एघारौं अनशन बस्न डा. केसीले दाङ्ग नै किन रोजे ?
काठमाण्डौ, १२ जेठ । दशौं अनशनयता पूर्व सम्झौता पूरा गर्न विभिन्न रचनात्मक दबाव दिएपनि माग पूरा नभएर 'अत्ति भएपछि' डा. केसीले शनिवारबाट एघारौं चरणको अनशन सुरु गर्दै छन् ।
यसअघिका दशवटै अनशन त्रिवि शिक्षण अस्पतालमा बसेका डा. केसीले यसपालीको अनशन भने मध्यपश्चिमको दाङ्गस्थित राप्ति उपक्षेत्रीय अस्पतालमा पुगेर बस्ने निर्णय गरेका छन् । केसीसँग अघिल्ला सम्झौतामा दाहोरिएर पटक पटक सम्झौता भएअनुसार सरकारले सबै प्रदेशमा एकएकवटा मेडिकल कलेज बनाउने सहमति भएको थियो । जसअनुसार दुईवर्ष अघि नै सरकार र केसीबीच पहिलो चरणमा मध्यपश्चिम अर्थात अहिलेको ५ नं प्रदेशका लागि दाङ्गमा मेडिकल कलेज निर्माण गर्ने भनेर बजेटसमेत बिनियोजन भैसकेको छ ।
‘सम्झौता अनुसार सबै प्रदेशमा मेडिकल कलेज बनाउने प्रकृया त परै जाओस् तीनवर्षभित्र सञ्चालनमा ल्याउने भनिएको दाङ्गमा समेत काम सुरु हुनसकेन त्यसैले गर्दा उतै गएर अनशन बस्न लागेको हुँ ।’ हाम्रो डक्टरसँग डा. केसीले बताए । उनले थपे ‘राजनीतिक दलहरुलाई भोट र नोटकै चिन्ता छ । सरकारले सम्झौता गर्दै तोड्दै गर्छ । त्यसैले जनताकै घरदैलो पुग्ने मेरो अभियान हो । ’
सरकारले यसअघि दाङ्गको राप्ति उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउने भनेर प्रकृया सुरु गरेपनि उक्त प्रदेशमा बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताललाई ५ नं प्रदेशको सरकारी मेडिकल कलेज बनाउने प्रकृया थालनी भएपछि आक्रोशित भएका केसी अनशन बस्न दाङ्ग नै पुग्न लागेको बुझिएको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>