रक्तदाता अनुभूतिः जसले अनवरत ५० औं पटकभन्दा बढी रक्तदान गरे
काठमाडौं, ३१ जेठ । रगतदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ रगत र रगत तत्वको महत्व, रक्तदान गर्न आम समुदायलाई थप उत्प्रेरणा जगाउन विविध कार्यक्रम आयोजना गर्दै नेपालमा १३औँ विश्व रक्तदाता दिवस आज मनाइँदैछ ।
जीवन दानका रुपमा हेरिने रक्तदान गर्नेहरु पछिल्लो समयमा नेपालमा पनि बढ्दै गएका छन् । यसैबीच केही समय अगाडी १५० औं पटक रक्तदान गरेर स्यंवसेवी रक्तदाता समाज नेपालका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्य संभवतः नेपालकै धेरै रक्तदान गर्ने व्यक्तिका रुपमा चिनिएका छन् । नेपालमा एक सयको हाराहारीमा रक्तदान गर्नेको संख्या उल्लेख्य रहेको बताइन्छ । आज हामीले ५० औं पटक भन्दा बढी रक्तदान गरेका केही उदाहरणीय व्यक्तित्वको छोटो अनुभव प्रस्तुत गरेका छौं ।
१. तिर्थराज अवस्थी–(नेपाल स्वंयसेवी रक्तदाता समाज, कास्कीको अध्यक्ष)
मेरो ब्लड ग्रुप ओ पोजेटिभ हो । मैलै हालसमम ५० पटक रक्तदान गरिसकेको छु । रक्तदान मेरा लागि आत्मसन्तुष्टि हो मेरो लागि । म आफूलाई साइक्लिङ रक्तदाता भनेर पनि चिनाउन मन पराउँछु । मैलै नेपाल भर एकल साइकलयात्रा गरिसकेको छु । साईकलमै भारतको दार्जिलिङ पुगिसकेको छु । साइकल चढौं स्वस्थ हौउँ र रगतदान गरौं भन्ने मेरो मूलमन्त्र छ । बाँच्न पाउनु हामी सबैको अधिकार हो ।
हामी स्वस्थ व्यक्तिले गर्न सक्ने सजिलो र परोपकारी काममध्ये रक्तदान पहिलो हो भन्ने मेरो बुझाई छ । हामीले सहयोग गरेमात्र अर्को एक जनाको ज्यान बाँच्न सक्छ । रगतको विकल्प रगत नै भएका कारण पनि रक्तदानको महत्व धेरै छ । शुरुमा रुचीका रुपमा शुरु गरेको रक्तदान अब मलाई नशा जस्तै भएको छ रक्तदान नगरी बस्ने म कल्पना समेत पनि गर्न सक्दिन यो मेरा लागि एडिक्सन नै भइसक्यो । अब हामी युवा पुस्ताले रगतको जिम्मा लिनुपर्दछ अनिमात्र स्वस्थ समाज बन्न सक्छ भने रगतको अभावमा कसैको अकालमा ज्यान जानबाट बच्न सक्छ । रक्तदान स्वस्थताको प्रमाण पनि हो । युवाहरुलाई मेरो आग्रह छ । आफ्नो १८ औं जन्मदिनबाट रक्तदानको शुभारम्भ गरौं, जीवन दान गरौं ।
२. रुपकेशरी बज्राचार्य –(के. सदस्य नेपाल स्वंयसेवी रक्तदाता समाज नेपाल )
मेरो ब्लड ग्रुप ए पोजेटिभ हो । मैलै २०४५ सालयताबाट नियमित रक्तदान गरिरहेकी छु । अहिलेसम्म ५१ औं पटक रगत दिइसकें । वि.सं. २०४४ सालतिर बुटवलमा देखेको भयानक सवारी दुर्घटना र त्यसपछि रगतको अभावमा कतिले ज्यान गुमाउनु परेको घटनाबाट मलाई रक्तदान गर्ने प्रेरणा मिलेको हो । रक्तदान गर्ने अघिल्लो दिनदेखी नै मन फुरुङग भइरेहको हुन्छ । म प्रत्येक पटक रत्तदान गरिसकेपछि आफूलाई फ्रेस महसुस गर्छु । मेरो रगतले कसैको ज्यान बच्ने छ भनेर भित्रभित्रै निकै खुशी भइरहेकी हुन्छु । मैलै दिएको रगत कस्को शरीरमा पुग्यो भन्नेमा मलाई चासो रहन्न बस् म यति सोच्छु कि मैलै पुण्यको काम गरें ।
३. जीतेन्द्रमान शाक्य– उपाध्यक्ष –(नेपाल स्वंयसेवी रक्तदाता समाज, कास्की)
मेरो ब्लड ग्रुप ए पोजेटिभ हो । मेलै अहिलेसम्म ५८ औं पटक रक्तदान गरिसकेको छु । मैलें गरेको रक्तदानबाट कसैले पुनर्जीवन पाइरहेको हुन्छ । स्वयं रक्तदाता पनि झन स्वस्थ हँुदै जाने भएकाले मलाई रक्तदान गर्न दिनानुदिन इच्छा बढ्दै गइरहेको छ । रक्तदानले यूरिक एसिड,प्रेसर, जस्ता रोग लाग्नै नदिने अध्ययनहरुले देखाइरहेका छन् । जो व्यक्ति नियमित रक्तदान गरिरहेको हुन्छ उ शारीरिक तथा मानसिक रुपले झन् झन् स्वस्थ हँुदै जान्छ, यतिमात्र नभएर उसको अनुहारमा पनि चमक आउने गर्दछ । रक्तदान एउटा सामाजिक काम हो । मैलै वि.सं २०५५ सालबाट नियमित रक्तदान गर्दै आएको छु ।
४. कृष्ण चौहान क्षेत्री–अध्यक्ष–(नेपाल स्वंयसेवी रक्तदाता समाज रुपन्देही)
मेरो ब्लड ग्रुप बि पोजेटिभ हो । मैलै अहिलेसम्म ५३ औं पटक रक्तदान गरिसकें । विगत १४ वर्षदेखी मैले नियमित रत्तदान गरिरहेको छु । यसले मलाई झन् स्वस्थ बनाउँदै लगेको छ । रक्तदानले कमजोर भइन्छ भन्ने भनाई शतप्रतिशत गलत हो । म अरुको जीवन बचाउनका लागि रक्तदान गर्छु । प्रत्युेक ९० दिनमा म रगत दिने गर्दछु । ८९ दिन जुन रक्तदान गर्ने अघिल्लो दिन हुन्छ म निकै एक्साइटेड भइरहेको हुन्छु । रगत दान गर्न कुनै विशेष खाना खानुपर्दैन । अलि तरल पदार्थ वेशी खाएमात्र नि पुग्छ ।
प्रस्तुतिः लक्ष्मी थापा क्षेत्री