बाबियाचौरमा भूकम्प प्रतिरोधी स्वास्थ्य चौकीको भवन बन्दै
बाबियाचौर, २७ जेठ । म्याग्दिको रघुगङ्गा गाउँपालिका– २ भगवतीमा स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको छ ।
सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले सुविधा सम्पन्न भवन निर्माण सुरु गरेको हो । महादेव निर्माण सेवाले रु एक करोड ३४ लाखमा भवन निर्माणका लागि ठेक्का लिएको छ । दुई तल १२ कोठे सो भवन आगामी मङ्सिरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण व्यवसायी कृष्णकुमार शेरचनले बताए । डिपिसी गरेर पहिलो तलाको झ्यालसम्मको पर्खाल निर्माण भइसकेको छ । निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाइएको छ । सो भवन भूकम्प प्रतिरोधात्मक क्षमताको हो । भवन निर्माणका लागि स्थानीय दुई व्यक्तिले छ वर्षअघि चार रोपनी भन्दा बढी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराएका थिए ।
भवबहादुर भण्डारीले रु साढे छ लाखमा तीन रोपनी र लोकबहादुर भण्डारीले रु एक लाख भन्दा बढीमा एक रोपनी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराएका हुन् । हाल साविक भगवती गाविसको जीर्ण अवस्थामा रहेको भवनको दुई कोठाबाट सेवा प्रवाह गर्दै आएको चौकीका प्रमुख टीकाबहादुर शाहीले बताए । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ । सो स्वास्थ्य चौकीबाट भगवतीका साथै पिप्ले र बेग गाविसका बासिन्दाले सेवा लिँदै आएका छन् । सेवाग्राहीको सङख्या दैनिक बीस जनाको अनुपातमा रहेको छ । रासस