इनरुवा अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन
इटहरी, २७ जेठ । नेपाल सरकारको पछिल्लो स्वास्थ्य सुधार नीतिअन्तर्गत सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पतालले अस्पताल परिसरमा आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।
निवर्तमान स्वास्थ्य मन्त्री गगनकुमार थापाको पहलमा सुरु भएको सरकारी अस्पतालमा आफ्नै फार्मेसी संचालन गर्ने नीतिअनुसार जिल्ला अस्पताल सुनसरीले हिजो देखि आफ्नै फार्मेसी सुरु गरेको हो ।
पाँच लाख रुपैयाको औषधि खरिद गरेर अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसी सेवाको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले शुभारम्भ गरे ।
सरकारले तोकेको निःशल्क औषधिबाहेक चिकित्सकले सिफारिस गरेका औषधि अस्पताल परिसरमा नै बिरामीका आफन्तले सहजरुपमा खरिद गर्न सक्नेगरी फार्मेसी सञ्चालनमा ल्याएको जिल्ला जनस्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले जानकारी दिए ।
अस्पताल विकास समितिका अध्यक्ष रमेश कट्वालले अस्पतालमा आउने सेवाग्राहीको आवश्यकता र चिकित्सकको सिफारिसका आधारमा औषधि थप्दै जाने अस्पतालको नीति रहेको जानकारी दिए ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>