मन्त्री नहुँदा स्वास्थ्य मन्त्रालय सुनसान, तीनजना ‘सीपालु’ प्रमुख विशेषज्ञलाई दिन कटाउनै धौ धौ...
काठमाण्डौ, २१ असार । वीर अस्पतालका वरिष्ठ ग्यास्ट्रोइन्ट्रोलोजिष्ट प्रा.डा दिनेश श्रेष्ठको दिनचर्या हिजोआज फेरिएको छ । गत असार ४ गतेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्वास्थ्यमन्त्रालय अन्तर्गत १२ औं तहमा बढुवा गरेसँगै उनको ‘निरन्तरतामा क्रमभंगता’ आएको हो । उनी अहिले मन्त्रालयको ‘सचिव सरह’ भएका छन् ।
अब उनको दैनिक वीर अस्पताल जाने ‘सेड्युल’ फेरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्राध्यापक समेत रहेका उनको विद्यार्थी पढाउने क्रम पनि रोकिएको छ । दैनिक ओपिडी, वार्डको ड्युटी पनि छैन । बढुवा भएसँगै डा. श्रेष्ठ हिजोआज स्वास्थ्य मन्त्रालयमा रहेको उनको आफ्नै कार्यकक्षमा भेटिन्छन् । उनको हाजिर अब स्वास्थ्य मन्त्रालयमा हुन थालेको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालय पुग्दा उनी आफ्नै कार्यकक्षमा दिन कटाउने बहानाहरुमा रमाउँदै थिए । धन्न वीरमै कार्यरत अर्की प्राध्यापक डा. रमिला श्रेष्ठ ‘लञ्च आवर’मा डा. दिनेशलाई भेट्न आइपुगेकी थिइन् । उनलाई समय बिताउन केही सहज भएको जस्तो देखिन्थ्यो । डा. श्रेष्ठको टेबल खाली खाली थियो । अघिपछि मन्त्रालय पुग्दा हाकिमहरुको टेबलमा चाङ का चाङ फाइल अटेसमटेस हुन्थे । हाकिमहरुको ‘व्यस्तता’का कारण ती फाइल अघि बढ्न समयपनि लाग्थ्यो । तर, डा. दिनेशलाई त्यस्तो भ्यानभ्याई केहीपनि छैन । ‘मन्त्रि नहुँदा अहिले केही जिम्मेवारी र अधिकार दिइएको छैन । आउने हाजिर गर्नेमात्र हो ।’ उनले सुनाए । स्वास्थ्य सचिवमा डा. किरण रेग्मी नियुक्ति भएपनि विभागीय मन्त्री नहुँदा उनलाई कुनै अख्तियारी छैन । उनलाई नै अख्तियारी नभएपछि सचिवलाई सघाउने प्रमुख विशेषज्ञहरुलाई झन् के अधिकारी प्रत्यायोजन हुनु ?
तरपनि, डा. रेग्मीलाई भने भर्खरै सचिव बनेकोमा बधाई खाने कार्यक्रम, प्रमुख अतिथि बनाउने जस्ता कार्यक्रममा धेरै निम्ता हुन्छ । त्यसले गर्दा उनी बेफुर्सदी छिन् । तर डा. दिनेशलाई त्यस्तो च्यापाच्याप केही छैन । बढुवा भएपछि दैनिक चिकित्सा र अध्यापनको भूमिका पनि नहुनु र यता मन्त्रालयमा पनि हाजिर ठोकेर तलबमात्र खानुपर्दा उनीपनि त्यति साह्रो सन्तुष्ट देखिएनन् । ‘यता काम भए त व्यस्त भइन्थ्यो, यता दिनभर बस्दै गर्दा चाहीँ अस्पतालमा भए कति बिरामी उपचार गरिन्थ्यो होला...जस्तो लाग्छ ।’ उनले असन्तुष्टिभाव व्यक्त गरे ।
अलि ओल्लापटिको कोठामा त्यस्तै अर्का ‘भेट्रान’ प्राध्यापक डा. विनोदमान श्रेष्ठ थिए । उनको टेबलपनि सुनसान नै थियो । उनको अफिसटाइम पनि म्याजेजिन पढेरै बित्छ । जीवनभरमा एकपटक रुकुममा मेसु भएर प्रशासनिक अनुभव लिएका उनी पनि अनुभवी प्रशासकभन्दा सीपालु चिकित्सक हुन् । यसअघिमा कान्तिमा भेटिने उनीपनि न्याम्सकै 'पिडियाट्रिक्सको प्रोफेसर' हुन् । उनको पनि डा. दिनेशकै जस्तो अध्यापन र बिरामी जाँच्ने क्रममा विराम लागेको छ । ‘मन्त्रि नहुँदा हाम्रो रोल र ड्यूटी फिक्स भएको छैन । त्यसैले म खाली दिमाग बस्नुभन्दा म्यागेजिनहरु पढेर आफुलाई व्यस्त राख्छु ।’ उनले सुनाए । डा. विनोदमानले पनि एकैदिन १२ औं तहमा बढुवा खाएका हुन् ।
प्रसुति गृहमा कार्यरत चिकित्सक एवं स्वास्थ्य सेवा विभागकी पूर्व महानिर्देशक डा. पुष्पा चौधरीपनि एकैदिन १२ औं तहमा बढुवा हुनेमध्ये की एक हुन् । उनले त डा. किरणको ठाउँमा आफु स्वास्थ्य सचिव बन्न दौडधूप समेत गर्नभ्याइन् । पछिल्लो समय राजनीतिक शक्तिकेन्द्रसँग निकट भएर मन्त्रालयअन्तर्गत आकर्षक भूमिका मिलाउन जानेकी उनलाई भने डा. दिनेश र विनोदमानको जस्तो दिन कटाउन मुश्किल नै चाहीँ छैन । यद्यपी उनी अहिले घरबिदामा छिन् ।
त्यसो त सचिवलाई काममा सघाउने प्रमुख विशेषज्ञको भूमिका हो । तर, अहिले त सचिवकै काम छैन । भ्यानभ्याई भएपनि पछिल्लो समय मन्त्रालयमा प्रमुख विशेषज्ञलाई खासै भूमिका दिइँदैन । प्राय महत्वपूर्ण फाइल सचिवकै टेबलमा पुग्छ । भूमिका विभाजन गरेर प्रभावकारी काम नहुँदा सचिवकोमा चाहीँ फाइलको चाङ हुने तर प्रमुख विशेषज्ञ भने टोलाएर दिन कटाउनुपर्ने बाध्यता नयाँ होइन ।
देख्दा त सेवा निवृत्त हुने समय नजिकै आएकाहरुलाई अस्पतालबाट छुटाएर मन्त्रालयको एसीरुममा राख्नु सेवाअवधिभरको योगदानको कदरजस्तो पनि देखिएला । तर, उपचार, प्राध्यापन जस्ता काममा अनुभवशाली, योग्य र क्षमतावान जनशक्तिलाई मन्त्रालयमा हाजिर गराएर मात्रै अनुत्पादक बनाइएको छ ।
के हो प्रमुख विशेषज्ञको जिम्मेवारी र अधिकार ?
स्वास्थ्य मन्त्रालको संरचनामा प्रमुख विशेषज्ञ मन्त्री र सचिवपछिका ‘हाकिम’ हुन् । उनीहरुलाई मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा र केन्द्रहरुको नियमन, सुपरिवेक्षण र भूमिका दिने प्रचलन छ । सचिवलेमात्र सबै विभाग र महाशाखाहरुको नेतृत्व गर्न नसक्ने भनेर प्रमुख विशेषज्ञको भूमिका बनाइएको हो । तर, सबै तहमा कार्यकारी अधिकार सहितका निर्देशक हुने र माथि सचिवको बोलवाला चल्ने भएकाले प्रमुख विशेषज्ञहरु खासै ‘पावरफुल‘ हुँदैनन् । सेवा निवृत्त हुन थोरैमात्र समय बाँकी हुँदा बाह्रौं तह हुनेगरेका उनीहरुले ‘स्किल’को पूर्ण सदुपयोग गर्नुभन्दा रेस्ट पिरियडकै रुपमा बिताउने क्रम देखिन्छ । कार्यकारी अधिकार र अख्तियारी सहितको भूमिका भए उनीहरुको अनुभवबाट मन्त्रालयले केही लिनसक्थ्यो ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।