रुपन्देहीमा डेंगु रोगको संक्रमण बढ्यो, १६१ जना संक्रमित
            लुम्बिनी, २ साउन । रुपन्देहीमा डेंगुको संक्रमण बढेको पाइएको छ । गत वर्ष सातजनालाई मात्रै देखा परेको डेंगुको संक्रमण यस वर्ष बढेर १६१ जनामा देखा परेको जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लामा यो वर्ष उपचार गर्न पुगेकामध्ये १६१ जनामा डेंगु भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । गत बर्ष साउन १ गतेदेखि असार मसान्तसम्मको रिपोर्टअनुसार रुपन्देहीमा यो संख्यामा डेंगुका बिरामी भेटिएको हो । यो तथ्याँक विगत चार वर्षकै सबैभन्दा बढी हो ।
संक्रमितको संख्या बढ्दै गएपछि टोलीले प्रभावित क्षेत्रमा लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने अभियानसँगै चेतनामूलक कार्यक्रम चलाउने भएकोे छ । जनस्वास्थ्य कार्यालय रुपन्देहीले स्वास्थ्यकर्मी, स्वयंसेविकासहितको टोली परिचालित गर्ने बताएको छ ।
टोलीले साउन २ र ३ गते सिद्धार्थनगरका १३ वटै वडाका प्रत्येक घरघरमा लामखुट्टे र लार्भाका सम्भावित बासस्थानको खोजी र नष्ट गर्ने, लामखुट्टे संकलन र चेतनामूलक कार्यक्रम गर्ने र उक्त टोलीलाई सम्पूर्ण प्रकारको सहयोग गरी डेंगु नियन्त्रणमा सहयोग गर्न नगरवासीलाई अनुरोधसमेत गरेको छ ।
लामखुट्टेको टोकाइबाट अति नै शीघ्ररुपमा फैलने भाइरसको संक्रमणबाट यो रोग फैलने गर्छ । यो रोग एक मानिसबाट अर्को मानिसमा एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।
डेंगुको संक्रमण भएका बिरामीमा उच्च ज्वरो, आँखाको गेडी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाक लाग्ने, टाउको दुख्ने, नाकबाट रगत बग्ने, दिसा कालो हुनेजस्ता लक्षण देखिन्छ ।
गर्मी मौसम भएकाले पनि डेंगुका बिरामी बढेको बढ्यै छ । डेंगुलाई समयमा नै नियन्त्रण गर्न नसके रुपन्देहीमा महामारीकै रुप लिने आँकलन गरिएको जिल्ला जनस्वाथ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।
यो रोग फैलाउने लामखुट्टेले सफा जमेको पानीमा फूल पार्ने भएकाले सहरी क्षेत्रका वर्षात्को सफा पानी भएको टिनका डिब्बा, टायर, खाली ड्रम, गमला, कुलर, पानी ट्यांकी आदिमा जम्मा भएर बस्ने भएकाले बच्नका लागि पानी जम्ने ठाउँलाई सफा गरी जम्नै नदिने, समय समयमा पानी फेर्ने, लामखुट्टे भगाउने मलम प्रयोग गर्ने, पूरा कपडा लगाउने र घर वरिपरि सफा राखी पानी जम्ने खाल्टाखुल्टी पुरी अभियानलाई सफल पार्न आग्रह गरेको छ ।
रासस 
                
                
                                    
                        
                        
                        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                
                
                
                
                
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>