सन्दिपः जसले आमाबुबा, आवाज, मिर्गौला सबै गुमाए
काठमाण्डौ । आमाको कोखबाट पैदा भएसँगै अभिभावकको काखमा रमाउदै हुर्कन पाउने बालबालिका साँच्चै भाग्यमानी हुन्छन् । शिक्षा, स्वास्थ्य र संस्कारका कुरा त पछिका कुरा हुन् । सबैभन्दा पहिले त बच्चाले आमाबुबाको हेरचाह र स्याहार पाउनुपर्यो । तर, कसैकसैको हकमा भने भगवानले नै हदैसम्म अन्याय गरेको भेटिन्छ । यस्तै एकजना अभागी पात्रको कथा हो यो । नाम सन्दिप श्रेष्ठ, वर्ष २६ । न त प्रस्ट सुन्न सक्छन्, न त राम्ररी हिँड्न सक्छन् । बोली त आउदै आउदैन । एउटै व्यक्तिमाथि दैवल यतिमात्र अन्याय गरेको छैन । पछिल्लो समय आफ्ना दुवै मिर्गौला समेत गुमाएका छन् ।
राजधानीको विशालनगरमा सन्जिप प्रजापति नामका व्यक्तिले सन्दीपको संरक्षण गरेका छन् । उनिहरु बीच कुनै पनि नातासम्बन्ध छैन । सन्दिपका नातेदार नभएका पनि होइनन् । नातेदार भएर के गर्ने जब भगवानले नै ती नाताहरु टुटाइदिएपछि । सन्दीपकी आमा इन्दुले उनलाई जन्माउँदासाथ संसार छोडेर गइन् । आमाले बितेपछि सन्दिपको हेरविचार उनका बुबाले गर्न थाले । सन्दिप जव दुई महिनाका भए तब उसका बुबा अष्ठमानको पनि मोटर दुर्घटनामा परेर मृत्यु भयो । जन्मँनासाथ बुबाआमा बिताउनुको पीडा महशुस गर्नपनि नपाएका उनले उमेर बढेसँगै कति हो कति हण्डर, ठक्कर र पीडा भोग्नुपर्यो ।
बालखमै आमाबुबा गुमाएका उनको स्थायी घर कहाँ हो भन्ने समेत कसैलाई पनि थाहा छैन् । आमा बाबुको मृत्युभएपछि मामा राजन कर्मार्चायको साथमा बस्दै आएका सन्दिपले केन्द्रिय बहिरा उच्च माध्यामिक विद्यालयबाट कक्षा एक सम्मको अध्ययन पुरा गरेको विद्यालयको सिफारिसमा उल्लेख छ ।
२६ वर्षसम्म मामाघर बसेका सन्दिप गत बैशाखमा एक्कासी बिरामी भएपछि उपचारका लागि वीर अस्पताल पुगे । मामाघरको पनि आर्थिक अवस्था कमजोर भएकाले मामाले पनि सन्दिपलाई घरमा राख्न चाहेनन् र निकालिदिए । यो कुरा सन्दिपका कुनै टाढाका नातेदारले थाहा पाए र सन्दिपको संरक्षणमा जुटे ।
बिरामी परेदेखि नै मामाले बेवास्ता गरेपछि सन्दिपको उपचारका लागि डिल्लीबजार काठमाण्डौकी विन्दु कर्माचार्य , कपन बस्ने अनु पाण्डे र कुपन्डोल बस्ने चन्दा श्रेष्ठले आर्थिक सहायता गर्दै आएका छन् । उनीहरु कै संलग्नतामा सन्दिपको रेखदेख गर्न मासिक ७ हजार दिएर सन्जिव प्रजापतिको घरमा राखेका छन् ।
वीर अस्पतालमा पाचँपटक डायलासिस गर्दा लगभग ११ हजार ५ सय खर्च भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौं जिल्लास्तरीय सिफारिस समितिले व्यवस्था गरे अनुसार विर अस्पतालमा उपचार गरिएको छ । तर, वीर अस्पतालले उनलाई काठमाण्डौ मेडिकल कलेज सिनामंगल पठाइदियो । केएमसीमा उपचार खर्च लगभग १७ देखि २० हजार खर्च भएपछि आर्थिक अवस्थाले धान्न नसक्ने देखेर उनको उपचारमा जुटेका तिनजना स्वयंसेवी डायलासिस गर्ने अस्पताल खोज्दै हिमाल अस्पताल पुगे । औषधि बाहेक सबै अस्पतालले निशुल्क गरिदिँदा पनि औषधि किन्ने रकम नै जोहो गर्न गाह्रो भएको स्वयंसेवी सहयोगी बिन्दुले बताइन । उनले भनिन् ‘अहिले सम्म त हामी तीनजनाले धानिरहेका छांै । अब त औषधिको लागि रकम जुटाउन पनि गाह्रो भइसक्यो ।’ उनले थपिन ‘सन्दिपको मामा त आउनु हुन्छ हालखबर बुभm्नु हुन्छ जानुहुन्छ । उहाँको पनि आर्थिक अवस्था नाजुक छ । के गर्ने कसो गर्ने ?’
