जडीबुटी उत्पादनका लागि दाङमा ग्रिन हाउस
दाङ, २० साउन । जिल्लाको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकामा जडीबुटी उत्पादनको प्रशस्त सम्भावना देखिएको छ ।
साबिकका सैघा, स्युजा, काभ्रे लगायतका गाविसमा जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएको हो । तीन स्थानमा गरी करिब ४८ हजार हेक्टर जमिनमा जडीबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले बताए ।
“बाँझो जमिनका रुपमा रहेका ४८ हजार क्षेत्रफल जमिनमा जडीबुटी उत्पादन गर्न सकिने सम्भावना छ”, उनले भने । नेपाल जडीबुटी व्यवसायी सङ्घ, दाङका अध्यक्ष सन्तोष सोनीले हाल स्थानीयवासीले व्यक्तिगतरmपमा सानो मात्रामा जडीबुटी उत्पादन गर्दै आएको जानकारी दिए ।
जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएपछि हाल बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा रु नौ लाखको लगानीमा ग्रिन हाउस (हरित गृह) स्थापना गरिएको छ । जिआइजेड र नेपाल जडीबुटी व्यवसायी सङ्घको सहयोगमा उक्त हाउसको स्थापना गरिएको हो ।
ग्रिन हाउसमा खासगरी टिम्बुर, दालचिनी लगायतका बिरुवा उत्पादन गरिनेछ । वार्षिक ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यसहित ग्रिन हाउसको स्थापना गरिएको स्थानीयवासी लालबहादुर गिरीले जानकारी दिए गिरीका अनुसार ग्रिन हाउसमा मात्रै करिब १० जनाले रोजगारी पाएका छन् भने वार्षिक रु तीन लाख सम्मको आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>