गगन–सेनेन्द्र शीतयुद्दः मन्त्रीले मागे माफी, सचिवले भनेः म त गाडी ढ्याक ढ्याक पार्नेमात्र हो

समाचार टिप्पणी



Download our app to get more features

काठमाण्डौ । आफ्नो १० महिने कार्यकाल सकेर बिदा हुँदै गरेका स्वास्थ्यमन्त्री गगन थापाले आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो प्रगति समिक्षा सुनाए ।

प्रगति समिक्षा सुनाउनुपूर्व कार्यक्रमको थालनी स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीले गरे । करिब ४० वर्ष स्वास्थ्य सेवामा बिताएका सचिव उप्रेतीले पनि अब केहीदिनमै अवकाश पाउँदैछन् । स्वास्थ्य मन्त्रालय बुझेका सचिव भनेर भनिने उप्रेती र जोशिला युवामन्त्री गगन थापाबीच यो बीचको ९ महिना खासै सुखद सम्बन्ध रहन नसेकेको मन्त्रालयका अधिकारीहरु नै बताउँछन् । जुन यी दुइजनाको पछिल्लो पत्रकार सम्मेलनको अभिव्यक्तिले पनि संकेत गर्छ । 

केपी ओली सरकारको सम्भवतः अन्तिम मन्त्रिपरिषद् बैठकबाट स्वास्थ्य सचिव बनेका डा. उप्रति एमाले निकट मानिन्छन् । निकै मेसो मिलाएर विषयवस्तु प्रस्तुत गर्नसक्ने उप्रेतीले थापालाई सहयोग गरेनन् र गर्न चाहेनन् बरु असहयोग गरिरहेका छन् भनेर थापाको जम्बो सचिवालयमा रहेका पीएदेखि पत्रकारसम्मले ठाउँठाउँमा भनेको भन्ने समाचारहरु बीचमा आए । अझै एकजना मन्त्रिनिकट भनिने पत्रकारले त राष्ट्रिय दैनिकमा सचिवले मन्त्रिको बाटो छेके भनेर समाचार नै लेखे । 

यता जम्बो सचिवालय सहित स्वास्थ्य मन्त्रालय चलाएका थापाले सचिव, महाशाखा प्रमुख र मन्त्रालयका कर्मचारीभन्दा पनि आफ्नै सचिवालयबाट समानान्तर मन्त्रालय चलाए भन्ने कर्मचारीहरुको गुनासो अझै सुनिन्छ । गगन थापा मन्त्री बनुञ्जेल मन्त्रालयको प्रवक्ताभन्दा उनकै पीएका अन्तर्वाता धेरै सुनियो । सचिव उप्रेती त लगभग गुमनाम नै भए । त्यसैले पनि मन्त्री र सचिवबीच केही असन्तुष्टि छ कि भन्ने तर्कलाई बल पुगेको थियो । 

यी सब किस्साकाबीच के साँच्चै मन्त्री र सचिवबीच त्यस्तो कुनै असन्तुष्टि थियो त ? भन्ने प्रश्नमा थोरै भएपनि संकेत दियो आइतवारको पत्रकार सम्मेलनले । पत्रकार सम्मेलनको सुरुमा बोलेका स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रतीले गगन थापा स्वास्थ्यमन्त्री भएपछि मन्त्रालयका मुद्दाका विषयमा अहिलेसम्मकै धेरै बहस र चर्चा भएको बताए । उनले भने ‘यो बीचमा स्वास्थ्य मन्त्रालयका विभिन्न विषयमा अत्यन्तै धेरै चर्चा, छलफल र बहस भएको छ ।’ उनले स्वास्थ्य मन्त्री थापा वा उनका सचिवालय सदस्यले भनेझैं क्रान्तिकारी परिवर्तन भएको भन्ने आशयका कुनै कुरा गरेनन् । बरु घुमाउरो तरिकाबाट गगन थापाको कार्यकालमा कामभन्दा धेरै कुरा भएको भन्ने मनशाय प्रकट गरे । यसले पनि उनको र मन्त्रिबीचको दुरी खासै नघटेको प्रष्ट्याउँछ । 

त्यसपछि राज्यमन्त्रीलाई समेत बोल्न नदिई लगातार बोलेका स्वास्थ्यमन्त्री थापाले स्वास्थ्य सचिव उप्रेतीका बारेमा पनि केही समय खर्च गरे । उनले सचिव उप्रेती आफु जन्मिुनभन्दा पहिलेदेखि नै स्वास्थ्य सेवामा रहेको र आफुले भन्दा धेरै बुझेको टिप्पणी गरे । त्यस्तै सचिव आफुभन्दा धेरै परिपक्व भएको र आफुसँग भने जोशमात्र भएको आशय प्रकट गरे । ‘उहाँ मभन्दा धेरै परिपक्व हुनुहुन्छ । उहाँसँग धेरै अनुभव छ । म नयाँ भएँ । कति हुने कुरा गरेँ होला कति नहुने कुरा गरें होला  । मेरा कमजोरीहरुलाई माफ गर्नुहोला ।’
स्वास्थ्यमन्त्री थापाले सचिवलाई धेरै जान्ने र अनुभवी भनिरहँदा ती स्वभाविक झैं लागेपनि त्यसको आशय भावनात्मक आवेग र असन्तुष्टिको तुष जसरी उनका मुखबाट निक्लिएको थियो । 

कार्यक्रमको अन्त्यमा, पुनः स्वास्थ्य सचिव उप्रेती बोले । उनले मन्त्रालयको शाब्दिक अर्थ स्पष्ट पारेझैं गरेर पुनः मन्त्रीलाई व्यंग्य गर्न भ्याइहाले, उनले भने ‘हेर्नुहोस् मन्त्रालय भनेको मन्त्री र आलय मिलेर बनेको शब्दावली हो । त्यो भनेको मन्त्रीज्यूहरु बस्ने घर हो । यसलाई एउटा गाडी मान्ने हो भने हामी त कहिँ कतै गाडीमा पछाडी वा दायाँबायाँ बसेर ढ्याढ्याक पार्नेमात्र हो ।’ 

गगन थापाको बिदाई सम्मेलनमा मन्त्रिको कार्यकालभरी छायाँमा पारिएका भनिएका सचिव उप्रेती र समानान्तर मन्त्रालय चलाएको आरोप लागेका थापाको टिप्पणीले अरु जे जे संकेत गरेपनि राजनीतिक र प्रशासनिक नेतृत्वबीचको यस्तो टकरावले योबीचमा भएका नीतिगत सुधार, परिवर्तन र विकासका कामहरु कागजमै सीमित हुने होकी भन्ने खतरा भने दर्शाएको छ ।

Last modified on 2017-06-11 16:43:14

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts