स्तनपान सप्ताह सुरुः आमाको दुध प्रतिस्थापन हुँदै गएकोप्रति विज्ञहरुको चासो
काठमाडौ, १६ साउन । पछिल्लो समय आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरुको बिक्रीबितरण बढ्दै जाँदा बच्चाको स्वास्थ्यमा मात्र नभई देशकै अर्थतन्त्रलाइ समेत असर परेको भन्दै तत्काल त्यसलाई रोक्नुपर्ने विज्ञहरुले माग गरेका छन् ।
विश्व स्तनपान सप्ताहसम्बन्धि जानकारी दिने उदेश्यले राजधानीमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले बच्चाको पहिलो खोपको रुपमा रहेको स्तनपानलाई प्रबद्र्धन गर्नुपर्ने बताए । उनले बजारमा पाइने सेरलेक, ल्याक्टोजीन जस्ता बस्तुको प्रयोग बढेको भन्दै त्यसलाई निरुत्साहीत गर्न स्तनपानको महत्व बुझाउनु जरुरी भएको बताए । स्तनपान बाल बचाउ अभियानको अभिन्न अङ्ग भएको समेत उनको भनाइ छ । विज्ञानले स्तनपान गराउँदा बच्चालाई मात्र नभएर आमालाई समेत फाइदा पुग्ने पुष्टि गरीसकेकोले हरेक आमाले त्यसको महत्व वुझनुपर्नैमा उनको जोड थियो ।
नेपालमा आमाको दूध प्रतिस्थापन सम्बन्धि ऐन भएपनि त्यसको कार्यान्वयन नहुँदा आमाको दूध प्रतिस्थापन हुने बस्तुप्रति समाजको आकर्षण बढेको विज्ञहरुले धारणा राखेका थिए । हेलेन केलर इन्टरनेशनलका कार्यक्रम अधिकृत डा. अतुल उपाध्यायले बच्चा जन्मेको ६ देखि ५ महिना एक्सक्लुसिभ स्तनपान गर्नुपर्ने ब्यवस्थालाई कार्यन्वयन गर्न सरकारले वर्षौंअघि कानुन बनाएपनि कार्यान्वयन हुन नसकेको बताए । उनले सन् २०१४ मा मात्रै बिश्व बजारमा ४५ खर्ब डलरको दूधलाई प्रतिस्थापन गर्ने बस्तु बिक्री भएको उल्लेख गर्दै यहि अवस्थामा बिक्री भएमा सन् २०१९ मा त्यो दर बढेर ७२ खर्ब पुग्ने आंकलन भएको जानकारी दिए ।
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की सहायक डिन प्राडा मधु देवकोटा दिक्षितले आमाको दूधको बिकल्प केही नभएको बताइन् ।उनले नेपालले मातृ तथा शिशु मृत्युदरमा उल्लेख्य प्रगति हाँसिल गरेको बताउँदै स्तनपान प्रवद्र्धन कार्यक्रमले यसमा थप टेवा पुग्ने बताइन् । यसका लागि मन्त्रालय मात्र नभएर सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताइन् ।
बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले राष्ट्रकै ठुलो समस्याको रुपमा रहेको कुपोषणलाई न्युनिकरणको गर्न स्तनपानको महत्व रहेको बताए । युनिसेफका पोषण बिशेषज्ञ प्रधुम्न दाहालले स्तनपान बच्चाको पहिलो खोप भएको भन्दै स्तनपानले १०औं हजार बालबालिकालाई मृत्युको मुखबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपालमा ६६ प्रतिशत महिलाले मात्र पुर्ण स्तनपान गराउने गरेको तथ्याङ्क छ । जन्मेको १ घण्टाभित्रै स्तनपान गराउने महिलाको सङख्या भने ५५ प्रतिशत रहेको छ । बच्चा जन्मेदेखि १ महिनाभित्र स्तनपान गराउने महिला ७९.६ प्रतिशत, २ देखि ३ महिना सम्म स्तनपान गराउने ७२.२ प्रतिशत, ४ देखि ५ महिना सम्म स्तनपान गराउने ४०.९ प्रतिशत, ६ देखि ८ महिनासम्म स्तनपान गराउने ६ प्रतिशत रहेका छन् ।
बाल मृत्युरदर घटाउन र कुपोषणको मारबाट बालबालिकालाई जोगाउन स्तनपानको महत्व र स्तनपान सम्बन्धी जनचेतना फैलाउने उदेश्यले र्मगलवारदेखि बिश्वभर बिभिन्न कार्यक्रम गरि बिश्व स्तनपान सप्ताह मनाइँदैछ । “सबै मिली स्तनपमानलाई दिगो बनाउ” भन्ने नाराका साथ गत एक अगस्टदेखि पुरै एक सातासम्म जनचेतनामुलक कार्यक्रम गरि वर्षेनी स्तनपान सप्ताह मनाइन्छ ।