शुद्ध पिउने पानी पाएपछि स्थानीयवासी खुसी
रामपुर (पाल्पा), ६ असार । वर्षौंदेखि खोलाको धमिलो पानी पिउन बाध्य रामपुर नगरपालिका–८ भुजात, सानो बगैँचाका स्थानीयवासीले अहिले शुद्ध पिउने पानी उपभोग गर्न पाएपछि खुसी भएका छन् ।
बस्ती नजिकै पानीको धारा, मूल, कुवा, इनार नहुँदा यहाँका स्थानीयवासीले खोलामा बगेर आएको पानी पिउन बाध्य थिए ।
स्थानीयवासीले घरघरमा अर्थ सङ्कलन गरेर बस्तीदेखि करिब चार किलोमिटर टाढा रहेको मूलको पानीलाई व्यवस्थित गरेर सबैका घरघरमा पानी आएपछि त्यहाँका स्थानीयवासीमा खुसीयाली छाएको छ ।
खोलामा बगेर आएको फोहर पानीले स्वास्थ्यमा प्रतिकूल असर पारेपछि चेतनाको विकास हुँदै जाँदा यहाँका स्थानीयले आफ्नै लगानी र जनश्रमदानमा खानेपानी योजना निर्माण गरेका हुन् ।
त्यहाँका ४७ घरधुरीका स्थानीयवासीले रु एकलाख २० हजारको लागतमा योजना निर्माण गरेर घरघरमा खानेपानी उपभोग गर्न थालेको स्थानीयवासी सरोज अधिकारीले जानकारी दिए ।
पहिले खानेपानीको अभावमा टाढाटाढासम्म गाग्री बोकेर पानी खोज्न बिहानभरको समय बिताउनु पर्दा घरायसी कामकाजमा समस्या आउने गरेको शान्ति विकको भनाइ छ । अहिले घरमै पानी आएपछि धेरै सहज भएको उनी बताउछन् ।
फोहर दूषित पानी पिउनु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि खानेपानीको वैकल्पिक उपाय नहुँदा वर्षौंसम्म खोलाको पानी पिउन बाध्य भएको स्थानीय उमाकान्त खनालले बताए । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>