प्रेमसागरले गरे १ सय ५० औं पटक रक्तदान, भन्छन्ः कसैलाई रगत चाहिए सिधै मलाई फोन गर्नू



Download our app to get more features

काठमाण्डौ, २४ जेठ ।  बागबजारको बीचमा रहेको सीटीस्क्वायर बुधबार अरु दिनभन्दा अलि फरक देखियो । सीटीस्क्वायर परिसर भित्र हुलका–हुल मानिस भित्र छिर्दै थिए । भित्र छिर्ने गेटको माथि ठूलो ब्यानरमा लेखिएको थियो प्रेमसागर कर्माचार्यको १५० औं विशेष रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम ।

निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम राखिएकाले पनि हुनसक्छ विशेष गरी अधवैंशे मानिसहरु स्वास्थ्य परिक्षणका लागि लामबद्ध भएर पालो कुरिरहेका थिए । यही भीडमा एकजना हाफ ज्याकेट, खैरो चेक सर्ट र खैरो रङगकै पाइन्ट तथा कालो टोपी लगाएका, बाक्लो दाह्री पालेका कर्माचार्या विभिन्न मान्छेलाइ भेट दिन तथा कार्यक्रमबारे जानकारी दिन व्यस्त देखिन्थे । 

रक्तदान गर्ने मान्छेको पनि कमी नदेखिएको त्यस कार्यक्रममा रक्तदाता कर्माचार्य  आफ्नो जीवनको १ सय ५० औं पटक रक्तदान गर्न आँतुर देखिन्थे । तर सञ्चारमाध्यममा अन्तरवार्ताका लागि भ्याई नभ्याई गरिरहेका कर्माचार्यलाई नमस्कार गर्ने, हात मिलाउने तथा बधाई दिनेको संङख्या उल्लेख्य थियो । नेपालमा एकसय भन्दा बढि पटक रक्तदान गरेका मानिस धेरै भएपनि डेढ सयपटक रक्तदान गर्ने पहिलो व्यक्ति नै कर्माचार्य हुनसक्ने भीडमा सुन्न सकिन्थ्यो र कार्यक्रम उद्घोषकले पनि यो दाबी यसरी नै गर्दै थिए । यसैबीचमा कर्माचार्यले आज १ सय ५० औं पटक रक्तदान गरेका छन् । यतिकापटक रक्तदान गरेका कर्माचार्यलाई नेपाल रेडक्रस सोसाइटीले उनलाई स्वर्णपदकले सम्मान गरेका छन् । 

कतिजनाले प्रेमसागर कर्माचार्य कता हुनुहुन्छ भनी सोध्दा स्वंयसेवकको पोशाक लगाएका महिलाहरुले उ त्यहाँनीर बाक्लो दारी पालेका उहाँ नै हो भन्दै देखाउँदै थिए । त्यहीमध्ये अर्की स्वंमसेविकाले भन्दैथिइन् दारी पालेका नभनीदिउँ क्या टोलभरी दारीवाला नै नाम बसिसक्यो । तिनै दारीवाल प्रेमसागर अर्थात रगतका सागर प्रेमसागर कर्माचार्यसंग भीड छिचोल्दै अलि कुनापट्टि लगेर गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ । 

कतिवर्षको उमेरदेखी रक्तदान गर्न शुरु गर्नुभयो ? 
– मैलै १६ वर्षको उमेरदेखी रक्तदान गर्न शुरु गरेको हुँ । त्यो समयमा रक्तदान गर्ने दाता नै थिएनन् । आजभोलि व्यक्ति १८ वर्षको भएपछि मात्र रक्तदान गर्ने नियम भएपनि त्यसबेला मैलै १६ वर्षको उमेरमा नै रगत दिएको थिएँ  । त्यत्तिबेला स्वास्थ्य परीक्षणभन्दा पनि कुनै रोग नलागेको तथा बाहिरी रुप हेर्दा खाइलाग्दो देखिने व्यक्तिले रगत दिने चलन थियो । त्यसपछि तीन–तीन महिनामा मैले रक्तदान गरिरहेको छु । मेरो रगतको समूह ए पोजेटिभ हो । 

रक्तदान गरिरहने मान्छे विशेष डाइट चार्ट बनाएर खाना खाने गर्नुभएको छ की ? 
–छैन् । मैले विशेष केही त्यसतो खादिन । तपाईहरु सामान्यतया जे खानुहुन्छ म पनि त्यहि खान्छु ।  विज्ञानले प्रमाणित गरिसकेको कुरा हो शरिरलाई बढी भएको रगतबाटै रक्तदान गरिने भएकाले मानिस कमजोर हुने वा रोगी हुने भन्ने केही त्यस्तो छैन् । रक्तदान गरेको अर्को तीन महिनापछि  तपाई फेरी रक्तदान गर्न तयार भइसक्नुभएको हुन्छ । मेरो कुरा गर्नुहुन्छ भने, आज पनि म पानी मात्र खाएर रक्तदान गरेको छु । मैलै धेरै पटकको रक्तदान पानी मात्र खाएर गरेको छु । त्यसकारण तपाई स्वस्थ हुनुहुन्छ, तपाईको तौल ४५ केजी भन्दा माथि छ, रगतको प्रेसर ठीक लेवलमा छ,कुनै प्रकारको रोगबाट पीडित हुनुहुन्न , कुनै औषधी सेवन गरिरहेको हुनुहुन्न भने तपाई निर्धक्क भएर रगत दिन सक्नुहुन्छ । 

तपाई बेलाबखतमा बिरामी पर्ने अथवा प्रेसर इत्यादीका कारण चाहेको बेला रगत दिन नसकेको कुनै त्यस्तो क्षण छ ? 
–छैन् । मलाई अहिलेसम्म कुनै किशिमको स्वास्थ्य समस्या देखिएको छैन् ।  मैलै १६ वर्षको उमेर देखी निरन्तर रक्तदान गर्दै आएको छु ।  अहिले म ५२ वर्षको भइसकें । मेरा समकालिन साथीहरु विभिन्न रोगव्याधका कारण विभिन्न उपचार गराउन तथा औषधी सेवन गर्न बाध्य छन् तर मैले आजसम्म कुनै औषधी खानु परेको छैन, रक्तदानले मलाई झन् झन निरोगी बनाउँदै लगेको मलाई अुनुभव छ, यसकारण रक्तदानले मेरो सेल्फटिटमेन्ट गरेको मलाई लाग्छ । औषधी खाइन भनेर कसम चाँही खान चहान्न किनभने एकपटक दोलखामा टाउको ठोक्किएर दुखिरहेको बेला साथीले आयुरवेदिक औषधी भने निम्सको एक चक्की खुवाएको छ त्यो भन्दा बाहेक मेरो मुखमा अहिले सम्म कुनै प्रकारको औषधी परेको पनि छैन् र सायद नपर्ला पनि किनभने नियमित रक्तदानले मेरो स्वास्थ्यमा निकै फाईदा पुर्याएको छ । 

यसरी नियमित समाज सेवामा लागिरहनुभएको छ अझ रक्तदानलाइ त जीवनदान नै भन्ने गरिन्छ, प्रेरणाको स्रोत कस्लाई मान्नुहुन्छ ? 
मेरो प्रेरणाको स्रोत भनेको मेरो बुवा प्रेमपूर्ण कर्माचार्य नै हुनुहुन्छ, जो दुई महिना अगाडी ८४ वर्षको उमेरमा स्वर्गीय हुनुभयो । वि.सं. २०२८ सालमा  हामी बसाई सरेर यहाँ बागबजारमा आउँदा अहिले जस्तो बजार थिएनन्, यहाँ ठूलो फाँट थियो । यहाँ खेतको काम हुन्थ्यो, खेतको काम गर्दा चोटपटक लाग्दा रक्तस्राव भएकाहरु निको पार्न हाम्रोमा आउँथे र बुबा उनीहरुको उपचार गर्नुहुन्थ्यो  । यसैबाट प्रभावित भएर म पनि समाजसेवामा लागेको हुँ र निरन्तर लागिरहने छु । र मेरो छोरा पनि रक्तदान गर्ने कार्यक्रममा सहभागी भइसकेको छ । आफ्नो १८ औं जन्मदिनको अवसरबाट छोरोले पनि तीन–तीन महिनामा रक्तदान गरिरहेको छ । 

भविष्यमा रगतदानसँगै अन्य योजना के के छन् ? 
मैलै यतिका वर्ष समाजसेवामा नै आफूलाई समर्पित गरे । यसमै लागिरहने छु ।  हाम्रो संस्था नेपाल स्वंयमसेवी रक्तदाता समाजले रगत नपाएर छट्पटाइरहेकाहरुलाई हरसंभव रगत खोजेर दिने काम गर्दछु । यो संस्था कुनै डोनेशनबाट चलेको संस्था होईन । हामी फूटपाथे संस्था हौं । रगत संकलनका लागि हामी एक कप चिया पनि नखाई लागिरहेका हुन्छौं । मोबाईलमा रगत चाहियो भन्ने खबर आउनासाथ हामी खोज्न लागिहाल्छौं  । ब्लड बैंकमा रगतको अभाव भइरहने भएकाले पनि हाम्रोमा रगत खोज्नेहरुको भीड नै लाग्ने गर्दछ । म अन्त्यमा सबैलाई के भन्न चाहान्छु भने तपाई स्वस्थ हुनुहुन्छ भने अवश्य रक्तदान गर्नुहोस्, रक्तदानले तपाईको स्वास्थ्य झन राम्रो बनाउँछ । यदि तपाईहरु कसैलाई रगत चाहियो भने मेरो मोबाइल नम्बर –९८५१०६९३३८ धन्यवाद । –रक्तदाता

 ( कर्माचार्य नेपाल स्वंयमसेवी रक्तदाता समाजका अध्यक्ष समेत हुन् । )

Last modified on 2017-09-02 15:06:43

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts