पीजी भर्नासम्बन्धी सरकारी निर्णय आएपनि आईओएममा लागेको ताला किन खुलेन ?
काठमाण्डौ । चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) मा भर्ना गर्दा योग्यताक्रमका आधारमा नै विद्यार्थी भर्ना गर्नुपर्ने लगायत माग राख्दै महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियुले आइओएमको डिन कार्यालयमा लगाएको ताल्चा सातादिन बित्दा समेत खुलेको छैन ।
तालाबन्दी गर्ने क्याम्पसको स्ववियुले चिकित्सा शिक्षा सुधारका लागि उठाइएका आफ्ना जायज माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने अडान राख्दा अझै तालबन्दी नखुलेको हो । संघर्षरत स्ववियुले डीनको आदेशमा गरिएको भनिएको एमबीबीएसको गैरकानुनी भर्ना रद्ध गरी दोषीलाई कारबाही गर्नुपर्ने , पीजी आरक्षण कोटाको भर्नाका विषयमामा प्राडा इश्वर लोहनीको कार्यदलले तयार गरेको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने र उक्त कार्यविधि अनुरुप नभएको विद्यार्थी भर्ना खारेज हुनुपर्ने, ओपन हाउस काउन्सिलिङबाट छानिएका विद्यार्थीको भर्ना आइओएम डीन अफिसबाट गरि सम्वन्धीत कलेजमा सिफारिस गर्नुपर्ने, आइओएम अन्तर्गतका सबै कार्यक्रमहरु यसै वर्षबाट निशुल्क गर्नुपर्ने माग अघि सारेको छ । स्ववियुले स्वास्थ्य मन्त्रालयसँग भएको कम्युनिटी पोष्टिङको सम्झौता अनुरुप आवासीय चिकित्सकलाई सेवा सुविधा उपलव्ध गराउनुपर्ने लगायत माग पनि राखेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सा शास्त्रतर्फको स्नातकोत्तर तहमा योग्यताक्रम(मेरिट) कै आधारमा भर्ना गर्न सम्बन्धित निकायलाई निदेशन पनि दिएको छ । गत बिहीवार बसेको कार्यालयको बैठकले सरकारले २०७२ असोज १ गरेको निर्णय र गत जेठ २१ गते सर्वोच्च अदालतले गरेको निर्णय अनुसार मेरिटकै आधारमा भर्ना गरी मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराउन बैठकले निर्णय गरको हो । त्यस्तै मेरिटको आधारमा भर्ना नगरे प्रचलित कानून बमोजिम सम्बन्धन खारेजसमेत गरिनेपनि मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषदले भर्नाको लागि आदेश दिएपनि भर्ना सम्बन्धीत कलेजले नगरी डिन कार्यलयले नै गर्नुपर्ने अडान स्ववियूको रहेको छ । ‘निजी कलेजहरूले ओपन हाउस काउन्सेलिङ अनुसार छनोटमा परेका र त्रिविले तोकेको शुल्कमा विद्यार्थी भर्ना गर्नुपर्छ’ स्ववियु सभापति मिलन गैरेले भने ‘त्रिविले मेडिकल शिक्षामा पीजी अध्ययनका लागि अधिकतम ३१ लाख रुपैयाँ शुल्क तोकेको छ, तर सम्बन्धीत कलेजलाई नै भर्ना गर्न दिँदा महङ्गो लिने हुँदा डिन कार्यालयले नै भर्ना लिनुपर्छ ।’
योग्यताक्रम मिचेर निजी कलेजले आफु खुसी योग्यताक्रम बाहेकका विद्यार्थीलाई भर्ना गरेका थिए । यसरी भर्ना लिनेमा नेसनल मेडिकल कलेज विरगञ्ज र युनिर्भसल कलेज अफ मेडिकल साइन्स भैरहवा रहेका छन् ।
सभापती गैरेले भने ‘आइओएमको दायित्व हो भर्ना लिने । प्राइभेटमले महङ्गो लिएका छन् ।’ आफूहरुको माग पुरा नहुने माग छैनन् त्यसैले माग पुरा नहुदासम्म ताला नखोल्ने गैरेले बताए ।
मेरिटकै आधारमा भर्ना भई आइओइममा पढाईसुरु भईसकेको छ । तर, प्राइभेट कलेजहरमा अहिलेसम्म पनि भर्ना हुनसकेको छैन ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>