उपप्रधानमन्त्री नै बसेपछि केसीसँगको वार्ता सकरात्मक
काठमाडौं, १५ साउन । सातदिन देखि आमरण अनशन बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच आज भएको तेस्रो चरणको वार्ता अघिल्ला वार्ताभन्दा सकरात्मक बनेको छ ।
आज बिहानैदेखि औपचारिक र अनौपचारिक रुपमा भएको छलफलमा सरकारका उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ नै सहभागी भएपनि वार्ता निकासतर्फ उन्मुख भएको शिक्षा सचिव एवं सरकारी वार्ताटोलीका संयोजक शान्तबहादुर श्रेष्ठले जानकारी दिए । आजको वार्तामा केसीले अघि सारेको चिकित्सा शिक्षा विधयेक पारित गराउने विषयमा मुख्यरुपमा छलफल भएको छ । छलफलमा शिक्षामन्त्री, संसदको शिक्षा, स्वास्थ्य तथा महिलाबालबालिका एवं ज्येष्ठ नागरिक समितिकी संयोजक रञ्जुकुमारी झापनि सहभागी भइन् ।
छलफलका क्रममा माथेमा प्रतिवेदनको मर्म अनुरुप चिकित्सा शिक्षा विधयेकलाई पारित गर्नेगरी प्राथमिकतामा राखिएको सभापति झाले जानकारी गराएकी थिइन् । विधेयकका सन्दर्भमा यसअघि बनेको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. भगवान कोइराला, डा. केसीका प्रतिनिधि डा. जीवन क्षेत्रीसँग अघिल्लो हप्ता नै छलफल भैसकेको झाले जानकारी गराएकी थिइन् । आजको वार्तामा डा. केसीका पक्षबाट पैरव ीगर्ने पब्लिक डिफेन्स ग्रुपका अधिवक्ता द्व ओमप्रकाश अर्याल र सुरेन्द्र भण्डारीपनि सहभागी थिए ।
तीनवटा विधयेक छाडेर पहिलो नम्बरमा चिकित्सा शिक्षा विधयेक
सभापति झाले चिकित्सा शिक्षा विधयेकलाई एक नम्बरमा राखेर काम भैरहेको वार्ताका क्रममा जानकारी गराएकी थिइन् । चार नम्बरमा रहेको चिकित्सा शिक्षा विधयेकलाई प्राथमिकतामा आधारमा अरु तिनवटा पछाडी धकेलेर एकनम्बरमा राखिएको हो । अघिल्लो हप्तानै माथेमा प्रतिवेदनको मर्म अनुसार गुणस्तरीय चिकित्सा शिक्षा प्रत्याभूत हुनेगरी मस्यौदाकार मध्येका एक डा. कोइराला, केसीका प्रतिनिधि डा. क्षेत्रीसँग छलफल भएअनुसार विधयेकलाई अन्तिम रुप दिएर पारित गर्ने झाले जानकारी गराएकी थिइन् ।
आइओएमका डीनलाई ब्रिफ गर्न बोलाइयो
केसीले अघि सारको अर्को माग चिकित्सा शास्त्र अध्ययन संस्थानलाई स्वायत्तता दिने विषयमा पनि आजको वार्तामा छलफल भएको छ । वार्ताका क्रममा सरकारी टोलीले आइओएमको स्वायत्तताको मोडल मागेको सरकारी टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए । तर डा. केसीका प्रतिनिधिले स्वायत्तताको मोडालिटीका बारेमा भोलिमात्र भन्न सकिने बताएको श्रेष्ठले बताए । आइओएमको स्वायत्तताका बारेमा थप ब्रिफिङका लागि भोलि डिनलाई नै वार्तामा सहभागी हुन भनिएको छ । डिनले ब्रिफ गरेपछि त्रिविसँग बसेर आइओएमको स्वायत्तताका सन्दर्भमा निर्णय लिइने श्रेष्ठको भनाइ छ ।
केसी अनशनमा प्रधानमन्त्रीको पनि चासो
डा. केसीको अनशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चासो दिएका छन् । प्रधानमन्त्री देउवाले तत्काल केसीको माग सम्बोधन गर्न उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई अह्राएपछि श्रेष्ठपनि आजको वार्तामा सहभागी भएका हुन् । साथै आजको वार्तामा भएको छलफलका बारेमा मुख्य सचिव र प्रधानमन्त्री दुवैलाई जानकारी गराइएको शिक्षा सचिव श्रेष्ठले जानकारी दिए । केसी पक्ष र सरकारबीच भोलि पुनः वार्ता हुने बताइएको छ ।
यसैबिच शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुको संगठन नेशनल रेजिडेन्ट डक्टरस् एशोसियसनले पनि डा. केसीको मागमा ऐक्यवद्धता जनाउदै आन्दोलनका कार्यक्रम सुरु गरेको छ । पहिलो चरणमा आइतवारदेखि हातमा कालो पट्टि बाँधी आन्दोलन सुरु गरेको एशोसियसनले तत्काल केसीको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>