर्ष पुगी सक्दा ३/४ वटा बच्चा जन्माइसक्नु यहाँका गाउँका (निम्न वर्गका) बालिकाको बाध्यता हो । अझ त्यसमाथि छोरा जन्मिए त फेरी गर्भवती हुनु नपर्ला । तर छोरी जन्मिए छोराका लागि पटकपटक गर्भवती बन्नै पर्छ । 

कम्तीमा २/३ वटा छोराको आश दुलाहा परिवारले राखेका हुन्छन् । फलस्वरुप तराईका गाउँका रिकान्ती, फुलमतिया, रुपझरिया र प्रभा जस्ता कलिला बालिकाले छोरी पेटमा रहेको कारण कयौंपटक गर्भपतन गराउनुर्छ । आफ्नो इच्छा नहुँदा नहुँदै र कमजोर स्वास्थ्यका बाबजुद पनि अनिच्छित गर्भधारण र सन्तान जन्माउनु पर्ने हुन्छ । तर २/३ छोरा त चाहिन्छ नै । गर्भनिरोधका अस्थायी साधनको प्रयोग अत्यन्तै न्युन छ । कोहि आए पनि छोरा छोरी कति छन् भनी सोध्दा ३ छोरी, ४ छोरा छन् भन्छन् । उमेर जम्मा २१/२२ । 

२५/२६ वर्षकै उमेरमा ६÷७ वटा सन्तानको जन्म, पटकपटकको गर्भपतन आदिले महिलाको स्वास्थ्यमा दीर्घकालिन समस्या धेरै हुन्छन् । त्यसमध्ये पाठेघर खस्ने, आमाको पाठेघर स्वस्थ नभएको कारण सुस्त मनस्थिति र अपांगता भएका सन्तान जन्मिने, जन्मिएका बच्चाको तौल कम हुनु सामान्य जस्तंै छ । उमेर अनुसारको शारीरिक र मानसिक विकास नहुनुले छोरा जन्मेर पनि परिवारको जिम्मेवारी लिन सक्छ भन्ने कसरी आशा राख्न सक्छन् ? यस्तो बच्चा जन्मेपछि पुनः अर्को सन्तान जन्माउने थप भार पनि तिनै कलिला आमाले ब्यहोर्नुपर्छ ।  

यी सबै कारणले गरिबी, र निम्न चेतना नै हो । बच्चा नराम्रो जन्मिए भाग्यलाई दोष, अकालमा मातृ मृत्यु, सानै उमेरमा शिशु मृत्युको पिडा सधै खेप्नु परिरहेको छ । स्वास्थ्य र सरसफाई कमीले बच्चामा झाडापखाला, नियोनिया जस्ता समस्या  वर्षेनी दोहोरीरहेका छन् ।  महिलामा ख्याउटेपना, रक्तअल्पता र प्रजनन् प्रक्रिया सम्बन्धी समस्या थपिइरहन्छन् । जसले गर्दा परिवार र सामाजिक रुपमा झन्ै पछाडि हुन्छ । धेरै सन्तान त्यसमाथि छोरीहरू, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराको पहुँचबाट सधै टाढा र पछि परिरहन्छ । चेतनाको कमीले सेवाको उपयोग गर्नुबाट सधैं बञ्चित रहिरहन्छ । तराई सुन्दर छ र यहाँका मानिस पनि । सिंगो देशलाई पाल्ने अन्न यही उत्पादन हुन्छ । तर स्वस्थकर र सन्तुलित भोजनको अभाव प्रस्टै देखिन्छ तराईका गाउँबस्तीमा । 
 

Last modified on 2017-08-15 13:51:35

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. दिदी विस्नु देवि परियार जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने एक सृजनशिल ब्यक्ति भएको कारण यी यस्ता कुरामा चासो र चिन्ता हुनु स्वभाबिक हो तर नेपालको तराईमा हुने यस्ता किसिमका घटना परिघटना खासमा तराईमा बस्ने राजनीति गर्ने अनि समाजका हुने खानेहरुले चिन्ता लिनु पर्ने हो तर त्यो कहि कतै भए गरेको पाईदैन,दिदिलाई श्रादुभाव छ तराईको यथार्थ चित्रण गर्नु भएकोमा


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts