वीर अस्पताल भित्रको विवाद भूसको आगो बन्दै, एकथरी पुगे अदालत, अर्कोथरी पेलेरै जाने नीतिमा
            काठमाण्डौ, ३ साउन । देशकै सबैभन्दा पुरानो वीर अस्पतालभित्र कुनै न कुनै विवाद वा असन्तुष्टि जहिलेपनि चलिरहेकै हुन्छ । कुनै विवाद समाधान हुन्छ, कुनै वर्षौंसम्म चलिरहन्छ भने कुनै विवाद अदालतै सम्मपनि पुग्छ । यस्तै अहिले एउटा विवाद भुसको आगो जसरीे अस्पताल भित्र सल्किरहेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालभित्र कार्यरत कर्मचारीलाई प्रतिष्ठान ऐन विपरित विभेद गरीएको भन्दै प्रतिष्ठानकै ३२ कर्मचारीले गएको असार ७ गते सर्वोच्च अदालतमा मूद्दा दायर गरेका हुन् । रिट हाल्नेमा न्याम्सकी प्रा.डा रमिला श्रेष्ठ, प्रा.डा. दीपेन्द्र श्रेष्ठ, प्रा.डा. सुधांसु केसी, स. प्रा.डा. सुशील प्रजापती, सह प्रा.डा. मनिलरत्न बज्राचार्य, सह प्रा.डा. प्रदीप वैद्य, उप प्रा.डा. ध्रुव गैरे, डा. बिनिता जोशी, नर्सहरु रमिला, जोशी, सकिला श्रेष्ठ, कल्पना पन्तलगायत ३२ जना रहेका छन् ।
रिट निवेदनमा उनीहरुले व्यवहारमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्वायत्त हुनुपर्ने, भूमिका अनुसारको पदनाम, बढुवा र वृत्तिविकास हुनुपर्ने लगायत विषय समावेश गरेका छन् ।
सो मुद्दामाथि एकपटक सुनुवाई समेत भइसकेको छ ।
वीर अस्पताल कहिले भ्रष्टाचार कहिले, कहिले राजनीतिक भर्तिकेन्द्र तथा कहिले राम्रा सामान भित्त्राएर त कहिले एक्सरे मेसिनसम्म नचलेको विषयमा चर्चामा आउने गर्दछ । यो पटकको भने कर्मचारीको भरणपोषण र वृत्तिविकासलाई लिएर सिर्जित असन्तुष्टि हो । वीर अस्पतालमा विभिन्न तह र पदमा गरी १३७ जना चिकित्सक, नर्सिङ स्टाफ १ सय ५९, प्याराम्याडिक्सतर्फ ३५, प्रशसासनतर्फ १९२ कर्मचारी कार्यरत रहेका छन् । त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानतर्फ ५ सय ६ जना कर्मचारी कार्यरत रहेका छन् ।
के हो न्याम्स ?  
करिब १५ वर्ष अगाडि देशलाई चाहिने विशेषज्ञ चिकित्सक उत्पादन गर्ने र त्यसमा सरकारी सेवामा कार्यरत चिकित्सकलाई प्राथमिकता दिने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अर्थात नेशनल एकेडेमी अफ मेडिकल साईन्सेज (न्याम्स्स) को स्थापना भएको थियो । न्याम्स एक स्वास्थ्य विश्वविद्यालय जस्तै संस्था हो भने वीर अस्पताल त्यसको शिक्षण अस्पताल । न्याम्स अन्तर्गत करिब १६ वटा विषयमा चिकित्साशास्त्रको स्नातकोत्तर एम. डी.र एम.एस.अध्यापन गराइन्छ र त्यसको निम्ति उपत्यका र बाहिरका धेरै अस्पताललाई शिक्षण अस्पतालको स्वरुपमा अनुवन्धित गरिएको छ । जस्तै, स्त्री रोगको लागि प्रसुति गृह, बालरोगको लागि कान्ति बाल अस्पताल, आँखाको लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वर,  तिलगंगा, भैरहवा आदि ।  
कसरी निस्कियो विवाद ? 
नेपाल सरकार स्वास्थ्य मन्त्रालयका कर्मचारी वीर अस्पतालमा काजमा खटिदा दोहोरो सेवा सुविधा लिने गर्दछन् । तर न्याम्समा माथिल्लो तहमा रहेका तर नेपाल सरकारको तहमा तल्लो तहमा रहेका कर्मचारीहरुको सेवा सुविधा न्यून रहेको छ । कतिपय चिकित्सकहरु न्याम्स अन्र्तगतको प्राध्यापक भइसक्दा पनि मन्त्रालयले आठौ तहको सेवा सुविधा पाउने गरेका छन् । त्यही तह अनुसारको तह र हिसाव मिलान नहुदा विवाद बढ्दै गएको हो  । सवैभन्दा समस्यामा प्रतिष्ठान स्थापना हँुदाका बखत वीर अस्पतालमा रहेका कर्मचारीहरु रहेका छन् । उनिहरुले वढुवा र पदनाम मिलान न्याम्सको एन अनुसार हुनुपर्ने जिकिर गर्दै अदालतमा रीट दायर गरेका छन् । 
व्यवहारमा चि.वि.रा.प्र. स्वायत्त भएन !
चि.वि.रा.प्र. एउटा स्वायत्त र संगठित संस्था भएकोले आफ्नै नियम अनुसार सेवा सुविधा हुनुपर्नेमा त्यसो नभई राजनीतिक बलमा मन्त्रालयबाट खटिएका कर्मचारीलाई पोस्ने काम मात्र भइरहेको आन्दोलितहरुको दावी छ । न्याम्स कर्मचारीका अनुसार तलबभत्ता, बढुवा, स्थायी लगायतका कुनैपनि विषयमा आफूहरुको वृत्तिविकास भएको छैन् र सानोभन्दा सानो अधिकार प्राप्तिका लागिपनि अदालतकै ढोका ढक्ढकाउन बाध्य हुनुपरेको छ । 
६ महिनाको काज तर बसाई लामो 
स्वास्थ्य मन्त्रालयबाट ६ महिनाको काज लिएर गएका निजामती कर्मचारीहरु नत ६ महिनापछि अन्त लाग्छन् नत चि.वि.रा.प्र.को नियमामा रुपान्तरित भएर बस्छन् । बरु दोहोरो सुविधा त्यो पनि बिना कुनै परिश्रम पचाउने गरेको न्याम्स्सका कर्मचारीहरुको आरोप छ । राजनीतिक आडमा नियम मिचेर वीरमा उनीहरुले बितण्डा मच्चाइरहेको उनीहरुको आरोप छ । 
के भन्छन् चि.वि.रा.प्र.उपकुलपति गणेश गुरुङ ?
तर प्रतिष्ठानका उपकुलपति प्रा.डा गणेश गुरुङ भने कर्मचारीले भनेजस्तो कुनै विभेद नभएको दावी गर्छन । उनी भन्छन् ‘न्याम्सका चिकित्सकहरु विभेद भयो भनेर बेलाबेला कोकोहोलो मच्चाउनुहुन्छ, विभेद कहानिर कसरी भएको छ हामीसँग आधिकारीक रुपमा टेबलटक गर्नुपर्यो बाहिर कराएर काम छैन । न्याम्सका चिकित्सकहरुमाथि विभेद भयो भन्नु सरासर गलत हो सञ्चारमाध्यम आफै आएर उहाँहरुले पाउने सेवा सुविधा तलब र नेपाल सरकार अन्र्तगतका चिकित्सकहरुले पाउने सेवा सुविधा र तलबबीच तुलना गर्नुहोस् सत्य आफै थाहा पाउनुहुन्छ म बोलिरहन पर्दैन ।’ 
न्याम्सका चिकित्सक वीरको विकास समितिबाट आएका चिकित्सक भएको भन्दै उनले थपे, ‘उनीहरुलाई बिना कुनै विभेद प्रक्रिया मिलाएर स्थायी गरिएको बताए । एकैचोटी १२ औं तह त कसरी फड्काउन सकिन्छ र ? नियमानुसार चल्न परेन ?’
उनले वीर अस्पताल भक्तपुरमा सर्न लागेका बेला उता गएर काम गर्नु नपरोस् भनेर कर्मचारीले बखेडा निकालेको पनि आरोप लगाए । उनले भने ‘अब वीर भक्तपुरको दुवाकोटमा सर्न लागेको छ । मलाई यसमा के शंका छ भने उहाँहरु यहि बसेर राज गर्न पल्किनुभएको छ, उता सिफ्ट हुनुहुन्छ की हुदैन्, कुनै पनि संस्थामा काम गरिसकेपछि संस्थाप्रति जेहेन्दार बन्नैपर्छ अनिमात्र सबैको हित हुन्छ । अर्को कुरा उहाँहरु आफ्ना माग सहित अदालतको ढोका ढकढकाउन पुगिसक्नुभएको छ । अदालतमै पुगिसकेको कुरामा बहस गर्नु त्यति राम्रो होईन । मुद्दा नै परिसकेपछि सम्मानित अदालतले त्यसैअनुसारको फैसला गर्नेमा म ढुक्क छु ।’
किन थलिन्छ वीर ?
देशकै पुरानो अस्पताल बेलाबेलामा आफै थला परेका समाचार सञ्चारमाध्यममा प्रमुखताका साथ आउने गर्दछन् । वीर आफै थलिँदा आमनागरिकले पाउने सास्ती र दुखको कहीँ कतैबाट आजसम्म लेखाजोखा भएको पाइँदैन । 
वीर अस्पताल बेला बेलामा थलिनुमा त्यहाँ भित्र रहेको चर्को राजनीतक प्रभाव मुख्य जिम्मेवार रहेको प्रष्टै छ । लगभग सम्पूर्ण पार्टीको ट्रेड युनियन वीरमा भेटिन्छन् । जस्को शक्ति उस्को भक्ति भनेझैं सत्ता र शक्तिमा पुगेकाहरुको आफन्त, नातागोता, र कार्यकर्ता भक्ति गर्ने केन्द्रको रुपमा वीर परिचित रहेको प्रतिष्ठानका उपकुलपति गणेश गुरुङ स्विकार गर्दछन् । उनी आफै खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा एमालेको कोटामा उपकुलपति बनेका हुन् ।
२६ वटा ट्रेड युनियन
वीरको दुरावस्था यत्तिकै नभएको त्यहाँ कार्यरत चिकित्सकहरु नै बताउँछन् ।
एउटै संस्थामा २६ वटा त ट्रेड युनियन छन्  । नेपाल सरकार, समिति, करार, ज्यालादारी गरेर विभिन्न श्रोतका कर्मचारी अस्पतालमा कार्यरत छन् । दलीय भागबन्डामा नियुक्त कर्मचारी नियुीक्त वीरमा हुने गरेको छ । दलको सपथ खाएर बनेका कर्मचारी एवं पदाधिकारीले कसरी संस्थाप्रति बफादार भएर काम गर्लान ? आमनागरीकको साझा प्रश्न यहि छ । केही कार्यकर्तालाई जागिर खुवाउने, पार्टीका मान्छेको उपचार खर्च मिनाहा र आ– आफ्ना पक्षका ट्रेड युनियन उचालेर अर्को पदाधिकारीलाई पखाल्नमै समय व्यतित भैरहने हो भने वीर अस्पताल गरिब निमुखाको अस्पताल भन्न लायक भैरहने देखिँदैन ।  
 
                
                
                                    
                        
                        
                        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                
                
                
                
                
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>