सन्दिपको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा आर्थिक सहयोग गरिदिनु भनेर काठमाडौं महानगरपालिका सिफारिस पनि गरेको छ । अहिले सन्दिपको उपचार हिमाल अस्पताल ज्ञानेश्वरमा भइरहेको छ । उनलाई हप्ताको दुईपटक हेमोडाइलासिस गर्नुपर्छ ।
सन्दिपको उपचारका संलग्न डाक्टर रजत कायस्थले सन्दिपलाई पुनर्जिवन दिने एउटै विकल्प भनेको मृगौला प्रत्यारोपण मात्र भएको बताए । मिर्गौला फेर्न नसके निरन्तर डाइलासिस गर्नुपर्छ ।
त्यसो त सन्दिपलाई एउटा मृगौला दिनेसम्म कोहि आफ्न्त छैनन् । यस्तो अवस्थामा निरन्तर डाइलासिस गरेर औषधि किन्न आर्थिक समस्यापनि हुँदै आएको छ । तिनजना निरन्तर सहयोगमा जुटेपनि उनीहरुले पनि कहिलेसम्म कसरी धान्ने भन्ने प्रश्न छ ।
मृगौला ६० देखि ७० प्रतिशत नबिग्री थाहा नपाईने हुनाले पनि अन्तिम समयमा मिर्गौला फेल भएको थाहा पाइने डाक्टर कायस्थले बताए । केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालयमा कक्षा एकसम्म अध्ययन गरेका सन्दिपले साङकेतिक भाषा बाट आफुलाई केहि पनि नभएको बताउँदै आएका छन् । तर, तिम्लाई केही भएको छैन, ठिक हुन्छ भनिदिने कोहीपनि नहुँदा भने सन्दिपका आँखा उसैउसै रसाएको देखिन्छ बेलाबेला ।
कसरि हुन्छ मिर्गौला खराब ?
डाक्टर कायस्थले मिर्गौला खराब हुनुमा मधुमेह, उच्चरक्तचाप, अत्याधि औषधिको सेवन तथा विभिन्न आन्तरिक समस्या कारक हुने बताए ।
कम पानि पिउने, अनिद्रा, मासु बढि खाने, पोषणको अभाव, नुन बढि, पिसाब रोक्ने, गुलियो खाने बानी, पेनकिलर औषधि सेवन , चिया कफि बढि र जाँड रक्सीको कारणले पनि मृगौला फेल हुने सम्भावना ह्वात्तै बढ्ने उनको भनाइ छ ।
यसका लक्षण के के हुन
- अल्छि लाग्ने
- खान मन नलाग्ने
- विस्तारै दुब्लाउँदै जाने
- वान्ता हुने
- स्वाँ स्वाँ हुने
- ध्यान केन्द्रित गर्न नसक्ने
- खुट्टा र कोखाको पछाडि दुख्ने
- छाला चिलाउने
- पिसावमा परिवर्तन
- मुख तितो हुने
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>