श्राद्ध खाएर बिरामी भएकामध्ये अधिकांशलाई झाडाबान्ता र ज्वरो 



Download our app to get more features

काठमाण्डौ, १२ जेठ । श्राद्धको प्रसाद खाएपछि एक्कासी बिरामी भएर राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत अधिकांशलाई झाडाबान्ता र ज्वरो आउने समस्या देखिएको चिकित्सकले बताएका छन् । 

गत ९ गते धादिङ आदमटार ६ मा श्राद्धको प्रसाद खाएर ५ दर्जनभन्दा धेरै बिरामी परेका थिए । अस्पतालका अनुसार बिहीवार उपचारका लागि २२ जना आएकामा राति र आज बिहान गरी नयाँ ३२ जना थपिएपछि बिरामीको संख्या ५४ पुगेकोे छ । 

उनीहरुमा झाडाबान्ता, ज्वरो तथा पेटदुख्ने समस्या देखिएको अस्पतालले जनाएको छ । अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बिरामीलाई झाडाबान्ताको साथै ज्वरो पनि आइरहेको हुँदा थप चिकित्सकीय अनुसन्धान भइरहेको छ । उनीहरुलाई २/३ दिन अस्पतालमै राख्नुपर्ने डा. पुनले बताए । 

उनीहरु फुड पोइजनिगका कारण बिरामी भएको हुनसक्ने बताए । बिरामीहरुका अनुसार श्राद्धमा बोडीको तरकारी खानेहरुलाई मात्र यस्तो समस्या देखिएको छ । 

डा. पुनले इकोलीको एउटा प्रजातीका कारण हुनसक्ने भएपनि विषादी या व्याक्टेरियाले भन्ने कुरा अनुसन्धानबाट मात्र थाहा हुने र यसका लागि एकदुई दिन कुर्नुपर्ने हुन्छ ।

श्राद्धमा करिब एकसयको संख्यामा जम्मा भएको हुँदा खाना पहिला नै तयार भएको हुनसक्ने बताइएको छ । खाना बनाउने व्यक्ति बिरामी नभएपनि लक्षणविहीन जीवाणुको कारण सबैजना बिरामी भएको हुन सक्ने डा. पुनले बताए ।

Last modified on 2017-06-14 14:08:25

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts