भरतपुर कारागारमा क्यान्सरबाट थप कैदीको मृत्यु
रत्ननगर (चितवन), २० साउन । चितवनको भरतपुरस्थित जिल्ला कारागारमा एकजना कैदीको मृत्यु भएको छ ।
विराटनगर घर भएकी ४२ वर्षीया कैदी अम्बिका कामतको स्तन क्यान्सरका कारण विहिबार मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिएका छन् ।
उनका अनुसार रोगबाट गम्भीर भएपछि क्यान्सर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालले नसकिने भनेर फर्काइएकी कामतको भरतपुर अस्पतालमा ल्याएपछि मृत्यु भएको हो । कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्षको कैद सजाय तोकिएको थियो । एक वर्षअघि पाल्पाबाट चितवनमा सारिएकी उनले आठ वर्ष कैद झुक्तान गरिसकेको कारागारले जनाएको छ ।
यसअघि यही साउन १३ गते पनि मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको पनि कलेजोको क्यान्सरका कारण मृत्यु भएको थियो । गत चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सर रोगका कारण मृत्यु भएको थियो जेलर काफ्लेले बताए ।
भरतपुर कारागारमा अझै तीनजना क्यान्सर रोगी कैदी छन् । कारागारमा क्षमताभन्दा तेब्बर बढी अर्थात ५६९ कैदी र थुनुवा रहेको कारागारले जानकारी दिएको छ । यसकारण त्यहाँका कैदी र थुनुवामा सकस हुँदै आएको छ ।
रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>