एक्कासि नाथ्री फुटेर समस्या देखियो ? जोगिन अपनाउनुस् यस्ता उपाय...
गर्मी मौसममा नाथ्री फुट्ने समस्या धेरै देखिन्छ । कहिलेकाही त नाथ्री फुटेर एक्कासी ह्वालह्वाली रगत आइदिदा मानिसहरु के गर्ने के गर्ने भई अलमल्ल मै पर्ने गरेको पाइन्छ । मानिसले कुनै न कुनै बेला नाकबाट रगत बगेको समस्या भोगेकै हुनुपर्छ ।
नाथ्रि फुट्नु एउटा आकस्मिक अवस्था हो जसले बिरामी तथा आफन्तहरुलाई ज्यादै त्रसित गराउँछ । गर्मी समयमा तातोपनाका कारण नाकमा रहेका रक्तनलीहरू फुल्छन । कतिपय साना नलीहरू आफै फुट्छन र त्यहाँबाट रगत आउँछ । कुनै चिज नाकमा ठोक्किएर चोटपटक लाग्यो भने पनि नाकबाट रगत आउँछ । रुघाखोकीलगायत अन्य रोगको संक्रमण भई नाकमा घाउ हुँदा पनि रगत आउन सक्छ । नाकमा ट्युमर (मासु पलाउने) भएमा पनि नाकबाट रगत आउँछ । रगतमा हुनुपर्ने प्लेटलेटको कमी हुँदा, रगत जम्न नदिने औषधि सेवन गरिरहेको अवस्थामा पनि नाकबाट रगत बहन सक्छ ।
रक्तजन्य रोगहरू हुँदा होमोफेलिया भएको व्यक्ति, कलेजोको रोग भएका व्यक्तिको पनि नाकबाट बारम्बार रगत आउने हुन्छ । मिर्गौलामा समस्या भएकाहरूमा पनि नाकबाट रगत जाने समस्या हुन्छ ।
नाथ्री फुटिहालेको अवस्थामा के गर्ने ?
- नाथ्री फुटेमा बुढी औला र चोर औलाले कम्तीमा १० मिनेट टाउको अगाडि झुकाईकन नाक थिच्ने ।
- टाउकोमा र नाक माथि बरफ भएमा बरफ नत्र भने चिसो पानीमा कपडालाई भिजाइकन राखी दिने ।
- यसो गर्दा रक्तश्राव नरोकिएमा धर्यताका साथ तुरुन्त नजिकको स्वास्थ्य चौकि वा अस्पतालमा बिरामीलाई लैजाने ।
- यदि बिरामी बेहोस भएमा कोल्टो पारेर टाउको तल पारी नाक थिचि दिने ।
नाथ्री फुट्न नदिन के गर्ने ?
- गर्मी मौषममा यो समस्याबाट बच्न बढि तापक्रम भएको ठाउमा धेरै बेर नबस्ने ।
- पर्याप्त पानी तथा झोलिय खानेकुरा सेवन गर्ने ।
- नाकको उचित हेरचाह तथा सरसफाई गर्ने ।
- नाक कोटयाउने बानी नगर्ने ।
- नाक सफा गर्दा वा रुघा लागेमा जोडले सीं सीं नगर्ने ।
- नानीहरुलाई नाकमा जे पायो त्यही चिज पसाउनबाट बञ्चित गर्ने अथवा त्यसो नगर्न सिकाउने ।
- यस बाहेक माथि उल्लेखित रोगहरुका निदानको लागि समयमा नै सम्बन्धित चिकित्सकको सर सल्लाह लिने ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>