टेकु अस्पतालकै कर्मचारीलाई देखियो डेंगु, हप्तादिनमै दुईजनामा संक्रमण



Download our app to get more features

काठमाण्डौ, १६ जेठ । गत शुक्रवार ललितपुरको भैसेंपाटीमा बस्दै आएका २५ वर्षीय एक युवालाई लामखुट्टेको टोकाइबाट सर्ने डेंगु देखिएको हप्तादिन नबित्दै टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत कर्मचरीलाई नै डेंगु संक्रमण भएको पुष्टि भएको छ । 

टेकुको सरुवा रोग अस्पतालमा कार्यरत कीर्तिपुर बस्ने २९ वर्षीय एकजना युवालाई डेंगु देखिएको अस्पतालका चिकित्सक शेरबहादुर पुनले जानकारी दिएका छन् । कीर्तिपुर निवासी उनको घर आसपासमा सुंगुर फार्म रहेको र त्यहीँ हुने लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण भएको हुनसक्ने चिकित्सकले बताए । 

गतवर्ष राजधानीमा एकजनालाई मात्र देखिएको डेंगु यो वर्ष एकहप्तामै दुई जनालाई देखिनु आश्चर्यजनक भएको पुनले बताए । उनले भने 'यो समय डेंगु देखिने होइन, मनसुन सुरु नहुँदै डेंगुको संक्रमण देखिन सुरु हुनुले थप सतर्कता अपनाउनुपर्ने देखिएको छ ।'

मनसुन सुरु नभएपनि केही हप्तायता लगातार जस्तो पानी परिरहेकाले डेंगुको संक्रमण देखिएको हुनसक्ने स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ । महाशाखाका निर्देशक डा. भीम आचार्यले काठमाण्डौ बाहिरभन्दा पहिले उपत्यकामा डेंगु देखिनुलाई गम्भीरतासाथ लिएको र नियन्त्रणका लागि पहल गर्ने बताए । 
लामखुट्टेको टोकाइबाट सर्ने डेंगुबाट बच्न घरवरिपरीको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, नियमित झुलको प्रयोग गर्ने लगायत सावधानी अपनाउनुपर्छ । 

 

Last modified on 2017-06-14 12:52:40

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts