दक्षिण एशियाका १७ राष्ट्रका दन्त चिकित्सक नेपालमा 



Download our app to get more features

काठमाडौं, २ जेठ । साउथ एशिया इन्टरनेशनल अर्थोडेन्टिक र सातौं ओदान अर्थोडेन्टिकको दोस्रो सम्मेलन नेपालमा मंगलवारबाट सुरु भएको छ । 

अर्थोडेन्टिक एशोसियसन अफ नेपाल (ओडान)ले आयोजना गरेको उक्त सम्मेलनमा नेपाल बाहेक १७ राष्ट्रका एकसय ५० जना अर्थोडेन्टिसहरुको सहभागिता रहेको आयोजक कमिटीका सदस्य डा. मनिष बज्रचार्यले बताए ।  

दुइदिनसम्म चल्ने उक्त सम्मेलनमा पछिल्लो समयमा विश्वमा विकास भएको नयाँ नयाँ प्रविधिलाई नेपालमा कसरी भित्राउन सकिन्छ भन्ने बारेमा बृहत छलफल हुने भएकाले नेपालको लागि यो सम्मेलन निकै महत्वपुर्ण रहने आयोजक कमिटीका अध्यक्ष डा. प्रकाश भट्टराइले बताए ।  

‘अर्थोडेन्टिसको मुख्य काम बाङ्गटिङ्गो दाँतमा तार बान्ने हो, अमेरिका लगायलका देशहरुमा यस्ता प्रविधिको विकास बिकास भइसकेको छ’, डा. भट्टराइले भने ‘पुरानो प्रविधिद्धारा तार बान्ने क्रममा कहिलेकाहिँ तार चुडिएर घाउ बन्ने, हरेक महिना तार कस्न जानुपर्ने जस्ता समस्या हुने हुँदा नयाँ प्रविधि नेपालमा कसरी भित्राउन सकिन्छ भन्ने बारेमा पनि छलफल हुने भएकाले सम्मेलन निकै उपलब्धीमुलक रहने बिश्वास लिएका छौ ।’ 

पहिलो अर्थोडेन्टिस सार्क स्तरिय सम्मेलन सन् २००९ मा भारतको दिल्लीमा सम्पन्न भएको थियो । दोस्रो सम्मेलन दुई वर्ष अघि मे एकमा नेपालमा आयोजना गर्ने भनिएपनि भुकम्पका कारण पछाडी सारिएको एसोसिएसनका अध्यक्ष डा. प्रकाश भट्टराईले जानकारी दिए ।

नेपालमा अर्थोडेन्टिक एशोसियसन अफ नेपालको सन् २००७ मा स्थापना भएको थियो । अर्थोडेन्टिस बन्नको लागि विडीएस पछि ३ वर्षको अध्ययन गर्नु पर्ने हुन्छ । नेपालमा करीब ९० जना अर्थोडेन्टिस रहेका छन् भने ओडानमा ६० जना मात्र दर्ता जना रहेका छन् । 

झण्डै ८० प्रतिशत मानिसको दातमा तार बाध्नुपर्ने समस्या
एशोसिएसनका अध्यक्ष डा. भट्टराईका अनुसार नेपालमा झण्डै ८० प्रतिशत मानिसहरुको दाँतमा तार बाध्नुपर्ने समस्या रहेको पाइएको छ । यस्तो समस्या सबैभन्दा बढि बालबालिकामा देखिएको उनको भनाई छ । 

‘यो समस्या धरैलाई भएपनि त्यसलाई मानिसले कसरी लिन्छन् भन्ने हुन्छ, अमेरिका जस्तो देशमा दाँतमा सामान्य छिद्रा देखिए पनि उनिहरुलाई त्यो स्विकार्य हुदैन तत्काल उपचारमा आइहाल्छन्’ डा. भट्टराइले भने ‘नेपालमा भने धेरै अफ्ठ्यारो नहुन्जेल सहज रुपमा लिइन्छ त्यसैले सामान्य समस्याजस्तो देखिएको हो ।’ 

दाँत बाङ्गो टिङ्गो हुने समस्या कस्मेटिक्स समस्या मात्र नभएर स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो नभएको डा. भट्टराईले बताए । उनले खप्टिएको दाँत आएमा तल्लो दातले माथिल्लो दातलाई ठोक्काउने हुँदा पछि चाडै हल्लने, जोर्नीको दुखाई बढ्ने, मुख खोल्दा पनि दुख्ने, राम्रोसँग सफा गर्न नसकिने र गिजा फोहोर हुने, दाँतलाई चाँडो किराले खाने जस्ता समस्या देखिने भएकाले यसलाई सामान्य सोच्न नहुने उनको भनाई छ ।  

चिकित्सकहरुका अनुसार यदि परिवारमा कसैको दाँत बाङ्गोटिङ्गो छ भने वशांणुगत रुपमा छोरा छोरीमा पनि त्यस्तै दाँत पलाउने सम्भावना बढि रहन्छ । त्यस बाहेक दाँत पलाउने ठाउँ साघुरो भएको खण्डमा दाँत बांगिएर आउने सम्भावना बढि रहन्छ । 

Last modified on 2017-06-14 16:26:03

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts