२ वर्षमा मेडिकल काउन्सिलमा परे ७५ वटा उजुरी, ४ चिकित्सक निलम्बित



Download our app to get more features

काठमाण्डौ, ३० असार । नवलपरासी जहदा गाविस वर्डा नं. ८(साविक)का अहमद अलिले आफ्ना बुवा कमरुदिन चुरिहारलको उपचारमा लापरबाही भएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी दिए । उनले २०७३ आसार २९ गतेका दिन ‘आवश्यक जाँचबुझ अनुसन्धान गरि आवश्यक कारवाहि गरि क्षतिपूर्ति दिलाई भराई पाउँ’ भन्दै भरतपुरस्थित भरतपुर आँखा अस्पतालका नाममा उजुरी दिएका थिए । बुबाको मोतियाबिन्दु भएको र आँखाको इन्फेक्सन नलिको जाँच नगरी भरतपुर आँखा अस्पतालमा लापरवाही पूर्वक मोतियाबिन्दुको शल्यक्रिया गर्दा बुबाको बाँया आँखा बन्द भएको हुँदा आँखाकोे गेडी नै फाली कृत्रिम गेडी राख्नुपर्ने भएकाले सम्बन्धित चिकित्सकलाई कारवाही गरी औषधि उपचार खर्च क्षर्तिपूर्ति पाउँ भन्दै उजुरी गरेका थिए । एकवर्ष अघि उनले हालेको उजुरीउपर बल्ल कार्वाही सुरु भएको छ । उजुरी हालेको वर्षदिनपछि काउन्सिलले थप जाँचबुझका लागि भन्दै भरतपुर अस्पतालका नाममा पत्र काटेको छ । 

उजुरी गर्ने अहमद अलिले भने आफ्नो उजुरीउपर प्रभावकारी छानवीन हुननसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आफुलाई अस्पतालले झुट बोलेको दावी गरे । उनले भने ‘मलाई बुबाको आँखा यहीँ ठिक हुन्छ काठमाण्डौ जान पर्दैन भने तर पछि बुबाले आँखा नै गुमाउनुपर्यो ।’

त्यसैगरी, पछिल्लो समय विवादमा आएर राष्ट्रिय ‘इस्यू’ नै बनेको मनमोहन मिर्गौला प्रकरणमा शिव प्रसाद रिमालले पनि ‘दोषीलाई कारवाही गरी मिर्गौलाको क्षतिपुर्ति उपलब्ध गराई पाउँ’ भन्दै २०७४ असार २५ गते नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका छन् । यस विषयमा रिमालले मात्र होइन ‘छानबिन गरि न्याय पाउँ’ भन्दै मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलले पनि काउन्सिलमा निवेदन दिएको छ ।

अलि र रिमालको जस्तै दुई वर्षमा नेपाल मेडिकल काउन्सिलमा चिकित्सकमाथि ७५ वटा उजुरी परेका छन् । जसमा सामान्य र ठूलो प्रकारका गरी काउन्सिलमा ७५ वटा उजुरी परेको व्यवसायिक आचरण समितिका संयोजक डा. शतिस देवले जानकारी दिए । 

कस्ता प्रकारका उजुरी परेका छन् ? 
काउन्सिलमा पर्ने उजुरीमा प्राय चिकित्सकले गलत प्रकारको उपचार गरेको, गलत उपचारका कारण बिरामीको मृत्यु भएको, बच्चा जन्मँदा लापरबाहिका कारण बच्चा तथा आमाको मृत्यु भएको, कमिसनका नाममा बिरामी बाहिर पठाएको, उपचारका क्रममा संवेदनशिल अंगमा नराम्रो दृष्टिकोणले छोएको, यौन दुव्र्यवहार गर्ने घटनाहरु, मनपरी विज्ञापन गरेका(भ्रामक विज्ञापनहरु जस्तै मोटोपना घटाउने, रक्सी छुटाउनु)लगायतका विषयमा उजुरी पर्ने गरेको संयोजक डा. देवले बताए । 

७५ उजुरीमध्ये ६० उजुरीको छानविन सकियो 
दुईवर्षमा काउन्सिलमा परेका ७५ वटा उजुरीमाथि ६० वटाको छानविन सकिएको छ । जसमध्ये १५ वटाको छानवीन प्रकृया चलिरहेको डा. देवले जानकारी दिए । सरकारी कानुन तथा प्रशासनिक प्रकृया पुर्याएर छानविन गर्नुपर्ने भएकोले केही ढिलो पनि हुनेगरेको उनले स्वीकारे । 

४ चिकित्सक निलम्बित
पीडित पक्षले दिएको उजुरीका आधारमा छानबिन गरी २ वर्षको अन्तरालमा ४ जना चिकित्सक निलम्बनमा परेको डा. देवले बताए । उनका अनुसार उजुरीका आधारमा चिकित्सकलाई सजाय भन्दा पनि सचेत गराउनुपर्ने बढी उजुरी परेका हुन्छन् । ‘जसमा चिकित्सकको लापरवाही नै छ भने सिधै सजायँ पाउँछन्’ उनले भने ‘धेरै चिकित्सकलाई छानविन पछि सचेत गराउने काम भएको छ ।’ 

काउन्सिलसम्म नै पुग्दैनन् उजुरी
जनतालाई राम्रोसँग थाहा नै छैन नेपाल मेडिकल काउन्सिल यस्तो संस्था हो जहाँ चिकित्सा सम्बन्धी लापर्बाहि भएका कुरामा उजुरी दिनुपर्छ भन्ने । उजुरी कतिपय अवस्थामा घटना घटेको समयभन्दा ढिलागरी आउने गरेको अनुभव छ डा. देवको । कुनै पनि अस्पतालमा चिकित्सक तथा सम्बन्धीत अस्पताल दोषी भएमा व्यक्तिहरु तोडफोड उत्रेको देखिन्छ । यसरी सुरुमा जिल्ला प्रशासन कार्यालय जाने, त्यसपछि प्रहरी प्रशासन अनि मुद्दापछि मात्र काउन्सिलमा आउने गरेको उनले बताए । त्यसैले सुरुकै अवस्थामा काउन्सिलमा उजुरी कम मात्र आउने गर्छ । चिकित्सकले गरेको लापरबाही माथि कारबाहि गर्ने अधिकार काउन्सिलको भएपनि कहाँ उजुरी दिने थाहा नहुँदा सर्वसाधारण कमैमात्र काउन्सिल सम्म पुग्ने गर्छ । ‘चिकित्सकले गरेको लापरबाहिको उजुरी सिधै काउन्सिलमा आउनु पर्ने हो’ डा. देवले भने ‘तर अन्तिम समयमा आएर मात्र पीडित पक्षको उजुरी आउने गरेको छ ।’ 

काउन्सिलमा किन कम पर्छन् उजुरी
अस्पतालमा हरेकदिन प्राय केही न केही घटना घटिनै रहन्छन् । तर यस्ता घटनाहरु सबै बाहिर भने आउँदैनन् । त्यस्ता घटनाहरु प्राय कानुनी प्रकिया भन्दा पनि आपसी समझदारीमा अस्पताल भित्र नै मिल्ने गरेका कारण उजुरीहरु कम पर्ने गरेको काउन्सिलले जनाएको छ । 
कतिपय अवस्थामा अस्पताल तोडफोडमा उत्रने र आन्तरीक रुपमा पैसा तिरेर मिलाउने र केस त्यही सकिने गर्छ । डा. देवले भने ‘जसका कारण घटनाको सत्थ तथ्य बाहिर आउँदैन । 

कसरी गर्ने उजुरी
चिकित्सा सेवा सम्बन्धी कुनै पनि व्यक्तिमा चित्त नबुझेर वा केही गुनासोे भएमा सिधै काउन्सिलमा सम्पर्क गर्न सकिन्छ । अन्य संस्थामा उजुरी गरेपनि अन्तिममा उक्त मुद्दा काउन्सिलमै पुग्ने पर्छ । त्यसैले चिकित्सकले गरेको लापरवाही वा दुव्र्यवहार सम्बन्धी विषयमा अस्पताल, तोडफोड गर्ने वा प्रहरी प्रशासन भन्दा पनि सिधै काउन्सिलमा उजुरी दिन काउन्सिलले आग्रह गरेको छ । जसका लागि लिखित पत्र मार्फत, इमेल  वा आफै काउन्सिलमा उपस्थित भएर पनि उजुरी दिन सकिन्छ । 

छानविनको प्रकृया
कुनैपनि उजुरीउपर छानविनका लागि सर्वप्रथम पीडित पक्षलाई भेटिन्छ । त्यसपछि सम्बन्धित चिकित्सक तथा अस्पताललाई भेटेपछि विज्ञको सल्लाह पछि मात्र निर्णय गरिन्छ । सम्पूर्ण अनुसन्धान विज्ञको सल्लाहको आधारमा काउन्सिलको पूर्ण वैठकले निर्णय गर्ने प्रावधान रहेको छ ।  

व्यवसायकि आचारण समिति शसक्त हुन सकेन
नेपाल सरकारले व्यवसायकि आचारण समितिलाई जिम्मेबार गर्न शसक्त काम गरेको छैन । मनमोहन मेडिकल कलेजको प्रकरणमा स्वास्थ्य मन्त्रालय आफै कमिटि बनायो तर, मेडिकल काउन्सिलाई गठन गर्नुपूर्व जानकारी नै गराएन । ‘चिकित्सकले गरेको गल्तीको छानविन गर्ने जिम्मा काउन्सिलको हो’ डा. देवले भने ‘यसलाई नै सशक्त बनाउनु पर्नेहो तर, मन्त्रालयले जानकारी बिना नै आफ्नो समिति बनाउँदै आएको छ ।’ 

उनले भने ‘यसरी बनाइएको समितिलाई कुनै अधिकार हुँदैन । सजाए दिने वा नदिने भन्ने अधिकार काउन्सिलमा निहित छ ।’ जसका कारण सत्य तथ्य बाहिर आउन सकेको छैन । यस्ता घटनामा समिति गठन गरेर टार्नुभन्दा काउन्सिललाई आफ्नो कर्तव्य र अधिकारमा काम गर्न दिनुपर्ने काउन्सिलको भनाइ छ । 


 

Last modified on 2017-08-01 13:53:13

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts