घरमै बच्चा जन्माउँछन्,  तराईका अधिकांश महिला



Download our app to get more features

रकारले गर्भवतीको मृत्युदर कम गराउन सुरक्षित मातृत्व कार्यक्रमका लागि सालिन्दा करोडौं रुपैयाँ खर्च गरे पनि तराईका केही जिल्ला निष्प्रभावी बनेका छन् । धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, सिरहा, पर्सा र बारामा यो कार्यक्रमको अवस्था हेर्दा लाजमर्दाे छ निष्प्रभावी बनेको हो । यी जिल्लामा ७० प्रतिशतसम्म महिलाले घरमै बच्चा जन्माउने गरेको पाइएको छ । सरकारको स्वास्थ्य सेवा प्रभाहसम्बन्धी तथ्यांक राख्ने निकाय स्वास्थ्य सेवा विभाग सूचना व्यवस्थापन शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी घरमै बच्चा जन्माउने जिल्ला धनुषा हो । सो जिल्लामा गत वर्ष ७० प्रतिशत महिलाले घरमै बच्चा जन्माएका थिए । यसैगरी, धनुषासँगै जोडिएको महोत्तरीका ५२ प्रतिशत महिलाले घरमै बच्चा जन्माएका छन् । घरमै बच्चा जन्माउनेमा तेस्रो नम्बरमा रौतहट रहेको छ । रौतहटका कुल सुत्केरीमध्ये ५१ प्रतिशतले घरमै बच्चा जन्माएको तथ्यांक पाइएको शाखा निर्देशक मुक्ति खनाल बताउँछन् । त्यसैगरी कपिलवस्तुमा ४८, सर्लाही र पर्सामा ३६/३६ र बारामा ३२ प्रतिशतले घरमै बच्चा जन्माएका थिए । 

शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष धनुषामा तीन हजार पाँच सय २१ जनाले बच्चा जन्माएकोमा दुई हजार चार सय ७१ गर्भवतीले घरमै बच्चा  जन्माएका थिए । महोत्तरीमा सात हजार सात सय चारजनामा तीन हजार चार सय ८६, रौतहटमा नौ हजार चार सय ३० मा चार हजार सात सय ७३ सुत्केरीले घरमै बच्चा जन्माएका थिए । गत वर्ष रौतहटमा नौ हजार चार सय ३० बच्चा जन्मेकोमा चार हजार सात सय ७३ जना घरमै जन्मेका हुन् । त्यस्तै, कपिलवस्तुमा चार हजार ६ सय ९७ मा दुई हजार दुई सय ५९, सर्लाहीमा सात हजार आठ सय ८० मा दुई हजार आठ सय २०, पर्सामा चार हजार चार सय ६ जनामा एक हजार पाँच सय ७९ र बारामा चार हजार एक सय १३ मा एक हजार तीन सय १८ बच्चा घरमै जन्मेका थिए । 

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा निर्देशक डा. नरेशप्रताप केसी तराईका केही र पहाडका दुर्गम जिल्लाबाहेक स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउनेको संख्या उल्लेख्य रहेको दाबी गर्छन् । ‘अन्य क्षेत्रमा मातृशिशु कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भए पनि तराईका केही जिल्लामा अझै प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन,’ डा. केसी भन्छन्, ‘ती जिल्लाका स्वास्थ्यचौकीमा बच्चा जन्मानेको संख्या कमै रहेको छ ।’ विशेषगरी सीमान्तकृत र पिछडिएको समुदायका महिला स्वास्थ्य संस्थामा बच्चा जन्माउने गरेको उनको भनाइ छ ।

सरकारले सीमान्तकृत र पिछडिएका समुदायका महिलालाई पहुँचमा ल्याउन अहिलेभन्दा फरक तरिकाले कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उनले बताए । उनका अनुसार ती जिल्लामा नयाँ तरिकाले कार्यक्रम गर्नेबारे बहस सुरु भएको छ । सरकारले मातृमृत्युदर कम गराउन स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउँदा प्रोत्साहनस्वरूप पैसा उपलब्ध गराउँदै आएको छ । यसरी स्वास्थ्य संस्थामा बच्चा जन्माउँदा हिमाली जिल्लामा एक हजार पाँच सय, पहाडी जिल्लामा एक हजार र तराईका जिल्लामा पाँच सय रुपैयाँ बाटोखर्च दिँदै आएको छ । अघिल्लो वर्षसम्म न्यानो झोलाअन्र्तगत कपडासमेत दिँदै आएको थियो । यस वर्ष सो कार्यक्रम रोकिएको छ । गतवर्ष देशभरि तीन लाख ३९ हजार ४६ महिलाले बच्चा जन्माएका थिए । परिवार स्वास्थ्य महाशाखाले करिब ४० प्रतिशत महिलाले अझै पनि घरमै बच्चा जन्माउने गरेको जनाएको छ ।
 

Last modified on 2017-07-30 19:02:59

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts