कम उमेरमै हुने गर्भपतनले जटिलता निम्त्याउँदै



Download our app to get more features

काठमाडौँ, ९ जेठ । उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध विस्तारै प्रेमका रुपमा मात्र झाँगिएन, अवैध यौनसम्बन्ध पनि हुन थाल्यो । 

महिनावारी रोकिएपछि उनीहरु दुवैजना एक क्लिनिकमा परीक्षण गर्न जाँदा गर्भ रहेको थाहा पाए र दुवैजना छानाबाट खसे झैँ भए । सामाजिक लोकलाज र व्यक्तिगत समस्याका कारण गर्भपतन गर्नु नै उचित ठानी गर्भपतन गराए । पहिलोपटक गत साउनमा गर्भपतन गराएका उनीहरुको त्यसपछि पनि यौन सम्बन्ध रोकिएन । गएको चैतमा कल्पना त्यही समस्या लिएर स्वास्थ्य केन्द्र पुग्दा उनको पाठेघरमा थप समस्या देखियो । यसपटक उनले परिवारमा थाहा नहोस् भनेर औषधि पसलबाट औषधि ल्याएर खाँदा पनि गर्भ नगएपछि बाध्य भएर अस्पताल पुगेकी थिइन् । 

कल्पनामात्र होइन, यो समस्या अहिले राजधानीलगायत सहरी क्षेत्रका विद्यालय, कलेजमा अध्ययन गर्ने कतिपय छात्रा झेल्दै छन् । गर्भपतन गराउने २० वर्षमुनिका धेरैजसो ‘प्लस टु’ पढ्ने किशोरी रहेको गर्भपतनको सेवा पु¥याइरहेका अस्पताल तथा स्वास्थ्य संस्थाबाट थाहा हुन्छ । ‘अहिले २० वर्षमुनिका जतिले गर्भपतन गराइरहेका छन्, उनीहरू अधिकांश अविवाहित छन्’– जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौँका तथ्याङ्क प्रमुख पुष्कर बिजुक्छे भन्छन् । आफ्ना यौनसाथीसँग अस्थायी साधन प्रयोगमा पर्याप्त छलफल नहुनु, यौन स्वास्थ्यबारे पर्याप्त जानकारी नहुनु र परिवार नियोजनको अस्थायी साधन प्रयोगमा बढ्दै गएको अनिच्छा नै यसरी गर्भपतन बढ्नुको प्रमुख कारण रहेको उनको ठम्याइ छ । 

परिवार र छिमेकीले थाहा पाउँछन् कि भनेर सुटुक्क औषधि खाँदा जटिल समस्या भोग्नुपर्ने हुन्छ भन्ने ख्याल धेरैले राख्दैनन् । गर्भपतन गराउने औषधि खाएपछि कतिपय बगेको रगत नथामिएर मरणासन्न भएपछि अस्पताल जाने गर्छन् । गर्भ रहेको समय, औषधिको मात्रा, खाने तरिका र शारीरिक अवस्था नमिलेकाले पनि धेरैले अकालमै मृत्युवरण गर्नुपरेको छ । 

काठमाडौँको दुई वर्षको तथ्याङ्कलाई हेर्ने हो भने पनि २० वर्षमुनिका किशोरीमा गर्भपतन गर्ने क्रम उच्च रहेको पाइन्छ । आव २०७२/७३ मा १५ हजार ९९ जनाले गर्भपतन गराएकामा २० वर्षमुनिका चार हजार पाँच सय ४५ अर्थात् ३०.१० प्रतिशत रहेका छन् । तीमध्ये औषधि सेवन गर्ने दुई हजार ६ सय नौ र शल्यक्रिया गरी गर्भपतन गर्ने एक हजार नौ सय ३६ रहेको जनस्वास्थ्य कार्यालय, काठमाडौँले जनाएको छ । आव २०७१÷७२ मा १३ हजार सात सय ५७ जनाले गर्भपतन गराएकामा २० वर्षमुनिका तीन हजार चार सय ५८ अर्थात् २५.१४ प्रतिशत रहेका छन् । तीमध्ये औषधि सेवन गर्ने एक हजार चार सय ९७ र शल्यक्रिया गरी गर्भपतन गर्ने एक हजार नौ सय ६१ रहेको थियो । 

मेलाजात्रामा हुने आकस्मिक भेटघाट, विद्यालय, कलेजमा पढ्ने सहपाठीसँगको मायाप्रेमसँगै हुने गल्तीले नै धेरै अविवाहित युवती तथा किशोरीसामु गर्भपतन गर्नुपर्ने अवस्था निम्तिएको छ । जबर्जस्ती करणी पनि अनिच्छित गर्भ रहनुको अर्को कारण हो भने लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या पनि उत्तिकै छ । दुर्गम भेगमा भन्दा सुगम, सहरी र शिक्षित वर्गमै गर्भपतनलाई सामान्य रुपमा लिने गरिएको छ । देशभरिका अस्पताल तथा स्वास्थ्य केन्द्रमा २० वर्षभन्दा कम उमेरमा गर्भपतन गर्ने, दोहो¥याएर गर्भपतन गर्ने र जथाभावी औषधि सेवन गर्दा स्वास्थ्य समस्या उत्पन्न भई अस्पतालमा पुग्नेको सङ्ख्या पछिल्लो समय ह्वात्तै बढेको देखिन्छ । 

सुरक्षित गर्भपतन सेवा सहज र सर्वसुलभ हुँदा असुरक्षित गर्भपतन घटे पनि सेवा लिनेको सङ्ख्या अस्वाभाविक रुपमा बढ्नु चुनौती भएको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाका निर्देशक नरेशप्रताप केसी बताउछन्। किशोरीमा गर्भपतन गर्ने क्रम बढ्नु चिन्ताको विषय हो । अनिच्छामा गर्भ रहेमा गर्भपतन गराउनु नराम्रो होइन तर, कुन उमेर समूहका स्त्रीले गर्भपतन गराइरहेका छन् र किन गर्भपतन भइरहेको छ भन्ने महत्वपूर्ण विषय हो ।

आव २०७२/७३ मा गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गर्न आउने महिलाको सङ्ख्या २० वर्षमुनिको ३८ प्रतिशत रहेको थियो । गर्भवती महिलाले चार, छ, आठ र नौ महिनामा गरी चारपटक जाँच गराउनुपर्नेमा त्यसरी परीक्षण गर्न आएका किशोरीमध्ये १२ प्रतिशतले मात्रै चारैपटक परीक्षण गराएबाट बाँकी २६ प्रतिशतले गर्भपतन गराएको हुनसक्ने बिजुक्छे बताउछन् । विसं २०१६ मा प्रकाशित नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षणले आव २०७२/७३ मा नेपालको औसतमा परिवार नियोजनका साधन प्रयोग गर्दा सम्पूर्ण विधि पूरा गर्ने ५२.६ प्रतिशत रहेको छ तर आधुनिक साधन प्रयोग गर्ने भने जम्मा ४३ प्रतिशत छन् । 

गर्भपतनका कारण शारीरिक कमजोरी, पाठेघरको सङ्क्रमण, बाँझोपन र रक्तअल्पताको समस्या देखापर्ने स्त्री रोग विशेषज्ञ डा भोला रिजाल बताउछन्। उनी भन्छन् ‘पटकपटक गर्भपतन गराउँदा शारीरिक र प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्छ । अत्यधिक रक्तस्राव भएर रक्तअल्पताको समस्या हुने गर्छ । धेरैपटक गर्भपतन गराउँदा पाठेघर कमजोर हुने भएकाले पछि आमा बन्न समस्या हुन्छ ।’ अधिकांश किशोरी तल्लो पेट दुख्ने, नियमित समयमा महिनावारी नहुने र सेतो पानी बग्ने समस्याले गर्दा विद्यालय, कलेज आउन सक्दैनन् । असुरक्षित गर्भपतनलाई नरोक्ने हो भने अहिले १५ प्रतिशत रहेको बाँझोपन दर बढ्ने डा रिजालको भनाइ छ । असुरक्षित गर्भपतनले पाठेघर खस्ने, क्यान्सर हुने र मृत्युसमेत हुने जोखिम रहन्छ । 

दैलेख, बाँसीकी २० वर्षीया शोभा शाहीले असोज तेस्रो साता यस्तै नियति व्यहोर्नु प¥यो । अत्यधिक रक्तस्राव भएर आएकी उनको अस्पताल पुगेको करिब चार घन्टामै मृत्यु भएको थियो । परिवारले उनको पेटमा १६ साताको बच्चा रहेको भने पनि जाँच्दा २८ साताको थियो । ती महिलाले गर्भपतन गराउने औषधि खाएपछि पाठेघर फुटेर मृत्यु भएको समाचारमा आएको थियो । 

नेपालमा हुने मातृ मृत्युदरको तेस्रो कारण असुरक्षित गर्भपतन हो । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतनमध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको छ । बयालिस प्रतिशतले मात्रै नेपाल सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा गर्भपतन गर्ने गरेको अनुसन्धानले देखाएको छ । नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । 

अध्ययनअनुसार नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गरेकामा एक लाख ३७ हजारले मात्रै सुरक्षित गर्भपतन गरेको पाइएको छ । बाँकी एक लाख ८६ हजार ९४ महिलाले भने मान्यता नदिएको स्वास्थ्य संस्थाबाट गर्भपतन गरेको पाइएको छ । आइपास कार्यक्रमका सल्लाहकार माधवी ब्रजाचार्यका अनुसार नेपालमा हालसम्म नौ लाख महिलाले गर्भपतन सेवा लिएका छन् । औषधि र जनशक्तिको अभावले गर्दा हालसम्म ५० जिल्लामा मात्र गर्भपतनको सेवा पुग्न सकेको छ । बा¥ह हप्ताभन्दा बढीको गर्भपतन गराउने सुविधा २७ वटा अस्पतालमा मात्र छ । 

विवाहपूर्व नै पटक पटक गर्भपतन गराइसकेपछि विवाहपछि चाहेर पनि गर्भाधान गर्न गाह्रो हुने चिकित्सकहरु बताउँछन् । अहिले विवाहितले भन्दा बढी अविवाहितले गर्भपतन गराइरहेको बताउछन् प्रसूति गृहका निर्देशक प्रा डा अमीरबाबु श्रेष्ठ । गर्भपतनलाई मानवीय संवेदनशीलताको दृष्टिले भन्दा कतिपय स्वास्थ्य संस्थाले व्यापारका रुपमा लिन थालेको उनी बताउछन् । प्रसूति गृहमा आव २०७२/७३ मा २० वर्षमुनिका ७१ जनाले गर्भपतन गराएका थिए भने चालु आवको अहिलेसम्म पनि त्यति नै सङ्ख्यामा गर्भपतन गराएका छन् । 

गर्भपतनलाई कानुनी मान्यता दिएसँगै गर्भपतन गराउने र बच्चा जन्माउनेको सङ्ख्या समान जस्तै देखिनुले गर्भपतनको सुविधाको दुरुपयोग हुन थालेको सङ्केत गर्छ । अनिच्छित गर्भका कारण शारीरिक, पारिवारिक र सामाजिक असर पर्ने अवस्थामा अन्तिम विकल्पका रुपमा सरकारले दिएको गर्भपतनको सुविधालाई धेरैले परिवार नियोजनको साधन बनाएका छन् । यसले आगामी दिन प्रजनन स्वास्थ्यमा थप चुनौती र जटिलता ल्याउने निश्चित छ । रासस 
 

Last modified on 2017-06-14 15:55:39

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts