नेपाल औषधि लिमिटेडले असोजबाट सिटामोल उत्पादन गर्ने



Download our app to get more features

काठमाडौँ, २ साउन । नेपाल औषधि लिमिटेडले आउँदो असोजबाट सिटामोल उत्पादन गर्ने भएको छ । 

गत वैशाखबाट जीवनजल उत्पादन गरी पुनः औषधि उत्पादन गर्न सुरु गरेको लिमिटेडले दोस्रो चरणमा सिटामोल उत्पादन गर्न लागेको हो । 

बन्द भएको आठ वर्षपछि सरकारी स्वामित्वमा रहेको लिमिटेड २०७३ असोज २ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । 

विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएपी) अनिवार्य गरेपछि सो उद्योग बन्द भएको थियो । 

सरकारले जिएमपीअनुसार पुनः सञ्चालन गर्न रु १४ करोड ६५ लाख ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । पहिलो चरणमा रु छ करोड ४८ लाख निकासा गरेको थियो । 

लिमिटेडका महाप्रबन्धक डा रोवर्स कुसुम सुवेदीले असोजबाटै उत्पादन गर्न तयारी थालिएको बताए । सञ्चालनमा आएको तीन महिनाभित्र सिटामोललगायतका औषधिहरु उत्पादन गर्ने लक्ष्यअनुरुप नै काम भइरहेको उनले जानकारी दिए । 

लिमिटेडले बालबालिकालाई मध्यनजर गरी सुन्तलाको स्वादमा जीवनजल उत्पादन गरिरहेको छ । सुदूरपश्चिमका जिल्लामा बढी जीवनजल पठाइएको छ । महाप्रबन्धक सुवेदीले भने “अब एक महिनाभित्रै सादा जीवनजल उत्पादन गर्दैछौँ”े । 

यसैबीच, पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले आइतबार लिमिटेडमा पुगी पछिल्लो प्रगतिबारे जानकारी लिई काममा कुनै रोकावट आउन नदिन आग्रह गरे । 

उनले भने – “विश्वस्तरीय जिएमपी मापदण्डअनुसार गुणस्तरीय औषधि उत्पादन गर्न लिमिटेडले नयाँ प्रविधिअनुरुप २७ भन्दा बढी प्रकारका आधुनिक प्रविधिले युक्त गुणस्तर जाँच गर्ने उपकरण जडान गरिसकेको छ, उत्पादन गरिएका औषधि अहिलेका प्रचलित बजार मूल्यभन्दा कममा जनताले प्राप्त गरुन् भनेर पुनःसञ्चालनमा ल्याएको छ, यसको निरन्तरता होस् भन्ने चाहना हो ।” 

नेपालमा आधुनिक औषधि उत्पादन सरकारबाटै गर्ने उद्देश्यका साथ कम्पनी ऐन, २०२१ अन्तर्गत नेपाल औषधि लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । बन्द हुनुपूर्व लिमिटेडले १२० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts