'आइमाम' कार्यक्रमले बालबालिका स्वस्थ हुँदै



Download our app to get more features

बैतडी, २३ जेठ । बैतडीमा कुपोषित बालबालिका स्वस्थ हुँदै गएका छन् । जिल्लामा शीघ्र कडा कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम (आइमाम) सञ्चालनमा आएपछि कुपोषित बालबालिका स्वस्थ हुँदै गएका हुन् । 

गतबर्ष भदौदेखि सञ्चालनमा आएको कार्यक्रमले जिल्लामा १७ हजार १७९ बालबालिकाको पोषणको स्थितिको बारेमा जानकारी लिएको थियो । जाँच गरिएका बालबालिकामध्ये ९०२ बालबालिकामा कडा कुपोषण देखिएको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका जिल्ला संयोजक प्रदीप पराजुलीले बताए ।  

एक हजार ७ सय २७ जनामा मध्यमखालको कुपोषण देखिएको उनले बताए । कडा कुपोषण देखिएका ९ सय २ बालबालिका र समुदायमा महिला स्वास्थ्य स्वयम्सेविकामार्फत पत्ता लागेका ३ सय ३ बालबालिका गरी एक हजार २ सय ४ जनाको उपचार गरिएको पराजुलीले जानकारी दिए ।  

एक हजार २ सय ४ जनामध्ये २० जना भने बीचमै उपचार छोडेका छन् । उपचार गरेका भने अहिले पूर्णरुपमा स्वस्थ रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पोषण सम्पर्क व्यक्ति सन्तोष पाण्डेयले जानकारी दिए । 

जिल्लामा अहिले १६ ठाउँमा कुपोषित बालबालिकाको उपचार हुने गरेको उनले बताए । जिल्ला अस्पताल बैतडी, देहीमाण्डौँ, ग्वाल्लेक, श्रीकोट, गोकुलेश्वर, डिलाशैनी, पाटन, सलेना, मेलौलीमा कडा कुपोषित बालबालिकाको उपचार हुने गरेको छ । 

यसैगरी, शर्माली, सिद्धेश्वर, शङ्करपुर, हाट, थालाकाँडा, सिगास र शिवलिङ्ग स्वास्थ्यचौकीमा कुपोषित बालबालिकाको निःशुल्क उपचार हुने गरेको छ । समुदायमा कुपोषित बालबालिका धेरै रहेका भएपनि अझै उपचारमा आउन नसकेको बताइएको छ । रासस/ फाइल फोटो

Last modified on 2017-06-11 16:36:19

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts