म्याद सकिएको ३ वर्षपछि भिटामिन ‘बी’ कम्प्लेक्स खरिद सम्झौता रद्द हुँदै
काठमाडौं । सरकारले सात वर्षअघि भिटामिन ‘बी’ कम्प्लेक्स खरिद गर्न एक कम्पनीसँग गरेको सम्झौता रद्द गर्ने भएको छ । आव ०६७/०६८ मा हस्पिटेक इन्टर प्राइजेज नामक कम्पनीसँग गरेको सम्झौता रद्द हुने भएको हो ।
तीन वर्षका लागि भनेर गरिएको सम्झौताअनुसार औषधि आवश्यक नपर्ने देखिएपछि रद्द गर्न लागिएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भीमसिंह तिङ्करीले बताए । सम्झौताको म्याद २०७१ मै सकिएको थियो । निर्देशक तिङ्करीले भने, ‘ पहिले तीन वर्षका लागि औषधि ल्याउने सम्झौता भएको रहेछ । त्यसवेला केही औषधि मौज्दात पनि रहेकाले सम्झौताअनुसार खरिद गर्न रोकेका थियौँ । बीचमा केही औषधि ल्यायौँ । तर, अहिले आवश्यक नपर्ने भएकाले सम्झौता रद्द गर्न लागेका हौँ ।’
अत्यावश्यक औषधिभित्र भिटामिन बी कम्प्लेक्स नपर्दा किन्न मिलेन
उक्त कम्पनीले १८ करोडभन्दा बढी भिटामिन बी कम्प्लेक्स खरिद गर्न बाँकी छ । तर, औषधि व्यवस्था विभागले अत्यावश्यक औषधिको सूचीबाट भिटामिन ‘बी’ कम्प्लेक्सलाई हटाएपछि बाँकी औषधि ल्याउन नमिल्ने अवस्था आएको हो । औषधि ल्याउने–नल्याउनेमा महाशाखाभित्र अझै अन्योल कायमै छ ।
औषधि खरिद सम्झौताको म्याद दुई वर्षअघि नै सकिएको र अत्यावश्यक औषधिको सूचीबाट हटाइएकाले तत्काल तीन करोड औषधि ल्याएर बाँकीलाई रद्द गर्न पनि मिल्ने पनि नहुँदा अन्योलता बाँकी रहेको हो ।
आपूर्तिकर्ताको १० प्रतिशत पैसा दिन नसकिने
आपूर्ति व्यवस्था महाशाखाका अनुसार औषधिको १० प्रतिशत रकम दिन बाँकी रहेको छ । तर, सूचिमा औषधिको नाम नभएपछि पैसा दिनसमेत नमिल्ने महाशाखाको भनाइ छ ।
कम्पाउन्ड सोडियम ल्याकटेट ५००—५४० एम.एल, भिटामिन ‘बी’ कम्प्लेक्स र सिप्रोफलोक्सासिन आई/इअर औषधि खरिद गर्न जम्मा २० करोड ९६ लाख ८१ हजार ६ सय रुपैयाँमा खरिद गर्ने पूर्व सम्झौता थियो । सम्झौता अनुसार कम्पाउन्ड सोडियम ल्याकटेट ५०० —५४० एम.एल, र सिप्रोफलोक्सासिन आई/इअर औषधि भने खरिद भइसकेको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>