‘ब्रेन डेथ’ भएकाको अंग कसरी प्रत्यारोपण गरिन्छ ? कस्ता बिरामीलाई प्राथमिकता ?
काठमाडौं, ५ जेठ । नेपालमा २३ वर्षअघि पहिलो पटक मृत शरीरबाट आँखाको नानी निकालेर जीवित व्यक्तिमा प्रत्यारोपण गरेसँगैै सुरु भएको थियो मानव अंग प्रत्यारोपण सेवा । लामो समयको अन्तराल पछि यो सेवा विस्तार हुँदै मस्तिष्क मृत्यु अर्थात ब्रेन डेथ भएपछिको मानिसको शरीरबाट अंग प्रत्यारोपण गर्ने अवस्थासम्म आइपुगेको छ ।
भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले बिहीवार जिप दुर्घटनामा मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गर्न सफल भएको छ । केन्द्रले मस्तिष्क मृत्यु भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलको मिर्गौला झिकेर दुई व्यक्तिमा सफल प्रत्यारोपण गर्न सफल भएको हो । .
मस्तिष्क मृत्यु भएपछि अंगदानको बाटो खोल्दै पाँच महिनाअघि मात्र सरकारले नियमावली पास गरेको थियो । त्यसपछि मस्तिष्क मृत्यु भएका गोविन्द भुजेलको अंग पहिलो पटक अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको हो ।
केन्द्रका अनुसार मिर्गौला प्रत्यारोपणको पालो कुरिरहेका बिरामीमध्ये सुनसरीका ५१ वर्षिय गोविन्द तिमल्सिना र काठमाडौं लाजिम्पाटका १५ वर्षीय मिलन श्रेष्ठमा भुजेलको मिर्गौला प्रत्यारोपण गरिएको हो ।
मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले लामो समयको प्रयासपछि ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपणलाई महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । उनले भने ‘अहिले पनि केन्द्रमा करीब तीनसय जनाको संख्यामा मिर्गौला प्रत्यारोपणका लागि प्रतिक्षामा रहेका छन् ।’
के आधारमा प्राथमिकता, महिलालाई प्राथमिकता
मस्तिष्क मृत्युपछि अंग प्रत्यारोपण गर्नका लागि कसले प्राथमिकता पाउने भन्ने विषय ऐन तथा नियमावलीमा स्पष्टरुपमा लेखिएको हुँदा नियमावली अनुसार प्रत्यारोपण गरिने निर्देशक डा. श्रेष्ठले बताए । उनले भने ‘लामो समय प्रतिक्षामा रहेको, सबै भन्दा राम्रो म्याच भएको, मस्तिष्क मृत्यु भएको व्यक्ति र प्रत्यारोपण गर्नेको उमेर लगायतले नम्बर पाउने हुन्छन्, जसमा महिलाले धेरै नम्बर पाउछन्, जसले धेरै नम्बर ल्याएको हुन्छ उसैले पाउँछ ।’
के हो मस्तिष्क मृत्यु ?
मस्तिष्क मृत्यु भन्नाले मस्तिष्कको ग्रहण गर्ने र प्रतिक्रिया दिने क्रियाकलाप रोकिएको अवस्थालाई जनाउँछ । मस्तिष्कले काम गर्न छोडे पनि केही समय मिर्गौला, मुटु, फोक्सो, कलेजोलगायत अंग चल्न सक्छन् । यस्तो अवस्थामा अंगहरु एकबाट अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । बिरामीको शरीरमा प्राकृतिक श्वास–प्रश्वास भने नरहेको हुनुपर्छ ।
कुन कुन अंग प्रत्यारोपण गर्न सकिन्छ ?
डा. श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मृगौला, फोक्सो, मुटु, कलेजो, प्यान्क्रियाज, सानो आन्द्रा, आँखाका नानी तथा छालालगायत अंग प्रतयारोपण गर्न सकिन्छ । पहिलो पटक मस्तिष्क मृत्युबाट मिर्गौला मात्र प्रत्यारोपण भएको छ । मिर्गौलाको साथसाथै कलेजो पनि प्रत्यारोपण गर्ने तयारीमा केन्द्र रहेको थियो । तर, कलेजो ग्रहण गर्ने व्यक्तिले ग्रहण गर्न नमान्दा मिर्गौला मात्र प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा. श्रेष्ठले हाम्रो डक्टरसँगको कुराकानीमा बताए ।
कति समयमा गर्नु पर्छ प्रत्यारोपण
मस्तिष्क मृत्यु पछि जति सक्यो छिटो अर्थात केही घण्टा मै प्रत्यारोपण गर्नु पर्छ । जति छिटो प्रत्योरोपण गर्न सकियो त्यती नै सफल हुने निर्देशक डा. श्रेष्ठ बताउँछन् । उनी भन्छन् ‘मिर्गौला, कलेजो १० देखि १२ घण्टा, मुटु फोक्सो ४ देखि ६ घण्टा भित्र प्रत्यारोपण गर्नुपर्छ ।’
मस्तिष्क मृत्यु भएको जानकारी मानव अंग प्रत्यारोपण केन्द्रमा सम्बन्धित अस्पतालले अनिवार्य रुपमा जानकारी दिनुपर्ने ऐनमा व्यवस्था रहेको छ । सोही जानकारी अनुसार केन्द्रले आवश्यक अंग बरफ (आइस)मा लिएर जाने निर्देशक डा. श्रेष्ठले बताए । उनले भने ‘यो मस्तिष्क मृत्यु हो, पोष्टमार्टम पछि गर्दा हुन्छ भनेर पोष्टमार्टम विशेषज्ञले अनुमति दिनुपर्ने हुन्छ ।’
कस्तो अवस्था प्रत्यारोपण गर्न मिल्दैन
मस्तिष्क मृत्यु भएको व्यक्तिमा क्यान्सर, इन्फेक्सन, भाइरल, सरुवा रोग जस्ता समस्या देखिएमा प्रत्यारोपण गर्न नमिल्ने निर्देशक डा. श्रेष्ठ बताउछन् । साथै उमेर बढी भएर काम नै नगर्ने अंगहरु पनि प्रत्यारोपण गर्न मिल्दैन ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>