दुर्गमको पिडा : दरखास्त आह्वान गर्दा पनि आउँदैनन् चिकित्सक,रोल्पा जिल्ला अस्पतालको प्रसूति सेवा ठप्प
            रोल्पा, २७ जेठ । जिल्ला अस्पताल रेउघा रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ ।
जसका कारण प्रसूति सेवा लिन आएका सेवाग्राही महङ्गो शुल्क तिरेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् । जटिल प्रसूति सेवाका लागि भवनलगायत सम्पूर्ण पूर्वाधार रहेपनि चिकित्सकको अभावमा सेवा प्रभावित हुँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा सो सेवा दिनका लागि तालिम लिएका चिकित्सक नाजिर खान गत वैशाख २८ गतेदेखि जागिर छोडेर गएपछि सेवा प्रभावित भएको हो । रोल्पा नगरपालिका– २ की उमा चन्दले गर्भवती चेक जाँचका लागि जिल्ला अस्पताल गएपनि तालिम प्राप्त चिकित्सकको निरन्तता नहुँदा सेवा लिन कहाँ जाने हो भन्ने कुराले चिन्तित बनाएको बताए । आर्थिक अवस्था कमजोर रहेका तथा घरमा सहयोग गर्ने अन्य मान्छे पनि नभएका परिवारलाई निकै कठिन हुने गरेको उनको भनाइ छ । अस्पतालमा तालिम प्राप्त चिकित्सक नहुँदा सेवा लिन आएका नौजना सेवाग्राहीलाई यसै महिना जिल्ला बाहिर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।
तालिम प्राप्त चिकित्सकको अनुपस्थितिसँगै अर्को चिकित्सक भर्ना गर्नका लागि दरर्खास्त आह्वान गरिएको भए पनि कसैले दरखास्त नदिँदा पदपूर्ति गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख तेजेन्द्र साउदले जानकारी दिए । नयाँ चिकित्सक भर्नाका लागि स्थानीय निकायसँग समन्वय भइरहेको साउदले बताए । रोल्पामा विशेषज्ञ चिकित्सक आउन नमान्ने र जुनियर चिकित्सक पनि राम्रो अवसर पाउने बित्तिकै अर्को ठाउँमा गइहाल्ने भएका कारण समस्या आउने गरेको उनले बताए ।  जिल्ला अस्पतालबाट जटिल प्रसूति सेवा सञ्चालन भएसँगै सेवा लिनेको सङ्ख्या ६५ पुगेको जिल्ला अस्पताल रोल्पाका स्टाप नर्स शर्मिला आचार्यले जानकारी दिइन । अघिल्ला दुई वर्षमा ३१ जनाले मात्र सेवा लिएकोमा चालु आर्थिक वर्षको वैशाखसम्म ३४ जनाले सेवा लिएको देखिएकाले यसको विश्वसनियता बढिरहेको आचार्यको भनाइ छ । रासस
 
                
                
                                    
                        
                        
                        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                
                
                
                
                
बस को ड्राइवर खलासी को भन्दा कम तलब दिने भनेर बिज्ञपन गर्ने अनी डाक्टर आएन भन्ने हैन लाज लाग्दैन भनेको के ताइ न तुइ को समाचार छापेको चिकित्सा लाई पेशा सगै ब्यबसाय पनि बनाउ सिद्दान्त र आदर्श ले पेट भरिन्न