१ सय १५ वर्षीया हजुरआमा जो अहिलेसम्म अस्पताल गएकी छैनन् 



Download our app to get more features

नुवाकोट। हँसिलो र चाउरी परेको अनुहार, सेतै फुलेको कपाल, कुप्रो परेको शरीर । माथि तस्विरमा देखिएकी हजुरआमा, बाटुली लामिछाने । पत्यार नलाग्न सक्छ उनको उमेर १ सय १५ वर्ष भयो । उनको दाँतहरु सबै झरेको नै ३० बर्ष भन्दा बढी भैसकेको छ । 

विक्रम सम्वत १९५९ चैत १० गते सिुन्धुपाल्चोकको गिरान्चौरमा उनको जन्म भयो । सामान्य परिवारमा जन्मिएकी लामिछानेले आफ्नो किशोरावस्था गिरान्चौरमा नै बिताइन् । दैनिक हातमुख जोड्न समेत समस्या हुने अवस्था आएपछि श्रीमान र तीन सन्तानलाई लिएर बिक्रम सम्बत १९९७ तिर नुवाकोटको डाँडाकठेरीमा बसाईँ सरे ।

 कान्छो छोरो पेटमा थियो । उमेरले ४० वर्षकी भएकी थिइन् बाटुली । परिवारको समस्याहरु ज्यूँ का त्यूँ थियो । १९९९ मा उनका श्रीमान घर छोडेर निस्किए । उनलाई थाहा नै भएन कहाँ गए र किन गए । 
उनी लामो समय श्रीमान् फर्किन्छन् कि भन्ने आशामा बसिन् । यो बीचमा उनले डाँडाकठेरी छोडेर केही आफन्त भएको ठाउँ, नुवाकोट कै थानसिंङको छापथोकमा, बसाईँ सरिन् । त्यहाँ रहँदा अरुको घरमा गएर घाँस काटिदिने, घरायसी काम गरिदिने गर्दै हातमुख जोड्न थालिन् । 

उनको जीन्दगीको लामो समय यसरी नै बित्यो । अहिले उनका कान्छा छोरा ७५ वर्षीय नेत्र प्रसाद लामिछाने बाहेक परिवारका सबै सदस्यको मृत्यू भैसकेको छ । हाल उनका छोरा र बुहारीले नै उनको रेखदेख गरिरहेका छन् । 

कहिल्यै मासुजन्य पदार्थको सेवन गरिनन् 
बाटुली लामिछानेका लागि सबैभन्दा मीठो खाना भनेको दुध र भात हो । उनले जीन्दगीमा न त कहिल्यै मासु र मासुजन्य पदार्थको सेवन गरिन्, न त सेवन गर्ने चेस्टा नै । उनले मन्द मुस्कान सहित भनिन् ‘सायद मासुमा ध्यान नगएकोले पनि होला यतिका उमेरसम्म बाँचेको ।’

आजसम्म अस्पताल गएको छैन 
उनलाई खुट्टाहरु झम्झमाउने, सामान्य कम्मर दुख्ने र घुँडा सुन्निने बाहेकको कुनै जटिल रोग कहिल्यै लागेन । उनी भन्छिन्, ‘यो समस्या सुरु भएको पनि लामो समय भएको छैन ।’

बुढेसकाल लाग्दै जाँदा उनका ज्ञानेन्द्रियहरुले सामान्य भन्दा कम काम गर्छन् भने उनको आवाज पनि तोते सुनिन्छ । स्वास्थ्यमा समस्या आएर आजसम्म अस्पताल जानु परेको छैन । उनी भन्छिन्, ‘भगवानको कृपाले आजसम्म अस्पताल जानुपरेको छैन ।’

 विश्वकै सबैभन्दा बढी उमेरको हुनसक्ने
विश्वमा सबैभन्दा बढी उमेरको महिला फ्रान्सकी जेनी लुइस कालमेन्ट थिइन् । सन् १८७५ मा जन्मिएकी कानलमेन्टको सन् १९९७ (१२२ बर्ष १६४ दिन) मा मृत्यू भएको थियो । 

उनको मृत्यूपछि इटलीका इमा मोरानो सबैभन्दा बढी उमेरको जिवित महिला थिइन् । अप्रिल १५ २०१७ (११७ बर्ष १३७ दिन) मा उनको पनि निधन भयो । 

उनको मृत्यूपछि विश्वको सबैभन्दा बृद्ध उमेरको जिवित महिला बाटुली लामिछाने हुनसक्ने संभावना रहेको छ । यसैका आधारमा केही स्थानीय र उनका आफन्तले गिनिज बूक अफ वल्र्ड रेकर्डमा नामा लेखाउन सकिन्छ कि भनेर पहल थालेका छन् । उनीहरुले यस प्रकृयामा सरकार र अन्य सामाजिक संघसंस्थाले सहयोग गरिदेओस् भनेर अपेक्षा पनि गरेका छन् ।

Last modified on 2017-06-11 17:46:46

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts