अत्यधिक गर्मीका कारण मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर बन्दै



Download our app to get more features

महेन्द्रनगर (धनुषा), २१ जेठ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण धनुषासहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । 

गर्मीका कारण तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको जनजीवन निकै प्रभावित बनेको छ । 

गर्मीका कारण यस क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ । जनकपुर अञ्चल अस्पतालका अनुसार अस्पतालमा दैनिक आउने बिरामीमध्ये झाडापखाला र गर्मीको कारण हुने विभिन्न किसिमका रोग नै बढी देखिएको छ । 

गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान पनि गाह्रो हुन थालेको छ । 

अहिले बिहानको तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको छ भने दिउँसो यो बढेर ३९–४० डिग्रीसम्म पुग्ने गरेको छ । 

यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । बाहिर घाममा निस्किँदा अनिवार्य रुपमा छाताको प्रयोग गर्नुपर्ने र चिसो खानेकुराहरु काँक्रा, तरभुज खानुका साथै हरियो सागसब्जी र अत्यधिक मात्रामा पानी पिउनुपर्ने सल्लाह चिकित्सकले दिएका छन् । रासस 
 

Last modified on 2017-06-11 16:44:21

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts