वीपी प्रतिष्ठानमा उपकुलपतिको मनपरिः ११ करोडको मेसिन किन्न १८ करोडको टेण्डर !



Download our app to get more features

धरान, १४ साउन । धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमआरआई मेशिन खरिद प्रकृयामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन सुरु गरेको छ ।प्रतिष्ठानका लागि आवश्यक पर्ने उपकरण खरिदमा प्रतिष्ठानका उपकुलपती प्रा डा.राजकुमार रौनियारले आवश्यक्ता भन्दा बढि रकमको टेण्डर स्वीकृत गरेको भन्दै सम्बन्धित कागजातहरु अख्तियारले नियन्त्रणमा लिई छानवीन सुरु गरको हो ।

प्रतिष्ठानको रेडियोलोजी बिभागमा बिरामीको परिक्षणका लागि आवश्यक पर्ने एमआरआई मेसिन खरिद गर्दा प्रतिष्ठानका उपकुलपतीले अन्यत्र ११ करोडमा ल्याइएको मेसिनको लागि १८ करोड रुपैयाँ बराबरको टेण्डर स्वीकृत गरेको खुलेपछि अनुसन्धान सुरु भएको हो । 

मेसिन खरिद प्रकृयामा नै अनियमितता भएको भन्दै प्रतिष्ठानका कार्यकारिणी समितिका सदस्यद्वय रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र शिक्षाध्यक्ष डा. विक्रम प्रसाद श्रेष्ठले नोट अफ डिसेन्ट नै लेखेको प्रतिष्ठान श्रोतले जनाएको छ । प्रतिष्ठानमा एमआरआई मेसिन नियमित नचल्दा बिरामीहरुले सास्ती खेप्दै आउनु परेको छ । अहिले सञ्चालनमा रहेको मेसिन पुरानो भइसकेकोले नयाँ खरिद गर्नुपर्ने भएको हो । 

रेडियोलोजीमा हुँदैदेखि रौनियारको आँखा एमआरआईमा
उपकुलपति प्राडा राजकुमार रौनियार उपकुलपती हुनु अगाडी प्रतिष्ठानकै रेडियोलोजी बिभागका प्रमुख थिए । उनी प्रमुख भएकै बेला तत्कालीन उपकुलपति प्राडा बिपी दाशले एमआरआई मेसिन खरिदका लागि बिभागको स्वीकृती ल्याउन पटक पटक आग्रह गरेका थिए । 
रेडियोलोजी बिभागको सञ्चालन गर्न नसकेको र प्रशासनलाई असहयोग गरेको आरोेपमा तत्कालीन उपकुलपती दाशले रौनियारलाई बिभागीय पदबाट समेत हटाएका थिए । 

रौनियार प्रतिष्ठानको उपकुलपति हुने बित्तिकै उनले नयाँ एमआरआई मेसिनमा आँखा लगाएको प्रतिष्ठानकै एक कर्मचारीले बताए । उनले एमआरआई मेसिन खरिदका लागि प्रतिष्ठानमा कार्डियोलोजी र अङकोलोजीको भवन निर्माण गर्न सरकारले दिएको २० करोड रुपैयाँ मेसिन खरिद गर्न प्रयोग गरेका छन् । यसरी एउटा शीर्षकमा आएको बजेटलाई बिना प्रकृया र अन्यत्र खर्च गर्नु आर्थिक अनियमितता हुने महालेखा परिक्षकको कार्यालयले बताउँदै आएको छ ।

सञ्चित रकम सकिँदै
उपकुलपति भएको चार महिना नबित्दै रौनियारले प्रतिष्ठानको बैंक खातामा रहेको सञ्चित रकमबाट करोडौं रुपैंया निकालेर खर्च गरेका छन् । उनले प्रतिष्ठानमा नेपाल सरकारबाट निर्माणाधिन एमसिएच भवनका लागि १३ करोड दिए । त्यस्तै, प्रतिष्ठान भित्रै साढे सात करोडमा निर्माण गर्न लागिएको छात्राबास भवनका लागि समेत रकम निकासा गरिदिए । यता आर्थिक वर्ष सकिने दिन अर्थात् असार ३१ गते हतारहतार साढे १२ करोडको लागतमा निर्माण हुन लागेको फार्मेसी भवनका लागि समेत उनले सम्झौता गरेका छन् ।

अख्तियारका इटहरी प्रमुख प्रेमप्रसाद भट्टराईले मेसिन खरिद प्रकृयामा अनियमितता भएको उजुरी परेपछि अनुसन्धान सुरु गरेको बताए । उनले भने ‘प्रतिष्ठानका विभिन्न विषयमा उजुरी परेको छ, हामी यो विषयलाई गम्भीर रुपमा हेरिरहेका छौं ।’

प्रतिष्ठानका उपकुलपती राजकुमार रौनियारले भने आफुलाई फेलियर गर्न प्रतिष्ठान भित्रकै ब्यक्तिहरु सक्रिय भएको बताएका छन् । ‘जसरी अख्तियारमा उजुरी परेको छ त्यो नियतबस गरिएको छ तर वास्तविकता अर्के छ ।’ उनले भने, प्रतिष्ठानमा आफु आएपछि कुनैपनि अनियमितता नभएको उनको दावी छ । ‘अख्तियारमा उजुरी परेपछि अनुसन्धान गर्नु सामान्य कुरा हो यसलाई हामीले पनि सहयोग गर्छौं ।’ उदाहरण दिदै उनले थपे ‘अस्पतालमा बिरामी आएपछि उपचार गर्नुपर्छ त्यस्तै अख्तियारमा उजुरी परेपछि छानबिन हुन्छ यसलाई हङगामा गर्नुपर्ने कुनै कुरा नै छैन ।’

Last modified on 2017-07-30 07:42:47

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts